अब सरकारले पनि डिजिटल पूर्वाधार निर्माणमा लगानी गर्नुपर्छ : ढकाल

कान्तिपुर इकोनमिक सम्मिटमा ढकालले आधारभूत डिजिटल संचरना निर्माणमा सरकारले पनि लगानी र पहल गर्नुपर्ने उल्लेख गरे ।

वैशाख ३०, २०८३

कान्तिपुर संवाददाता

Now the government should also invest in digital infrastructure: Dhakal

काठमाडौँ — डिजिटल पूर्वाधार निर्माण र विस्तारमा सरकारले पनि लगानी र पहल गर्न आवश्यक रहेको आईएमई ग्रुपका संस्थापक एवं प्रबन्ध निर्देशक हेमराज ढकालले बताए । हालसम्म निजी क्षेत्रले यस्ता पूर्वाधार विस्तारको काम गरिरहेको उनको भनाइ छ ।

कान्तिपुर इकोनमिक समिटको पहिलो सत्र ‘निजी क्षेत्रलाई गति दिन स्थायी नीति’ मा बोल्दै ढकालले डिजिटल आधारभूत पूर्वधारमा अब सरकार आउनुपर्ने उल्लेख गरेका हुन् । ‘यसमा निजी क्षेत्रको भूमिका अग्रणी हुनुपर्ने भए पनि आधारभूत पूर्वाधार सरकारले नै तयार गरिदिनुपर्छ,’ उनले भने, ‘भारतमा सरकारले नै आधारभूत संरचनामा ठूलो लगानी गरेको छ । त्यसमै निजी क्षेत्रले थप लगानी गर्ने गरेका छन् । नेपालको सन्दर्भमा भने कनेक्टिभिटी, अन्तर्राष्ट्रिय ब्यान्डविथ र पेमेन्ट गेटवेजस्ता आधारभूत क्षेत्रमा पनि निजी क्षेत्रकै ठूलो लगानी रहेको छ ।’ 

नेपालमा तीव्र रूपमा भइरहेको डिजिटलाइजेसनसँगै जोखिमहरू पनि बढ्दै गएको ढकालले बताए । यस्ता जोखिम न्यूनीकरणका लागि डिजिटल क्षेत्रमा संलग्न स्टार्टअप र लगानीकर्ताहरूले विशेष सावधानी अपनाउनु पर्ने उनको बुझाइ छ । ‘अहिलेको समयमा साइबर सुरक्षा र दक्ष जनशक्ति टिकाउनु महँगो र चुनौतीपूर्ण विषय बनेको छ,’ उनले भने, ‘सरकारले यसबारे स्पष्ट नीति बनाउनु आवश्यक छ।’ 

साइबर सुरक्षाका विषयमा निजी क्षेत्रको एकल प्रयासले नपुग्ने भन्दै उनले यसमा सरकारले पनि उचित आधार तयार गरिदिनुपर्ने बताए । 

कान्तिपुर

Link copied successfully