वैशाख महिनामा मात्रै पानीसँगै परेको असिनाले यहाँका किसानले लगाएको गहुँ, जौ, तोरी बालीका साथै सुन्तला, किवी, आलु, अदुवा, टिमुर र स्याउका बोटमा ब्यापक क्षति पुर्याएपछि किसान चिन्तित बनेका हुन् ।
What you should know
सल्यान — यहाँको बाग्चौर नगरपालिका–७ का किसान दिपेश डाँगीले १५ रोपनी जग्गामा सुन्तला, किवी, ओखर, टिम्मुर लगाएका छन् । उनले केही वर्षदेखि सुन्तला, ओखर र किवीबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्दै आएका थिए । सुन्तला, किवी, ओखर बिक्री गरेर उनले ६ जनाको आफ्नो परिवार सजिलै पाल्दै मात्र आएका थिए । त्यहीँको आम्दानीबाट छोराछोरीलाई राम्रो विद्यालयमा पढाउँदै आएका थिए । त्यही आम्दानीले जग्गा–जमिन पनि जोडेका थिए ।
वैशाख महिनामा केही दिन बिराउँदै तीन पटक वर्षासँगै परेको असिनाले आफ्नो सुन्तला बगैंचामा भर्खर लागेका अधिकांश दाना झार्नुका साथै बचेका दाना पनि दागी भएपछि उनलाई यस वर्ष कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताउन थालेको छ ।
यस्तै बाग्चौर नगरपालिका–७ का किसान छविलाल भण्डारीले १५ रोपनी जग्गामा वर्षे आलु लगाउँदै आएका थिए । १५ रोपनी जग्गामा १५ मेट्रिक टनभन्दा बढी उत्पादन गरेर वार्षिक ५ लाख बढी कमाउँदै आएका थिए । यसपालि परेको असिनाले उनको आलु खेती ६० प्रतिशतभन्दा बढी कामै नलाग्ने भएको छ । फल लाग्ने समयमा असिनाले आलुमा क्षति पुर्यापछि उनलाई पनि डाँगीलाई जस्तै परिवार पाल्न गाह्रो हुन्छ कि भन्ने चिन्ताले सताउन थालेको छ ।
यी त प्रतिनिधि पात्र हुन् । यहाँ परेको पानीसँगैको असिनाले बाग्चौर नगरपालिका–७, ८, ९, १०, छत्रेश्वरी गाउँपालिका–१ र २, कपुरकोट गाउँपालिका–५, त्रिवेणी गाउँपालिका–३, दार्मा गाउँपालिका–५ का किसानले लगाएको गहुँ, जौ, तोरी बालीका साथै सुन्तला, किवी, आलु, अदुवा, टिम्मुर, बीउका लागि लगाएको रायो साग र स्याउका बोटमा ब्यापक क्षति पुर्याएपछि किसान चिन्तित भएका छन् । असिनाले आफ्नो कृषि बाली सखाप पारेपछि किसान चिन्तित भएका हुन् ।
असिनाले यहाँको हिउँदे बालीका साथै फलफूल, तरकारी, जडीबुटीजन्य वस्तुमा क्षति पुर्याउँदा झन्डै दुई हजार किसान प्रभावित भएका छन् । कृषि बिमा नभएकाले राहत पाउने सम्भावना कम देखिएपछि प्रभावित किसान समस्यामा परेको बताउँछन् । किसानले खेतबारीमा लगाएको तरकारी, फलफूल र मसलाबाली अदुवा, टिम्मुर, बेसारमा क्षति भएपछि किसानलाई राहत उपलब्ध गराउन सकिन्छ कि भनेर अहिले स्थानीय तह क्षतिको विवरण संकलनमा जुटेका छन् तर पूर्ण रूपमा विवरण संकलन गर्न भने सकेका छैनन् ।
बाग्चौर नगरपालिका–९ का किसान मेघलाल डाँगी भन्छन्, ‘मैले १८ रोपनीमा सुन्तला लगाएको थिएँ । सुन्तलाबाट गत वर्ष २२ लाख रुपैयाँसम्म कमाइ गरेँ । सुन्तला बिक्री गरेको रकमबाटै परिवार पाल्ने मात्र नभई जग्गा–जमिन पनि जोडेको थिएँ ।’ यसपालि असिनाले सबै सखाप पारेपछि गोडमेल गर्दा लागेको २/३ लाख खर्च पनि उठाउन हम्मेहम्मे पर्ने उनले सुनाए । असिनाले फल झार्ने मात्र नभइ बोट पनि बिगारेकाले आउदा दिनमा उत्पादनमा थप असर पर्ने उनले बताए ।
छत्रेश्वरी गाउँपालिका–२ गुराँसेका किसान चित्रबहादुर केसीले आफ्नो बगैंचामा भएको स्याउ, किवी र बीउ उत्पादनका लागि लगाएको रायोको साग असिनाले सखाप पारेको बताए । बोटमा बचेका फल पनि सबै दागी भएका र तिनी पछिसम्म टिक्ने सम्भावना कम देखिएको उनले जानकारी गराए । ‘किवी, स्याउ बिक्री गरेर ७/८ लाख आम्दानी हुन्थ्यो । दैनिक घर–व्यवहार चलाउन त्यसले सहज भएको थियो,’ उनले भने, ‘खर्च गरेर पनि केही रकम बचत गर्न पाइन्थ्यो । विभिन्न आवश्यकता पूर्ति भएको थियो । यसपालि एक लाख आम्दानी हुने छाँटकाट देखिँदैन ।’
गुराँसेका धेरै किसानले आम्दानीको स्रोत बढाउन व्यावसायिक रूपमा किवी, स्याउ र सुन्तला बोट लगाएका थिए । यहाँका किसानले किवीबाट मात्र वर्षमा ७०/८० लाख भित्र्याउँथे । यसबाटै सबैको घर–व्यवहार चलेको थियो । यस वर्ष दैनिक खर्चकै लागि विकल्प खोज्नुपर्ने अवस्था आएको उनले बताए ।
त्रिवेणी गाउँपालिका–३ पिमखोलाका किसान पोखरराज डाँगीले असिनाले आफ्नो मात्र नभई सिंगो गाउँका एक सयभन्दा बढी किसानले लगाएको सुन्तलाका बोटमा क्षति पुगेको बताए । ‘भर्खर दाना लागेका सुन्तलामा असिनाले ४० प्रतिशत बढी क्षति पुर्याएको छ । सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि सबै किसानले कृषि विकास कार्यालय र पालिकाको सहयोगमा त्यसैको खेती गरेका थिए । आय आर्जनको मुख्य माध्यम बनेको सुन्तलाबाट वर्षमा २/३ लाखसम्म कमाइ गर्दै आएका थिए । यसपालि सबै सकियो,’ उनले भने ।
बाग्चौर नगरपालिका–७ का वडाध्यक्ष प्रेमबहादुर डीसीले पटक–पटक परेको असिनाले आफ्नो वडाभित्र मात्र ४ करोड बढीको ३ सय बढी किसानले ६० हेक्टरमा लगाएको आलु, अदुवा र ५० हेक्टर बढीमा लगाएको सुन्तलाका बोटमा क्षति पुगेको बताए । विपदबाट भएको क्षतिको राहतका लागि पालिकामार्फत सम्बन्धित निकायमा माग गरिएको उनले जानकारी गराए । किसानले आलु, सुन्तला, अदुवा लगाएर दैनिक गुजारा मात्रै गर्दै आएका थिएनन्, राम्रो आम्दानी हुँदा जीवनस्तरमा फेरबदल नै आएको थियो । अधिकांशले घरमै रोजगारी पाएका थिए । सधैं हाँसीखुसी देखिन्थे । असिनाले बाली तथा फलफूलमा क्षति पुगेपछि सबैको अनुहार अँध्यारो भएको छ ।
बाग्चौर नगरपालिका–९ का वडाध्यक्ष यज्ञबहादुर डाँगीले असिनाले ३ करोड बढीको सुन्तलामा क्षति पुर्याएको बताए । भर्खर लागेका सुन्तलाका फल झार्नुका साथै बोटमा समेत असर पर्दा वडाका २ सय बढी किसान प्रभावित भएको उनले जानकारी गराए । ‘बाग्चौर नगरपालिका–९ सुन्तला पकेट हो । यहाँका किसानले वर्षमा २० करोड बढीको सुन्तला बिक्री गर्थे । सुन्तला बिक्री गरेर सबै किसानको जीवनस्तर उकासिएको थियो । असिनाले सुन्तला सखाप बनाएपछि किसानमा निराशा छाएको छ,’ उनले भने । अहिले वडामार्फत क्षतिको विवरण संकलन भइरहेको उनको भनाइ छ ।
छत्रेश्वरी गाउँपालिका–१ का वडाध्यक्ष प्रकाश हमालले वडा नं १ र २ मा परेको असिनाले किवी, टिम्मुर र सुन्तलामा ७० प्रतिशतभन्दा बढीको क्षति भएको र यसबाट ३ सय बढी किसान प्रभावित बनेको बताए । ‘वडा नं १ र २ का किसानको मुख्य नगदे बालीका रूपमा सुन्तला, किवी, स्याउ, टिमुर र रायोको साग थियो । क्षति पुगेपछि किसानको जीविकोपार्जनमा धेरै असर पर्ने देखिएको छ,’ उनले भने । असिनाले सुन्तला, किवी, स्याउमा मात्रै २ करोड बढीको क्षति पुर्याएको उनको भनाइ छ ।
कपुरकोट गाउँपालिका–५ का वडाध्यक्ष होमराज खड्काले असिनाले वडाका सबै किसानले लगाएको बेमौसमी तरकारीमा क्षति पुग्दा ३ सय ५० किसान प्रभावित भएको बताए । असिनाले यसपालि मात्र नभई प्रत्येक वर्ष क्षति पुर्याउँदै आएको उनले जानकारी गराए ।
यता कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले असिनाले वैशाख महिनामा चार पालिकाका विभिन्न स्थानमा क्षति पुर्याए पनि अहिलेसम्म पूरा विवरण नआएको बताए । असिनाले तरकारी, खाद्यबाली, फलफूल र मसला बालीमा गरी ५/५ करोडको क्षति भएको हुन सक्ने अनुमान गरिएको उनले जानकारी दिए । ‘किसानले कृषि बिमा गरेको भए धेरै राहत पाउँथे । बिमा नगर्नेप्रति कसैले चासो नदेखाउँदा समस्या देखिएको छ,’ उनले भने । विपदबाट किसानले प्रत्येक वर्ष विभिन्न किसिमका दुःख पाइरहेकाले यसपालिदेखि कृषि बिमा गराउने प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ ।
