राजनीतिक प्रभावमा थन्क्याइएका पुराना अनुसन्धान फाइल मात्रै खोलिएका हुन् : अर्थमन्त्री

इमानदार ढंगले अगाडि बढेका उद्यमी व्यवसायीहरु त्रसित हुनुपर्ने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन् ।

वैशाख २१, २०८३

सीमा तामाङ

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले  राजनीतिक प्रभावमा थन्क्याइएका पुराना अनुसन्धानका फाइल मात्रै खोलिएको भन्दै अनावश्यक ढंगले तरंगित हुनु नपर्ने बताएका छन् । 

'लामालामा सूची छन् रे, भोलि कसलाई पक्रने, के गर्ने, धरपकड गर्ने, तर्साउने भन्ने त्यस्तो छैन,' उनले भने, 'पहिला बरु थियो जबरजस्ती असुलीका लागि सूची बनाएर फोन आउँथ्यो तपाईंहरुलाई ।' 

उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभामा उनले अहिले पुराना अनुसन्धानलाई नै अघि बढाइएको उनको भनाइ थियो । 'हामी आएर गरेको पनि होइन । पुराना अनुसन्धान जो राजनीतिक प्रभावमा थन्क्याइएका थिए, तामेलीमा राखिएका थिए, मिल्काइएका थिए,' उनले भने, 'हाम्रो १ नम्बर देखि १९ नम्बर त सुशासन नै सुशासन हो नि । जे लेख्या थियौं त्यही गर्दै छौं ।'

इमानदार ढंगले अगाडि बढेका उद्यमी व्यवसायीहरु त्रसित हुनुपर्ने भन्दै उनले आश्वस्त पारे । तर उद्यमी व्यवसायीको आवरणमा आपराधिक कुकृत्यमै संलग्न भए त्यसको भागीदार भने हुनुपर्ने उनको भनाइ थियो । अनावश्यक ढंगले त्रसित बनाउने  सरकारको लक्ष्य नरहेको र कुनै छलफल नभएको पनि उनले बताए ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully