तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बजारबाट आज २० अर्ब झिक्दै

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

वैशाख २३, २०८३

यज्ञ बञ्जाडे

Nepal Rastra Bank withdraws 20 billion from the market today for liquidity management

काठमाडौं — नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत २० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत उल्लेखित रकम झिक्न थालेको हो । ४४ दिनका लागि उक्त रकम झिक्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

बजारमा रहेको तरलता तत्काल घट्ने सम्भावना नदेखिएपछि यसअघि छोटो अवधिका लागि पैसा झिकिरहेको राष्ट्र बैंकले पछिल्ला दिन केही लामो अवधिका लागि झिकिरहेको छ । 

पछिल्ला ३ वर्षयता राष्ट्र बैंकले सातामा दुईपटक नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको छ ।

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उकरणमा लगानीका लागि घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलन बोलकबोल ब्याजदरमा गर्नु पर्नेछ । बहुब्याजदरमा पनि बहु-बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully