लगानी भित्र्याउन स्थिर नीति चाहिन्छ : केसी 

'नीतिमा स्थिरता छैन । स्थिर नीति चाहिन्छ,' उनले भने, 'अनि मात्र लगानी आउँछ जस्तो लाग्छ ।'

वैशाख ३०, २०८३

कान्तिपुर संवाददाता

Stable policy needed to attract investment: KC

काठमाडौँ — सूर्य नेपाल प्रालिका कार्पेरेट अफेयर्स उपाध्यक्ष रवि सिंहले कसैले राम्रो गरिरहेको अवस्थामा त्यसलाई अवरोध गर्ने खालको नीति व्यवसाय गर्न समस्या हुने गरेको बताएका छन् । 

'यदि कसैले प्रगति गरिरहेको छ भने सन्तुष्ट भन्दा पनि त्यसमा प्रतिसोधको भावना बढी देखिन्छ,' कान्तिपुर इकोनमिक समिट-२०२६ मा 'निजी क्षेत्रलाई गति दिन स्थायी नीति' शीर्षकको पहिलो सत्रमा बोल्दै उनले भने, 'त्यसैले त्यसलाई कसरी तल झार्ने के गर्ने भन्ने क्रम सुरू हुन्छ ।'

उनले व्यवसायलाई बलियो बनाउन सरकारले स्थिर नीति बनाउनुपर्नेतर्फ सचेत गराए । 'अहिले दुई तिहाइको नयाँ सरकार छ । नयाँ अध्यादेशहरू आएको छ, हामीले उठाएका धेरै कुरा सम्बोधन हुन्छन् भन्ने आश छ,' उनले भने ।

जग्गासम्बन्धी नीतिले गर्दा पनि लगानी नआएको उनले बताए । 'एउटा ठूलो उद्योगले दुई, तीन सय करोड लगानी गर्न तयार हुँदा पनि उसलाई पनि ११ बिघाको सिलिङ छ,एक दुई बिघा जग्गामा लगानी गर्न त उनीहरू आउँदैनन् ।' लगानीका लागि नीति नै ठीक नभएको उनले गुनासो गरे । 'नीतिमा स्थिरता छैन । स्थिर नीति चाहिन्छ,' उनले भने, 'अनि मात्र लगानी आउँछ जस्तो लाग्छ ।'

कान्तिपुर

Link copied successfully