इजरायलले थप २३ सय कियरगिभर लैजाने

प्रतिक्षारत ११५४ जनालाई पुन: लक्की ड्रमा सहभागी गराइनेछ : इजरायल

वैशाख ३१, २०८३

होम कार्की

Israel to send 2,300 more caregivers

What you should know

काठमाडौँ — इजरायलले दीर्घकालीन स्याहार केन्द्र (वेताबोध)मा काम गर्नेगरी नेपालबाट थप २३ सय सहायक श्रमिक (कियरगिभर)लैजाने भएको छ । वैदेशिक रोजगार विभागले इजरायलद्धारा नेपालको लागि दिएको कोटाअनुसार नयाँ श्रमिक भर्ना गर्ने सूचना सार्वजनिक गर्ने तयारी गरेको जनाएको हो ।

इजरायलको जेरुसेलमस्थित जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा)ले गत फेब्रुअरीमा नयाँ कोटा पठाएको थियो । तर, नेपालमा प्रतिनिधिसभाको निर्वाचन र पश्चिम एसियामा उत्पन्न तनावका कारण नयाँ श्रमिक छनोट प्रक्रिया ‘होल्ड’मा राखेको थियो । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार पिवाले मागपत्र पठाएको ४० दिनभित्र नयाँ श्रमिक छनोटको लागि सार्वजनिक सूचना जारी गरिसक्नु पर्नेछ ।   

वैदेशिक रोजगार विभागका महानिर्देशक मीरा आचार्यले श्रम सम्झौताअनुसार नयाँ सूचना जारी गर्न लागिएको बताइन् । ‘पिवाबाट नयाँ मागपत्र प्राप्त भइसकेको छ । नयाँ श्रमिक छनोटको लागि सूचना जारी गर्न श्रम मन्त्रालयबाट निर्देशन प्राप्त भइसकेको छ,’ उनले भनिन् ।  

इजरायलले दोस्रो चरणको रुपमा २९ अगष्टमा योग्यता पुगेका ३२ सय ६२ जनाबाट लक्की ड्र गरी २११२ जनालाई छनोट गरेको थियो । त्यसमध्ये १९ सयजना इजरायल पुगिसकेका छन् । लक्की ड्रमा नपरेर एक वर्षदेखि प्रतिक्षारत ११ सय ५४ जनाले पुनः लक्की ड्रमा सहभागी हुन पाउने पिवाको भनाइ छ ।  तर, उनीहरू तोकिएको अंग्रेजी भाषा परीक्षामा उत्तीर्ण हुनु पर्नेछ ।

लक्की ड्रमा नपरेर प्रतिक्षामा बसेका उम्मेदवारहरूले आफूहरूलाई मौका दिनुपर्ने बताएका छन् । ‘हाम्रो योग्यता पुगेको थियो । लक्की ड्रमा परेका छनोट भएपछि हामीलाई नै पठाउनुपर्छ,’ एक उम्मेदवारले भने ।

नेपालका लागि इजरायली राजदूत श्यामुलिक अरे वासले सम्झौताअनुसार केयरगिभरका लागि योग्य ठहरिएकालाई अवसर दिइने बताए । ‘सम्झौताअनुसार केयरगिभरका लागि योग्य ठहरिएका सबै ११ सय ५४ जनालाई अन्य उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने अर्को अवसर दिइनेछ,’ उनले इकान्तिपुरसँग भने, ‘इजरायलले नेपाली श्रमिकलाई अत्यन्त समर्पित, भरपर्दा र इमानदार कामदारका रूपमा हेर्ने गरेको छ । नेपाली श्रमिकसँग सम्बन्धित समस्या अत्यन्तै न्यून छन् ।’

नेपाल र इजरायलबीच भएको सम्झौताअनुसार सरकारी संयन्त्र (जीटुजी)मार्फत नै फेरि थप नेपाली केयरगिभर पठाउने प्रक्रिया अगाडि बढेको हो । इजरायलले सन् २०२२ को अगस्टदेखि दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा केयरगिभर लैजान थालेको हो । पहिलो चरणमा छानिएका कियरगिभर गसकेपछि २०८१ असार ११ (२५ जुन २०२४) बाट दोस्रो चरणको भर्ना प्रक्रिया अगाडि बढाएको हो ।

इजरायलमा जाने कियरगिभरको मासिक तलब ५८ सय ८४ इजरायली मुद्रा (करिब तीन लाख रुपैयाँ नेपाली) छ । यसमा खाना र आवासको खर्च भने आफैंले बेहोर्नुपर्ने हुन्छ । इजरायल जाने श्रमिक २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, कम्तीमा ४५ किलोग्राम तौल हुनुपर्ने, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी (एएनएम) वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिना अध्ययन पूरा गरेको वा कक्षा १२ वा सोसरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी ३ महिनाको तालिम लिएको हुनुपर्ने प्रावधान छ ।

इजरायल जान छानिएका नेपाली कामदारले त्यहाँको दीर्घकालीन स्याहार केन्द्रमा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि काम गर्नुपर्ने विभागले जनाएको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully