टर्किस एयरलाइन्सको वाइडबडी विमान चार दिनपछि रित्तै इस्तानबुल फर्कियो

सोमबार बिहान अवतरण भइसकेपछि उक्त विमानको दायाँतर्फको मुख्य ल्यान्डिङ गियरको हाइड्रोलिकमा आगो (टायर अन फायर) लागेको थियो।

वैशाख ३१, २०८३

सुरज कुँवर

Turkish Airlines widebody plane returns to Istanbul empty after four days

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४ दिनदेखि रोकिएको टर्किस एयरलाइन्सको एयरबस ए३३० वाइडबडी विमान मर्मत सम्पन्न भएपछि खाली अवस्थामा इस्तानबुल फर्किएको छ।

सोमबार बिहान अवतरण भइसकेपछि उक्त विमानको दायाँतर्फको मुख्य ल्यान्डिङ गियरको हाइड्रोलिकमा आगो (टायर अन फायर) लागेको थियो। त्यसपछि काठमाडौं विमानस्थल बिहान ६:३४ बजे बन्द गरिएको थियो र ८:१२ बजे पुनः सञ्चालनमा आएको थियो।

त्यस दिन उक्त विमानमा रहेका २७३ यात्रु, ११ चालक दलका सदस्य र ४ शिशु गरी कुल २८८ जनालाई आपतकालीन स्लाइडमार्फत टेक्सीवे ब्राभो नजिक सुरक्षित रूपमा बाहिर निकालिएको थियो।

त्यस्तै नेपालबाट प्रस्थान गर्नु पर्ने २७८ यात्रुहरूलाई करिब १२ घण्टापछि सोमबार बेलुकी अर्को विमानमार्फत इस्तानबुल पठाइएको थियो । त्यो विमान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चार दिनसम्म ग्राउन्डेड (रोकिएको) भएको थियो । 

इस्तानबुलबाट झिकाइएका ६ जना प्राविधिक टोलीले काठमाडौं विमानस्थलको उत्तरतर्फको विस्तारित पार्किङ क्षेत्रमा खुला आकाशमुनि करिब तीन दिनसम्म विमान मर्मत गरेका थिए। उनीहरूले आवश्यक स्पेयर पार्ट्ससमेत साथमै ल्याएका थिए।

विमानस्थलका एक अधिकारीका अनुसार विमानका सबै स्लाइडहरू परिवर्तन गरिएको छ । साथै मेन ल्यान्डिङ गियरको एसेम्बलीमा रहेका खराब पार्ट्स र पछाडिको एउटा टायर पनि फेरेर मर्मत पूरा गरिएको हो ।

प्राधिकरणका एक एरोनटिकल इन्जिनियरका अनुसार विदेशमा दर्ता भएका वायुयान यदी नेपालमा बिग्रिएमा सम्बन्धित देशको नागरिक उड्डयन कार्यालयले प्रारम्भिक उडान अनुमति जारी गर्नुपर्छ । सोही आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार ‘फेरी फ्लाइट’ (व्यावसायिक यात्रु बिना) उडान अनुमति दिएको हो ।

टर्किस एयरलाइन्सले नेपालमा हप्तामा पाँच वटा उडान सञ्चालन गर्दै आएको छ, जसले नेपाललाई युरोप, अमेरिका र क्यानाडासँग जोड्दै आएको छ । यो नेपालमा सञ्चालन हुने युरोप-आधारित लामो दूरीका प्रमुख एयरलाइन्समध्ये एक हो।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully