सूचना प्रविधिबाटै हामी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छौं : हेमराज ढकाल

नेपालका युवा जनशक्तिले आईटी क्षेत्रमा उल्लेख्य प्रगति गरे पनि नीतिगत अस्थिरता र आधारभूत पूर्वाधारको अभाव रहेको उनको भनाइ छ ।

वैशाख ३०, २०८३

कान्तिपुर संवाददाता

We can compete in the global market through information technology: Hemraj Dhakal

काठमाडौँ — नेपालले सूचना प्रविधि वा ज्ञानमा आधारित अर्थतन्त्रबाट विश्व बजारमा पुग्न र प्रतिस्पर्धा गर्न सक्ने आईएमई ग्रुपका संस्थापक एवं प्रबन्ध निर्देशक हेमराज ढकालले बताए । 

कान्तिपुर इकोनमिक सम्मिटको पहिलो सत्र ‘निजी क्षेत्रलाई गति दिन स्थायी नीति’ मा बोल्दै  ढकालले हाल सरकारको ध्यान आईटी क्षेत्रमा केन्द्रित हुनु सकारात्मक रहेको बताए । ‘हाम्रो युवा जनशक्ति र अंग्रेजी बोल्न सक्ने जनसंख्यालाई हेर्दा यो क्षेत्रका लागि अहिले निकै उपयुक्त समय हो,’ उनले भने, ‘विगत दुई-तीन वर्षको तथ्यांक हेर्दा नेपालबाट वार्षिक करिब २० अर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात भइरहेको देखिन्छ ।’ 

द्रत गति विस्तार भइरहेको यो क्षेत्रलाई यसअघि पनि सरकारले सराहना गरे पनि नेपालमा सरकार परिवर्तन हुनासाथ नीतिहरू परिवर्तन हुँदा समस्या भइरहेको ढकालको गुनासो थियो । ‘आईटी निर्यातमा लाग्ने कर कहिले १ प्रतिशत, कहिले १० प्रतिशत, कहिले ५ प्रतिशत बनाइयो,’ उनले भने, ‘वर्तमान सरकारले नीतिगत स्थिरता कायम गर्न सक्यो भने यसले आईटी क्षेत्रका लगानीकर्तामा आत्मविश्वास बढाउनेछ ।’

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा आईटी क्षेत्रको योगदान २ प्रतिशतभन्दा बढी पुर्‍याउन सकिने सम्भावना रहेको ढकालको भनाइ छ । यसका लागि कनेक्टिभीजस्ता आधारभूत पूर्वाधार भने तयार हुनुपर्ने उनले औंल्याए । 

कान्तिपुर

Link copied successfully