पर्यटनका १७ निकायमा ४७ पदका लागि दरखास्त आह्वान

अध्यादेशपछि रिक्त बनेका पर्यटन तथा संस्कृति क्षेत्रका निकायमा पदपूर्तिको प्रक्रिया सुरु, ०८३ जेठ ६ सम्म आवेदन दिन सकिने।

वैशाख ३०, २०८३

कान्तिपुर संवाददाता

Applications invited for 47 positions in 17 tourism bodies

What you should know

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका १७ वटा निकायमा रिक्त रहेका ४७ पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ । 

मन्त्रालयले सार्वजनिक गरेको ‘रोस्टर सूची फाराम’ अनुसार इच्छुक नेपालीहरूले जेठ ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सरकारले हालै ल्याएको अध्यादेशमार्फत विभिन्न परिषद्, समिति र प्रतिष्ठानमा रहेका पदाधिकारीहरूको पद रिक्त भएपछि मन्त्रालयले नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएको हो । 

मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानलगायतका निकायमा आवेदन आह्वान गरेको हो ।

त्यस्तै, नेपाल होटल, पर्यटन तथा पर्वतीय प्रतिष्ठान, सांस्कृतिक संस्थान, तारागाउँ विकास समिति, देवघाट क्षेत्र विकास समिति, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, बौद्धनाथ क्षेत्र विकास समिति, पाटन संग्रहालय विकास समिति तथा हनुमानढोका दरबार संग्रहालय विकास समितिमा समेत विभिन्न पदका लागि आवेदन खुला गरिएको छ ।

नेपाल पर्यटन बोर्डमा कार्यकारी प्रमुख तथा कार्यकारी समिति सदस्य, नेपाल नागरिक उड्डयन प्राधिकरणमा सञ्चालक समिति सदस्य, पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव र कोषाध्यक्ष, लुम्बिनी विकास कोषमा उपाध्यक्षदेखि सदस्य सचिवसम्मका पदहरु रिक्त छन् ।

त्यस्तै, नेपाल प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य सचिव तथा प्राज्ञ सभा सदस्यका पदका लागि आवेदन माग गरिएको छ ।

आवेदनकर्ताले आफू आवेदन दिन चाहेको संस्था र पद चयन गरी व्यक्तिगत विवरण, स्थायी ठेगाना, सम्पर्क नम्बर तथा बायोडाटा अपलोड गर्नुपर्नेछ । आवेदन अनलाइन फाराममार्फत संकलन गरिने जनाइएको छ ।

मन्त्रालयका अनुसार प्राप्त आवेदनका आधारमा रोस्टर तयार गरी आगामी नियुक्ति प्रक्रिया अघि बढाउने जनाएको छ । 

कान्तिपुर

Link copied successfully