विगतमा राजनीतिक र आर्थिक संस्थाहरू कब्जा हुँदा देश संकटमा पुग्यो : अर्थमन्त्री

अर्थमन्त्री वाग्लेले विगतमा केही व्यक्तिले राजनीतिक र आर्थिक संस्थाहरू कब्जा गर्दा मुलुक भड्खालोमा पुगेको उल्लेख गर्दै पारदर्शिता र सुधारको प्रतिबद्धता जनाएका छन् ।

वैशाख २९, २०८३

कान्तिपुर संवाददाता

The country was in crisis when political and economic institutions were taken over in the past: Finance Minister

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले विगतमा केही व्यक्तिले राजनीतिक स‌ंस्थासँगै आर्थिक संस्थाहरू कब्जा गर्दा देश भड्खालोमा पुग्ने स्थिति सिर्जना भएको बताएका छन् । मंगलबार बसेको अर्थ समितिको बैठकमा उनले मुलुकलाई उक्त अवस्थामा पुग्न नदिन जेन-जी  आन्दोलनको हस्तक्षेपलाई धन्यवाद दिनुपर्ने समेत बताए ।

'सेयर बजार, पुँजी बजारलाई व्यावसायिक बनाउँछौं, विश्वस्तरिय पुँजी बजारको मापदण्डलाई पछ्याउने गरी काम गर्छौं,' उनले भने ।  उनले विगतमा केही व्यक्तिको कब्जामा गएको यथार्थलाई पनि स्वीकार गर्नुपर्ने बताए ।

'१५ अर्ब/ १६ अर्ब रूपैयाँ जनताको पैसाको अपचलन गरेर मार्केट मेनिपुलेसन, इन्साइडर ट्रेडिङ गरी अकुत सम्पत्ति जम्मा गरेर केही व्यक्तिले राजनीतिलाई प्रभावित पारे,' उनले भने, 'केही प्रभावशालीलाई गोजीमा राखेर देशका राजनीतिक स‌ंस्थाहरु कब्जा गरे ।आर्थिक संस्थाहरू पनि कब्जा गरेको थियो ।' 

'प्रधानमन्त्रीज्यूले त सुशासनलाई नै जोड दि‍औं, विकास निर्माण दोस्रो वर्षदेखि गरौं भन्नु भएको छ,' उनले अगाडि भने, 'पद्धति र प्रणाली बनाएपछि बाँकी काम स्वचालित रूपमा भइहाल्छ ।'

आँखा चिम्लेर भए पनि  १३ सय ३० अर्ब खर्च गर्नु पर्ने अनिवार्य दायित्व भएको भन्दै उनले  त्यसमा १-२ सय अर्ब थप्दा बजेट हुने समेत बताए । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सेयर बजार, पुँजी बजारबारे उदार नीतिहरू घोषणा गरिसकेको भन्दै बजेटमा थप आकार दिने अर्थमन्त्री वाग्लेले बताए ।

कान्तिपुर

Link copied successfully