आगामी बजेटलाई आर्थिक सुधारको प्रस्थानविन्दु बनाउन सरकारलाई अध्यक्ष ढकालको आग्रह

कोरोना महामारी र भूकम्पजस्ता संकटले अर्थतन्त्रलाई ठूलो धक्का दिए पनि निजी क्षेत्रले धैर्य र प्रतिबद्धताका साथ पुनः उक्लिन सफल भएको उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ ।

वैशाख २१, २०८३

सीमा तामाङ

Chairman Dhakal urges government to make the upcoming budget a starting point for economic reform

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई आर्थिक सुधारको प्रस्थानविन्दुका रूपमा ल्याउन सरकारलाई आग्रह गरेका छन् । 

महासंघको ६०औं वार्षिक साधारणसभामा ढकालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सम्बोधन गर्दै अबको चरणमा निजी क्षेत्रले नै आर्थिक सुधारको नेतृत्व लिनुपर्ने समेत बताए । स्रोतका लागि सरकारमै निर्भर रहने प्रवृत्ति घटाउँदै निजी क्षेत्र आफैं सक्रिय भएर योजना निर्माण र कार्यान्वयनमा जुट्नुपर्नेमा ढकालले जोड दिए । 

'स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य गर्दै विकासका नयाँ अवसरहरू खोज्नुपर्नेमा पनि जोड दिइएको छ,' उनले भने, 'अब दातृ निकायको उपस्थिति पनि पहिले जस्तो रहनेछैन । निजी क्षेत्रको सम्मान समृद्धिको आधार नारालाई सबैतिर विस्तार गरौं । ' 

नयाँ चरणको आर्थिक सुधारका लागि सबै तह र क्षेत्रबाट समन्वित प्रयास आवश्यक रहेको जनाउँदै महासंघले आवश्यक सहयोग गर्न तयार रहेको समेत ढकालले बताए । 

कोरोना महामारी र भूकम्पजस्ता संकटहरूले अर्थतन्त्रलाई ठूलो धक्का दिए पनि निजी क्षेत्रले धैर्यता र प्रतिबद्धताका साथ पुनः उक्लिन सफल भएको उनको भनाइ थियो ।

महासंघले १० अर्ब रुपैयाँ चुक्ता पुँजीको नेपाल डेभलेपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरेको समेत उनले जानकारी दिए । '१० अर्ब पुँजीलाई इक्विटीका रुपमा मान्ने हो भने करिब ४० देखि ५० अर्बसम्मका ठूला आयोजना पनि अगाडि बढाउन सकिन्छ,' उनले भने, 'नेपालमा केही हुँदैन भन्ने भाष्यलाई चिर्न र स्वदेशी पुँजीबाट पनि ठूला आयोजना सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश यसले दिनेछ । '

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully