नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सरकारको नीति कार्यक्रम तुलनात्मक रुपमा प्रगतिशील रहेको बताए ।
बुटवल — सरकारको नीति कार्यक्रममा बुटवलका उद्योगी व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन् । नीति कार्यक्रम आशालाग्दो भए पनि कार्यान्वयनमा कठिनाइ हुन सक्ने व्यवसायीको आशंका छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सरकारको नीति कार्यक्रमको आंशिक अध्ययनमा तुलनात्मक रुपमा प्रगतिशील रहेको बताए । उद्योगी व्यवसायीका धेरै सुझाव कार्यान्वयन पनि भएका छन् । ‘तुलनात्मक रुपमा सरकारले प्रस्तुत गरेको नीति कार्यक्रम प्रोग्रेसिभ छ,’ उनले भने, ‘तर, प्रस्तुत नीति कार्यक्रम कार्यान्वयन गर्ने मेसिनरी राष्ट्रसेवक र जनप्रतिनिधिसँग म्याचिङ हुन्छ कि हुँदैन भन्ने आशंका छ ।’ सुन्न जति लोकप्रिय छ, कार्यान्वयन त्यत्तिकै जटिल देखिएको उनले बताए ।
रूपन्देही उद्योग व्यापार संघका पूर्वअध्यक्ष एवं उद्योगी बाबुराम बोहराले सरकारले ल्याएका भूमि बैंक प्रणाली, आर्थिक कारोबार नगदरहित बनाउने, सबै कारोबार डिजिटल लगायतका कार्यक्रम सकारात्मक भएको बताए । उनले बाँझो जमिनलाई खेतीयोग्य बनाउने नीति कार्यान्वयन गर्न सके आर्थिक समृद्धिको बाटो खुल्ने बताए ।
‘केही कार्यक्रम निकै आकर्षक छन्, कार्यान्वयन गर्न सके सरकारले भन्ने गरेको आर्थिक समृद्धिको पाटो बलियो बन्ने देखिन्छ,’ उनले भने, ‘भूमि बैंक, नगद आर्थिक कारोबार निरुत्साहित, डिजिटल आर्थिक कारोबार, नेपाल लगानी भिसा लगायतका कार्यक्रमको सन्देश राम्रो छ ।’ यस्ता कार्यक्रम कार्यान्वयनमा पनि सरकार गम्भीर रुपमा लाग्नुपर्ने उनले बताए ।
