भू-उपयोग ऐन, २०७६ को दफा ४ अनुसार पालिकाले मुलुकको भूबनोट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकता समेतका आधारमा कृषि, आवासीय, उद्योग, वन, खानी तथा खनिज, व्यावसायिक, औद्योगीकलगायत १० वर्गमा वर्गीकरण गर्नुपर्नेछ ।
What you should know
काठमाडौँ — सरकारले भू-उपयोग ऐन संशोधन गरेसँगै वर्गीकरण गरिसकेका पालिकाले एक पटक भू-उपयोग परिवर्तन गर्न पाउने भएका छन् । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत सरकारले भू-उपयोग ऐन, २०७६ को दफा ८ को उपदफा २ क थपसँगै भू-उपयोग परिवर्तन गर्न पाउने भएको हो ।
उक्त ऐनको दफा ८ मा भू-उपयोग परिवर्तन गर्न नहुने उल्लेख छ । दफा ८ को उपदफा १ मा एउटा प्रयोजनको लागि वर्गीकरण गरिएको जग्गा अर्को प्रयोजनमा प्रयोग गर्ने गरी भू-उपयोग परिवर्तन गर्न नपाइने उल्लेख छ ।
दफा ८ कै उपदफा २ मा उपदफा १ मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै व्यक्तिले निजको हकभोगमा रहेको जग्गा निर्धारित प्रयोजनामा भन्दा फरक प्रयोजनमा प्रयोग गर्नुपर्ने भएमा सोको आधार र कारण खुलाई सम्बन्धित स्थानीय भू-उपयोग परिषद्मा निवेदन दिनुपर्ने उल्लेख छ ।
लगत्तै सरकारले ऐन संशोधन गरी उपदफा २ क थपिएको छ । थपिएको उपदफा २ को क मा उपदफा २ बमोजिम प्राप्त निवेदन मनासिव देखिएमा एक पटकका लागि स्थानीय भू-उपयोग परिषद्ले भू-उपयोग परिवर्तन गर्न सक्ने उल्लेख छ ।
यसअघि दफा ८ को उपदफा ३ मा २ बमोजिम निवेदन प्राप्त भएमा वा आफ्नो क्षेत्रभित्रको कुनै जग्गाको निर्धारित भू-उपयोग परिवर्तन गर्नुपर्ने भएमा सम्बन्धित स्थानीय भू-उपयोग परिषद्ले सोको आधार र कारण खुलाई प्रादेशिक भू-उपयोग परिषद्समक्ष अनुरोध गर्नुपर्ने व्यवस्था थियो ।
उक्त दफाको वाक्यांशलाई हटाई नयाँ वाक्यांश थपिएको छ । त्यसमा उपदफा २ क बमोजिम स्थानीय भू-उपयोग परिषद्ले भू-उपयोग परिवर्तन गरी कायम गरिएभन्दा फरक प्रयोजनमा प्रयोग गर्नुपर्ने भएमा सोको आधार र कारण खुलाई पुन: स्थानीय भू-उपयोग परिषद्समक्ष निवेदन दिनुपर्नेछ । त्यसरी प्राप्त निवेदनको व्यहोरा मनासिव देखिएमा स्थानीय भू-उपयोग परिषद्ले प्रादेशिक भू-उपयोग परिषद्समक्ष अनुरोध गर्नुपर्ने व्यवस्था गरेको छ ।
सरकारले भू-उपयोग ऐन, २०७६ र भू-उपयोग नियमावली २०७९ जेठमा जारी भएसँगै वर्गीकरण अनिवार्य बनेको थियो । यद्यपि चालु आर्थिक वर्षको फागुनसम्म ७५३ मध्ये ३३८ पालिकाले मात्रै जग्गा वर्गीकरण गरेको छ ।
वर्गीकरण गरिसकेका पालिकाहरुले त्रुटिपूर्ण भयो भन्दै प्रदेशमा केही निवेदन परेकाले एक पटक मात्रै परिवर्तन गर्न पाउने व्यवस्था गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले बताए । 'वर्गीकरण गरिसकेका पालिकाहरुलाई मात्र हो, उनीहरुले एक पटकका लागि मात्रै परिवर्तन गर्न पाउनेछन्,' उनले भने ।
ऐनको दफा ४ अनुसार पालिकाले मुलुकको भूबनोट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकता समेतका आधारमा कृषि, आवासीय, उद्योग, वन, खानी तथा खनिज, व्यावसायिक, औद्योगिकलगायत १० वर्गमा वर्गीकरण गर्नुपर्नेछ । पालिकाहरुले वर्गीकरण नगर्दा बर्सेनि कित्ताकाट खुल्ने र बन्द हुने हुँदै आएको छ ।
