नेपालमा वैदेशिक रोजगारी आर्थिक बाध्यता : अर्थशास्त्री लामिछाने

अर्थशास्त्री लामिछानेले वैदेशिक रोजगारी अवसरको सट्टा बाध्यता बनेको भन्दै, उत्पादन र औद्योगिक क्षेत्र कमजोर हुँदा समग्र अर्थतन्त्रमा समस्या आएको औंल्याइन् ।

वैशाख ३०, २०८३

कान्तिपुर संवाददाता

Foreign employment is an economic obligation in Nepal: Economist Lamichhane

काठमाडौँ — नेपालमा वैदेशिक रोजगारी अवसर नभई आर्थिक बाध्यता बनेको अर्थशास्त्री अञ्जना लामिछानेले बताएकी छन् ।  कान्तिपुर इकोनमिक समिटको दोस्रो सत्र ‘बजेटमा अंक होइन, अर्थको खोजी’ मा उनले  सामाजिक क्षेत्रको विकासका लागि आर्थिक गतिविधि, रोजगारी र उद्यमशीलता महत्त्वपूर्ण हुने उल्लेख गरिन् ।

‘अहिले वैदेशिक रोजगारी एउटा आर्थिक बाध्यता बनेको छ, यसलाई एउटा अवसरका रूपमा विकास गरिनुपर्थ्यो,’ उनले भनिन्, ‘हाम्रो अर्थतन्त्रको बाह्य सूचक सकारात्मक देखिए पनि यो अल्पकालीन स्थिरता मात्र हो किनभने यो उत्पादनमा आधारित नभई विप्रेषण (रेमिट्यान्स) मा आधारित छ ।’ 

कुल गार्हस्थ उत्पादन (जीडीपी) मा औद्योगिक क्षेत्रको योगदान घट्नुलाई उनले चिन्ता प्रकट गरिन् । उद्योगलाई दीर्घकालीन आर्थिक रूपान्तरणमा लैजानुपनु आवश्यक रहेको लामिछानेको भनाइ छ । ‘हाम्रो उत्पादन र औद्योगिक क्षेत्र कमजोर छ, निजी लगानी पनि न्यून छ,’ उनले भनिन्, ‘बैंकहरूमा तरलता भए पनि लगानीकर्तामा आत्मविश्वास छैन । यसले लगानी बढ्न सकेको छैन ।’ 

सरकारले बजेटमार्फत साना-साना परियोजनामा बजेट छर्नुभन्दा प्रभावकारी नतिजा आउने गरी खर्च गर्नुपर्ने उनले सुझाव दिइन् । उनले लगानीको प्रतिफल मूल्यांकन गर्ने कार्यविधिमा पनि सुधार आवश्यक रहेको औँल्याइन् । 

कान्तिपुर

Link copied successfully