नीति कार्यक्रमप्रति मोरङका उद्योगी र व्यवसायी आशावादी

यसपटकको नीति कार्यक्रममा समेटिएका धेरै विषय सकारात्मक र व्यावहारिक देखिएको उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले बताए ।

वैशाख २८, २०८३

पर्वत पोर्तेल

Morang's industrialists and businessmen optimistic about policy programs

What you should know

विराटनगर — यसपटकको नीति कार्यक्रम विगतका तुलनामा बढी प्रगतिशील देखिएको मोरङका उद्योगी व्यवसायीले बताएका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योग–व्यवसायका क्षेत्रमा डिजिटल भुक्तानीलगायतका नयाँ र आधुनिक कार्यक्रम समेटिनु सकारात्मक पक्ष भएको बताए । ‘उत्पादनमुखी उद्योग सञ्चालनमा सहजीकरण गर्ने नीति पनि निकै प्रशंसनीय छ,’ उनले भने ।

धेरै कार्यक्रम राम्रो हुँदाहुँदै पनि विगतका सरकारजस्तै कार्यान्वयन पक्ष फितलो हुन नहुने उनले बताए । ‘विशेषगरी यी कार्यक्रमलाई बजेटमार्फत कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भन्ने विषयमा सरकारले गम्भीर रूपमा सोच्न आवश्यक छ,’ उनले भने, ‘कार्यान्वयन पक्ष मजबुत हुनुपर्छ । विगतमा जस्तै निराश पार्ने काम अब दोहोरिनु हुँदैन ।’

यसपटकको नीति कार्यक्रममा समेटिएका धेरै विषय सकारात्मक र व्यावहारिक देखिएको उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले बताए । ‘विशेष गरी सूचना प्रविधिको निर्यात प्रवर्द्धन गर्ने विषयलाई प्राथमिकतामा राखिनु समयसापेक्ष कदम हो,’ उनले भने । यसले युवापुस्तालाई स्वदेशमै रोजगारी र उद्यमको अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गर्न सकिने उनले बताए ।

Morang's industrialists and businessmen optimistic about policy programs
                                  राजेन्द्र राउत                                                                                    नन्दकिशोर राठी

त्यसैगरी कृषियोग्य जमिन बाँझो नराखी उत्पादनमुखी बनाउन ‘भूमि बैंक’को अवधारणा ल्याइनु नौलो र महत्त्वपूर्ण योजना भएको उनले बताए । ‘यसले कृषि उत्पादन वृद्धि गर्नुका साथै कृषिलाई व्यावसायिक र आधुनिक बनाउन सहयोग पुर्‍याउन सक्छ,’ उनले भने, ‘२०६७ सालको उद्योग नीति परिमार्जन गरी राष्ट्रिय औद्योगिक नीतिमार्फत विभिन्न उद्यमी–व्यवसायीलाई लगानीका अवसर उपलब्ध गराउने कुरा पनि सकारात्मक छ ।’

उद्योग–व्यवसायमैत्री वातावरण निर्माण गर्न सके निजी क्षेत्रको मनोबल अझ बढ्ने उनले बताए । ‘महिला उद्यमशीलता विकासलाई प्राथमिकतामा राखिनु पनि निकै प्रशंसनीय पक्ष हो,’ उनले भने, ‘यसले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।’

समग्रमा हेर्दा यसपटकको नीति कार्यक्रम विगतका तुलनामा उत्कृष्ट, प्रगतिशील र आशावादी देखिएको उनले बताए । ‘अब यसको प्रभावकारी कार्यान्वयनतर्फ सरकार गम्भीर बन्न आवश्यक छ,’ उनले भने ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully