प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीयले ७५ हजार र तृतीयले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
काठमाडौं — नेपाली खानाको मौलिकता, विविधता तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित इन्टरनेश्नल नेपाली शेफ सोसाइटी र नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा ‘सेकेन्ड नेसनल कूलिनरी च्यालेन्ज प्रतियोगिता’ आयोजना हुने भएको छ ।
प्रतियोगिता आगामी १ र २ जेठमा पाथिभरा कूलिनरी आर्ट कलेज दमकमा सञ्चालन हुनेछ ।
आयोजक संस्थाका अनुसार प्रतियोगितामार्फत नेपाली पाककलालाई व्यावसायिकता, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतातर्फ उन्मुख गराउने छ ।
प्रतियोगितामा नेपालका सातै प्रदेशका मौलिक तथा रैथाने खानाको खोज, अनुसन्धान, संरक्षण तथा प्रवर्द्धनमा विशेष जोड दिइने छ । लोपोन्मुख परिकारदेखि परम्परागत स्वादसम्मलाई एकै थलोमा प्रस्तुत गरिनेछ भने आधुनिक कूलिनरी प्रविधि र परम्परागत स्वादबीच सन्तुलन कायम गर्दै नयाँ पुस्ताका शेफहरूलाई सिर्जनशीलता र नवप्रवर्तनतर्फ प्रेरित गर्ने उद्देश्य लिइएको बिहीबार पत्रकार सम्मेलनमा जनाइएको छ ।
कार्यक्रमअन्तर्गत खुला पाककला प्रतियोगिता, विभिन्न फुड कम्पिटिसन तथा आकर्षक फुड फेस्टिभल आयोजना गरिनेछ । ५० भन्दा बढी स्टल रहने फेस्टिभलमा स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरका परिकारहरूको स्वाद लिन सकिनेछ ।
१० भन्दा बढी देशका अनुभवी अन्तर्राष्ट्रिय सेफहरू निर्णायकका रूपमा सहभागी हुनेछन् । उनीहरूको सहभागिताले नेपाली सेफहरूलाई विश्वस्तरीय मूल्यांकन, मार्गदर्शन तथा अनुभव आदानप्रदानको अवसर प्राप्त हुने आयोजकले विश्वास व्यक्त गरेको छ ।
प्रतियोगितामा सहभागिता जनाउन ३ जनाको टिम अनिवार्य गरिएको छ । दर्ता शुल्क बुझाएर सहभागिता सुनिश्चित गर्नुपर्नेछ । प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीयले ७५ हजार र तृतीयले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
