नेप्से ३८.३१ अंकले बढ्यो, लगातार तेस्रो दिनको वृद्धि  

सोमबार कारोबारमा आएकामध्ये २४७ कम्पनीको मूल्य बढ्यो, १८ कम्पनीको मूल्य घट्यो र ४ वटाको स्थिर रह्यो ।

वैशाख २८, २०८३

यज्ञ बञ्जाडे

NEPSE rises by 38.31 points, third consecutive day of increase

काठमाडौँ — साताको पहिलो कारोबार दिन सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ३८.३१ अंकले बढेको छ ।

गत शुक्रबारको तुलनामा १.३९ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ७ सय ८३.८५ अंकमा उक्लेको छ । यो सँगै पछिल्ला तीन कारोबार दिन नेप्से लगातार बढेको छ ।

सोमबार कारोबारमा आएकामध्ये २४७ कम्पनीको मूल्य बढ्यो, १८ कम्पनीको मूल्य घट्यो र ४ वटाको स्थिर रह्यो ।  

सो दिन कुल ६८ हजार ४ सय ४४ पटकको सेयर किनबेचमा १ करोड ४ लाख ३९  हजार ४ सय ३२ कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचमा ४ अर्ब ६१ करोड ३५ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

अघिल्लो कारोबार दिनको तुलनाका कारोबार रकम बढेको हो । गत शुक्रबार ३ अर्ब २८ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्सो दोहोरो अंकले बढ्न टेवा पुगेको हो ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully