नेपाल उद्योग वाणिज्य महासंघमा सुरु भयो अञ्जन श्रेष्ठको कार्यकाल

श्रेष्ठले बिहीबार शपथ तथा पदभार ग्रहण गर्दै, आगामी तीन वर्ष महासंघको नेतृत्व सम्हाल्ने।

वैशाख २४, २०८३

सीमा तामाङ

Anjan Shrestha's tenure at the Federation of Nepalese Chambers of Commerce and Industry begins

काठमाडौँ — उद्यमी अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेका छन् । महासंघको कानुनी व्यवस्थाअनुसार ६०औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ स्वतः अध्यक्ष बनेका हुन । विधानको व्यवस्थाका आधारमा यसरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने यो अन्तिम कार्यकाल हो । बिहीबार श्रेष्ठले शपथग्रहण तथा पदभार ग्रहण गर्ने कार्यक्रम छ । उनले आगामी तीन वर्ष महासंघको नेतृत्व सम्हाल्नेछन् । 

सोमबार सुरु भएको साधारणसभमा मंगलबार निर्वाचन भएको थियो । निर्वाचनमा ७३ पदका लागि १ सय ३७ जनाले उम्मेदवारी दिएका थिए ।महासंघ विधानको दफा २९ को उपदफा ३ मा ‘उपदफा २९.२ मा जुनसुकै कुरा लेखिएको भए तापनि यो विधान लागू हुँदाका बखत कायम वरिष्ठ उपाध्यक्ष आगामी एक कार्यकालका लागि स्वतः अध्यक्ष हुने र त्यसपछि महासंघ अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था छ’ उल्लेख छ । 

साधारणसभाका अवसरमा चार उपाध्यक्षसहित ७३ पदका लागि गरिएको निर्वाचनमार्फत पदाधिकारी विजयी भएका छन् । सोमबार सुरु भएको साधारणसभमा मंगलबार निर्वाचन भएको थियो । निर्वाचनमा ७३ पदका लागि १ सय ३७ जनाले उम्मेदवारी दिएका थिए ।

वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका लागि छुट्टै सूचना निकालिने मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जनाए । ‘निर्वाचित कार्यसमितिले पदाबहाली गरेपछि वरिष्ठ उपाध्यक्षको प्रक्रिया अघि बढ्छ,’ उनले भने, ‘अध्यक्षले सात जनालाई मनोनीत गर्न पाउने व्यवस्था छ । बिहीबार नै अध्यक्षज्यूले मनोनीत गर्नुभयो भने वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन प्रक्रिया अघि बढ्छ ।’ 

निर्वाचितमध्ये ८९ जनाले कोषाध्यक्ष र ८२ जनाले वरिष्ठ उपाध्यक्षका लागि मतदान गर्न पाउने पौडेलले बताए ।आफ्नो कार्यकालमा निजी क्षेत्र र सरकारबीचको सम्बन्धलाई पुनः परिभाषित गर्ने नवनियुक्त अध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाए । महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले निजी क्षेत्रलाई साक्षी होइन, सहकार्यकर्ता मान्ने वातावरण बनाउन निरन्तर पहल गर्ने बताए । अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहकाले लगानी वृद्धि गर्ने, माग बढाउनेलगायत विषयमा सरकारसँग मिलेर महासंघले काम गर्ने श्रेष्ठले बताए । 

Anjan Shrestha's tenure at the Federation of Nepalese Chambers of Commerce and Industry begins

‘नयाँ सरकार आएको छ, हामी सरकारसँग मिलेर काम गर्छौं । सरकारले सुशासनको प्रत्याभूति गर्ने भनेको छ । ऊ त्यहीअनुसार छिटोछरितो गर्ने किसिमले अघि बढेको छ,’ श्रेष्ठले भने, ‘व्यवसायीको मनोबल गिरेको अवस्था छ । सबैभन्दा पहिला मनोबल बढाउने काम गर्नुपर्छ । लगानी वृद्धि गर्नु छ ।’ व्यावसायिक विवादलाई फौजदारी अपराधका रूपमा हेर्ने प्रवृत्ति, अग्रिम धरौटीको सुविधाको अभाव, विवाद समाधानको ढिलो प्रक्रियालगायत समस्या समाधानमा महासंघ अग्रसर रहनेसमेत उनको भनाइ छ ।

नेपालमा निजी लगानी बढाउन ठोस पहल गर्ने, देशभित्रको लगानी सक्रिय बनाउने, स्वदेशी पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउने र विदेशी लगानीलाई सहज बनाउने नीतिगत वातावरण निर्माणका लागि सरकारसँग नियमित संवाद गर्ने अध्यक्ष श्रेष्ठको दाबी छ ।  

नेपालमा निजी लगानी बढाउन ठोस पहल गर्ने, देशभित्रको लगानी सक्रिय बनाउने, स्वदेशी पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउने र विदेशी लगानीलाई सहज बनाउने नीतिगत वातावरण निर्माणका लागि सरकारसँग नियमित संवाद गर्ने अध्यक्ष श्रेष्ठको दाबी छ ।साधारणसभाका अवसरमा भएको निर्वाचनबाट जिल्ला/नगर उद्योग वाणिज्य समूह उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ, वस्तुगत समूहको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र एसोसिएटतर्फ उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन् । जिल्ला नगर उद्योग वाणिज्य संघकै कार्यसमिति सदस्यमा प्रयास कार्की, अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, दीपक नेपाल, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । जिल्ला नगर उद्योग वाणिज्य समूहको कार्यसमिति सदस्य खुलामा १७ पदका लागि २२ उम्मेदवार थिए ।

जिल्ला नगर उद्योग वाणिज्य समूहकै महिला सदस्यमा गीता अमात्य र हीरा भट्टराई निर्वाचित भएका छन् । जिल्ला/नगर उद्योग वाणिज्य समूहका कार्यसमिति सदस्यमा कोशीबाट जीवन पराजुली र रमेश विक, मधेशबाट विकासकुमार सारडा र अमरनाथ शाह, बागमतीबाट सविन श्रेष्ठ र प्रकाश मानन्धर, गण्डकीबाट पविन्दकुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनीबाट यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी र सुदूरपश्चिमबाट पीताम्बर जोशी विजयी भएका छन् । कर्णालीमा पदमबहादुर शाही र पुरिचन्द्र देवकोटा निर्विरोध भएका थिए ।

वस्तुगततर्फ सदस्यहरूमा अरनिको राजभण्डारी, नानीराज घिमिरे, रविन पुरी, राजकुमार कार्की, संघर्ष विष्ट, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, लिलेन्द्रप्रसाद प्रधान, सागर ढकाल र होमप्रसाद घिमिरे छन् । यस्तै नीराजनबहादुर चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५०/५० मत ल्याएका छन् ।

उनीहरूमध्ये १ जनालाई गोलाप्रथाबाट टुंगो लगाउने भनिए पनि निर्णय भएको छैन । यसमा १३ पदका लागि २६ उम्मेदवार थिए । कार्यसमिति सदस्यतर्फ सुनिता नेम्हाफुकी निर्वाचित भएकी छन् । वस्तुगततर्फ महासंघ कार्यसमिति सदस्यमा विश्वनाथ खनाल र सुनैना घिमिरे विजयी भएका छन् । 

एसोसिएटतर्फ कार्यसमिति सदस्य संख्या १७ जना निर्वाचित भएका छन् । यसमा सचिन ढकाल, हेमन्त गोल्छा, अम्बिकाप्रसाद पौडेल, उज्ज्वलकुमार श्रेष्ठ, शक्तिकुमार बेगानी, ऋषि अग्रवाल, सुशील थापा, राजेशकुमार अग्रवाल, सुयश प्याकुरेल, रामशरण भण्डारी, बाबुकाजी कार्की, दिवस न्यौपाने, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, ईश्वरबहादुर जीसी, सुरज उप्रेती र बटु लामिछाने निर्वाचित भएका छन् । यी १७ पदका लागि ३३ जना उम्मेदवार थिए । एसोसिएटतर्फको महिला सदस्यमा अभिज्ञा मल्ल र जुना माथेमा निर्वाचित भएका छन् । उपाध्यक्ष पदका लागि दुई जना दाबेदार थिए । महिला सदस्यका लागि भने ४ जना उम्मेदवार थिए ।

यसैगरी संस्थापक सदस्य समूहतर्फ सुमनकुमार श्रेष्ठ र गोपाल श्रेष्ठ विजयी भएका छन् । द्विराष्ट्रियतर्फ कार्यसमिति सदस्यमा मनोज पौडेल विजयी भएको महासंघले जनाएको छ ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully