‘आर्थिक उन्नतिका लागि सेवा र आईटी क्षेत्रलाई जोड दिऔं’

कान्तिपुर इकोनमिक समिटको उद्घाटन सत्रमा उनले कृषिप्रधानको भाष्य यथार्थपरक नरहेको उल्लेख गर्दै सूचना प्रविधि र पर्यटनमा नेपालले बढी ध्यान दिनुपर्नेमा जोड दिए ।

वैशाख ३१, २०८३

सजना बराल

'Let's emphasize the service and IT sectors for economic growth'

What you should know

काठमाडौँ — लामो समयदेखि नेपालले आफूलाई कृषिप्रधान देश मान्दै आएको भए पनि अब देशको आर्थिक उन्नतिका लागि डिजिटल सेवा र सूचना प्रविधि क्षेत्रलाई जोड दिनुपर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले बताएका छन् ।

कान्तिपुर इकोनमिक समिटको उद्घाटन सत्रमा उनले कृषिप्रधानको भाष्य यथार्थपरक नरहेको उल्लेख गर्दै सूचना प्रविधि र पर्यटनमा नेपालले बढी ध्यान दिनुपर्नेमा जोड दिए । नेपालले गतवर्ष मात्रै करिब ८० करोडदेखि १ अर्ब डलर बराबरको सूचना प्रविधि सेवा निर्यात गरेको सिस्लेनको भनाइ छ ।

डिजिटल क्षेत्रको विकासका लागि सार्वजनिक र निजी क्षेत्र दुवैको सहकार्य आवश्यक रहेको उनको धारणा छ । सार्वजनिक सेवालाई डिजिटाइज गर्ने सरकारको लक्ष्य सकारात्मक रहेको र चालक अनुमतिपत्रजस्ता सेवा लिन लामो समय कुर्नुपर्ने बाध्यता अन्त्य हुनुपर्ने उनले उल्लेख गरे । 

नेपालले डिजिटल अर्थतन्त्रलाई सुरक्षित र व्यवस्थित बनाउन तत्काल नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ । ‘नेपालमा तत्कालै डेटा सुरक्षा ऐन र साइबर सुरक्षा नीति बनाउनुपर्ने खाँचो छ,’ उनले भने, ‘नेपालको मौसम अन्य डिजिटल हबहरूको भन्दा राम्रो छ । आगामी २५ वर्षसम्म पनि काठमाडौं अन्य यस्ता हबभन्दा बस्न लायक छ । यसले गर्दा डिजिटल आविष्कार र विदेशी लगानीका लागि काठमाडौं प्रमुख हब बन्न सक्छ ।’ नेपालले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सेवा क्षेत्रमै जोड दिनुपर्ने उनले जनाए । 

स्थानीय डिजिटल उद्यमीहरूको ऊर्जालाई सही दिशामा लैजान र भविष्यको जनशक्ति तयार पार्न अहिले आधारभूत शिक्षाको गुणस्तर सुधार्न जरुरी रहेको सिस्लेनले उल्लेख गरे । ‘साइबर सुरक्षा वा एआई जस्तो उच्चस्तरको प्रविधिको कुरा गर्नुअघि आधारभूत शिक्षाकै जग बलियो हुनुपर्छ,’ उनले भने, ‘अझै पनि गुणस्तरीय शिक्षामा ७० प्रतिशत जनसंख्याको समान पहुँच छैन । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको अवस्था नाजुक छ ।’ 

समग्र अर्थतन्त्रका विषयमा भने सिस्लेनले फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटीएफ) ले नेपाललाई अझै निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’मा राखेको हुँदा त्यसबाट बाहिर निस्कनुलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने बताए । ‘नेपालमा प्रत्यक्ष विदेशी लगानीको अवस्था विश्वमै सबैभन्दा कममध्येमा पर्छ,’ उनले भने, ‘लगानीकर्ताले मुनाफा फिर्ता लैजान पाउने र कर प्रणालीमा सुधार नगरेसम्म लगानी बढ्दैन ।’

दिनहुँ दुई हजार युवा रोजगारीका लागि विदेशिने तथ्यांकले नेपालका लागि रोजगारी सिर्जना सबैभन्दा ठूलो चुनौती रहेको सिस्लेनले औंल्याए । ‘म यहाँ आएको २१ महिना भयो, यतिन्जेल १२ लाख नेपालीले कामको खोजीमा देश छाडेका छन्,’ उनले भने, ‘नेपालमा मेरो ४ वा ५ वर्षको कार्यकाल सकिँदासम्म काठमाडौंको जनसंख्या बराबरका मानिसले देश छाडिसक्नेछन् । यो चिन्ताजनक विषय हो ।’ 

सिस्लेनका अनुसार पानीको स्रोत सधैं यस्तै नरहने भएकाले नेपालको जलविद्युत् क्षेत्रमा समय घर्कंदै छ । माथिल्लो अरुण, दूधकोशी र बुढीगण्डकीजस्ता तीन ठूला आयोजनाका लागि ८/९ अर्ब डलर लगानी चाहिने र त्यो सरकार एक्लैले जुटाउन नसक्ने भएकाले यसमा निजी क्षेत्रसँगको साझेदारी (पीपीपी) अनिवार्य रहेको उनले बताए । नेपालमा निजी क्षेत्र र मुनाफालाई खराब मान्ने सोच परिवर्तन गर्न आवश्यक रहेको पनि सिस्लेनले जनाए ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully