म्युचुअल फन्ड, प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी बाटो खुल्यो।
काठमाडौँ — कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फन्ड, भेञ्चर क्यापिटल फन्डलगायतमा लगानीको बाटो खुलेको छ । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत उल्लिखित संस्थालाई सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फन्ड, भेञ्चर क्यापिटल फन्डलगायतमा लगानीको बाटो खुलाएको हो ।
यसका लागि सरकारले अध्यादेशमार्फत कर्मचारी सञ्चय कोष ऐन, नागरिक लगानी कोष ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन संशोधन गरेको छ । ‘धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फन्ड र भेञ्चर क्यापिटल फन्डका धितोपत्र इकाइमा लगानी गर्ने,’ केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा उल्लेख छ ।
उल्लिखित कोषहरूले तोकिएका क्षेत्र, आयोजना र संस्थानमा लगानी गर्न पाउँछन् । तर धेरै लगानी उत्पादनमूलक क्षेत्रमा हुन सकेको छैन । औसतमा हेर्दा यी कोषसँग भएको रकममध्ये करिब ५० प्रतिशत मुद्दती निक्षेपमा र बाँकी सरकारी ऋणपत्र, ट्रेजरी बिल, विकास ऋणपत्र, सामूहिक लगानी कोषमा लगानी हुँदै आएको छ । पछिल्ला वर्षमा बजारमा लगातार अधिक तरलता (ऋणयोग्य रकम) थुप्रिएकाले बैंक तथा वित्तीय संस्थाले संस्थागत निक्षेपमा रुचि देखाएका छैनन् ।
यस्ता कोषको धेरै रकम मुद्दती निक्षेपमा रहने तर निक्षेपको ब्याजदर कम हुँदा उनीहरूको आय पनि कम भएको छ । यस्तो बेला सरकारले यी कोषको रकम पनि तुलनात्मक रूपमा कम जोखिम रहेका सामूहिक लगानी कोषलगायत धितोपत्रमा लगानीको बाटो खोलिदिएको हो । नयाँ व्यवस्थाले एकातिर कोषहरूको फन्ड उपयोग हुन्छ भने अर्कातिर पुँजी बजारले पनि संस्थागत लगानीकर्ता पाउने जानकार बताउँछन् ।
यद्यपि अन्य क्षेत्रको तुलनामा पुँजी बजारमा लगानी जोखिमयुक्त हुने भएकाले पर्याप्त अनुसन्धानसहित जोखिम विश्लेषण गरेर मात्र लगानी निर्णय गर्नुपर्ने विज्ञहरूको सुझाव छ । यस्ता कम्पनीलाई पुँजी बजारमा प्रवेश दिएर सरकारले राम्रो गरेको नागरिक लगानी कोषका पूर्वकार्यकारी निर्देशक रमण नेपालको तर्क छ । ‘नागरिक लगानी कोषको सन्दर्भमा कुरा गर्दा यो निकै आवश्यक थियो ।
किनकि कोषसँग लगानीका स्रोत निकै कम थिए । तर आफूले लगानी गर्ने धितोपत्र र सम्बन्धित कम्पनीबारे निकै धेरै अध्ययन–अनुसन्धान र त्यसका आधारमा जोखिम मूल्यांकन गर्नुपर्छ,’ उनले भने, ‘हचुवाको भरमा लगानी गर्दा जोखिम हुने भएकाले लगानी गर्नुपूर्व पर्याप्त अनुसन्धान गरेर लगानी निर्णय गर्दा कम्पनी र समग्र पुँजी बजारकै लागि राम्रो हुन्छ ।’
सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष संस्थागत लगानीकर्ता भएकाले उनीहरूसँग रहेको लगानी पुँजी बजारमा आउँदा सम्बन्धित कम्पनी र बजार दुवैको हित हुने नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरीले जनाए । ‘संस्थागत लगानीकर्ताले धितोपत्रमा लगानी गर्दा हचुवाको भरमा गर्दैन, लाभ, नोक्सानी हिसाब गरेर पर्याप्त अनुसन्धान गरेर मात्र लगानी निर्णय गर्छ,’ उनले भने, ‘संस्थागत लगानी व्यक्तिगत जस्तो हुँदैन । संस्थाको जिम्मेवारी र दायित्व धेरै हुने भएकाले जोखिम कम हुन्छ ।’
लगानी गर्दा जुन क्षेत्रमा पनि जोखिम हुने भएकाले धितोपत्रमा बढी जोखिम हुन्छ भन्ने तर्क सही नभएको गिरीको भनाइ छ । ‘लगानीमा जहाँ पनि जोखिम हुन्छ, कम–बेसी मात्र हो, यसकारण जोखिम छ भनेर डराउनु पर्दैन,’ उनले थपे, ‘जोखिमको पर्याप्त विश्लेषण गरेर लगानी निर्णय गर्दा निकै फाइदा हुन्छ ।’ अहिले यस्ता संस्थाले प्रायः रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा राखेर ब्याज आर्जन गरिरहेका बेला सरकारको यो निर्णयले ती कम्पनीको कोष उपयोगको बाटो खुलेको उनको तर्क छ ।
‘नागरिक लगानी कोष स्थापना गरेकै पुँजी बजारमा लगानीका लागि हो । तर उसले पूर्ण रूपमा यो बजारमा लगानी गर्न पाएको थिएन,’ एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाँलले भने, ‘सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फन्ड, भेञ्चर क्यापिटल फन्डलगायतको लगानी इक्विटी जस्तो जोखिमयुक्त हुँदैन ।’
सञ्चालनमा रहेका सामूहिक लगानी कोषहरूको औसत प्रतिशत मुद्दती निक्षेपभन्दा धेरै हुन्छ । सेयर बजारमा लगानी गर्न खोज्ने तर जोखिम लिन नचाहने/नसक्ने लगानीकर्ताका लागि लक्ष्य गरेर सामूहिक लगानी कोष जस्ता स्किम ल्याइएको हुनाले सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलगायतको लगानी जोखिममा हुन्छ कि भन्ने आशंका सही नभएको फुयाँलको दाबी छ ।
