अर्थमन्त्री स्वर्णिम वाग्लेले विगतमा कब्जामा रहेका नियामक निकायलाई जनताको हस्तक्षेपले स्वतन्त्र बनाइएको र अब सरकार नयाँ बाटोमा अघि बढ्ने बताए ।
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई पखेटा फिँजाएर उड्न दिने, तर नियामक निकाय बलियो अवस्थामा रहने बताए । नेपाल उद्योग वाणिज्य महासंघ ६०औं वार्षिक साधारण सभाको उदघाटन सत्रमा उनले विगतका वर्षहरुमा नियामकीय निकायहरु कब्जा गरेर राखिएको समेत जनाए ।
'निजी क्षेत्रलाई बत्तिन दिने हो, पखेटा फिँजाएर उड्न दिने हो, तर दह्रो राज्य त्यहाँ हुनुपर्छ,' उनले भने, 'नियामक निकाय स्वस्थ सक्षम हुन्छ हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । विगतका केही वर्षहरुमा यी नियामकीय निकायहरु कब्जा गरिएका थिए । निजी क्षेत्रलाई त्यसले विकृत बनाइरहेको थियो । जसलाई टुलुटुलु हेर्न मात्र बाध्य भएका थियौं ।'
नेपाली जनताको हस्तक्षेपपछि उक्त कब्जा तोडिएको उनले बताए । अहिलेको सरकार पुरानो बाटोमा नगई नयाँ बाटो तय गर्ने समेत उनले बताए ।
सबै करहरुको बोझ घटाउने प्रतिबद्धता समेत गरेको उनले बताए । 'सामाजिक न्यायसहितको उदार अर्थनीति अवलम्बन गर्ने दल भएकोले निजी क्षेत्रसँगको उन्नत समझदारी कम्प्याक्ट कन्ट्रयाक्ट होइन कि कम्प्याक्ट गभर्मेन्ट र प्राइभेट सेक्टर बीचको एउटा उन्नत समझदारी कम्प्याक्टको आधारमा राजस्व नघट्ने प्रत्याभूतिसहित सबै करहरुको बोझ घटाउने छौँ भनेर कमिट गरेको छौँ,' उनले भने ।
