विस्तारित कर्जा सुविधाका सर्त पूरा गर्न आईएमएफले नेपाललाई दियो थप २ महिना

आईएमएफको कार्यकारी बोर्डको बैठकले बुधबार दुई महिना म्याद थप गर्ने निर्णय गरेको हो ।

वैशाख २४, २०८३

कान्तिपुर संवाददाता

IMF gives Nepal 2 more months to meet conditions of extended credit facility

काठमाडौँ — नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट लिएको विस्तारित कर्जा सुविधा (ईसीएफ)का बाँकी सर्त पूरा गर्न दुई महिना थप गरेको छ । आईएमएफको कार्यकारी बोर्डको बैठकले बुधबार दुई महिना म्याद थप गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारको अनुरोधअनुसार विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यक्रमको अवधि दुई महिना थप गर्दै २०२६ जुलाई ११ सम्म पुर्‍याउने निर्णय भएको आइईएमएफद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बाँकी सर्त पूरा भएपछि ईसीएफ कार्यक्रमअन्तर्गत सातौं तथा अन्तिम समीक्षा पूरा गर्न पर्याप्त समय उपलब्ध गराउनेछ ।

नेपालले के-के सर्त पूरा गर्न बाँकी छ भन्ने विज्ञप्तिमा उल्लेख नभए पनि मुख्य गरी राष्ट्र बैंकको स्वायत्तता, कर्जाको वर्गीकरणलगायत वित्तीय क्षेत्रका केही काम गर्न बाँकी रहेको आईएमएफले जनाएको छ ।

३८ महिनाको ईसीएफ कार्यक्रम २०२२ जनवरी १२ मा आईएमएफको कार्यकारी बोर्डबाट स्वीकृत भएको थियो । उक्त कार्यक्रममा एसडीआर २८२.४२ मिलियन (कोटाको १८० प्रतिशत) बराबरको सहुलियत कर्जा सुविधा नेपालले प्राप्त गरिरहेको थियो । सात वटा किस्तामा वर्गीकरण गरिएको उक्त सुविधामध्ये अन्तिम (सातौँ) किस्ता भुक्तानी हुन बाँकी छ । सो किस्ता पूरा गर्नुअघि आईएमएफले सुरू सर्तहरूमध्ये बाँकी पूरा गर्न भनेको हो ।

पछि २०२३ मे १ मा आईएमएफ बोर्डले थप कर्जा पहुँच नबढाई किस्ता वितरणको तालिका पुनःनिर्धारण गर्दै कार्यक्रमको अवधि २०२६ जनवरी ११ सम्म विस्तार गरेको थियो । त्यसपछि २०२५ डिसेम्बर १ मा पुनः थप पहुँचबिनै कार्यक्रमको अवधि २०२६ मे ११ सम्म बढाइएको थियो ।

कान्तिपुर

Link copied successfully