सगरमाथाको साउथ कोल पुग्यो डोरी फिक्सिङ टोली

मौसम अनुकूल रहे भोलि बिहानसम्म शिखरबाट सुखद् समाचार आउने आशा गरिएको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

वैशाख २९, २०८३

सुरज कुँवर

Rope fixing team reaches South Col of Everest

काठमान्डौं — यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण सिजनका लागि महत्वपूर्ण मानिएको डोरी फिक्सिङ ( डोरीको सहायताले बाटो बनाउने) टोली साउथ कोल (क्याम्प ४) अर्थात् ७,९०६ मिटर उचाइमा पुगेको छ । हिमाल आरोहण गराउने नेपाली कम्पनी ‘सेभेन समिट ट्रेक्स’का अनुसार टोली अहिले करिब ८,४०० मिटर उचाइमा रहेको बाल्कोनी सेक्सनतर्फ डोरी फिक्स गर्ने काम अघि बढिरहेको छ ।

डोरी टाँग्ने टोलीमा सेभेन समिट ट्रेक्सका गाइड डेन्डी शेर्पा, मिङ्तेम्बा शेर्पा, मिङ्मा नुर्बु शेर्पाका साथै इम्याजिन नेपालका ४ जना र एलिट एक्स्पेडका २ जना शेर्पा गाइड सहभागी छन् । टोली आज बिहान करिब ७ बजे साउथ कोल पुगेको थियो ।

हाल क्याम्प ४ मा रहेका इम्याजिन नेपालका दुई शेर्पा र सेभेन समिट ट्रेक्सका फिक्सिङ लिडर मिङ दोर्ची शेर्पा तथा पासाङ नुर्बु शेर्पा आज राति सगरमाथा शिखरतर्फ प्रस्थान गर्ने तयारीमा छन् । बाँकी सदस्य पनि आज साँझसम्म साउथ कोल पुगेर संयुक्त रूपमा समिटमा सहभागी हुने उल्लेख छ ।

मौसम अनुकूल रहे भोलि बिहानसम्म शिखरबाट सुखद् समाचार आउने आशा गरिएको कम्पनीले जनाएको छ ।

हरेक आरोहण सिजनमा सगरमाथामा डोरी फिक्सिङ कार्य अत्यन्त महत्वपूर्ण मानिन्छ, जसले सयौं आरोहीका लागि सुरक्षित मार्ग सुनिश्चित गर्ने गर्दछ ।

पर्यटन विभागले १७ फागुन २०८२ देखि २५ वैशाख २०८३ सम्म सार्वजनिक गरेको रोयल्टी प्रतिवेदनअनुसार सगरमाथा आरोहणका लागि ५० वटा अभियान टोलीमार्फत ४९२ जना विदेशी आरोहीलाई अनुमति प्रदान गरिएको छ । तीमध्ये ३८७ पुरुष र १०५ महिला छन् । यो संख्या यस सिजनका सबै हिमालमध्ये सर्वाधिक हो ।

यसअघि सगरमाथा आरोहण अनुमतिको उच्च रेकर्ड सन् २०२३ मा कायम भएको थियो । उक्त वर्ष ४७८ जनाले अनुमति पाएका थिए । यस वर्षको अनुमति संख्याले त्यो रेकर्डलाई समेत उछिन्दै हालसम्मकै उच्च कायम गरेको विभागले जनाएको छ ।

सगरमाथाबाट मात्रै सरकारले करिब १ अर्ब ७ करोड रुपैयाँ रोयल्टी संकलन गरेको छ, जुन एउटै हिमालबाट प्राप्त नेपालको हालसम्मकै उच्च राजस्व हो । कुल पर्वतारोहण आम्दानीमा पनि सगरमाथाकै हिस्सा सबैभन्दा ठूलो रहेको छ ।

यस वसन्त सिजनमा नेपालले सगरमाथासहित ३० वटा हिमालका लागि १३५ टोलीमार्फत १ हजार १३४ विदेशी आरोहीलाई अनुमति दिएको छ । यसबाट सरकारले कुल करिब १ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully