सरकारको लक्ष्य प्राप्त गर्न निजी क्षेत्रको मनोबल उच्च हुनुपर्छ : सभापति लामिछाने

राज्यले निजी क्षेत्रलाई कानुन र नीतिद्वारा नै संरक्षण गर्ने भएकाले उद्योगीलाई कुनै पनि राजनीतिक दल र पार्टी कार्यालयको दैलो टेक्नपर्ने अवस्था नआउने रास्वपा सभापति रवि लामिछानेको भनाइ थियो ।

वैशाख २०, २०८३

कान्तिपुर संवाददाता

Morale of private sector must be high to achieve government's goals: Chairman Lamichhane

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निजी क्षेत्रलाई अगाडि बढाएर नै मुलुकलाई समृद्ध पार्ने लक्ष्य हासिल हुने बताएका छन् । 

निजी क्षेत्रसँग आइतबार ललितपुरमा अन्तरक्रिया गर्दै सभापति लामिछानेले उद्योगीहरूलाई नीतिमार्फत राज्यले संरक्षण गर्ने भएकाले ढुक्कसँग व्यवसाय गर्न आग्रह गरेका थिए । 'निजी क्षेत्रलाई अगाडि नबढाइकन मुलुकले कुनै पनि लक्ष्य हासिल गर्न सक्दैन । झन् यो सरकारको लक्ष्यको लागि त निजी क्षेत्रको मनोबल पनि उच्च हुनुपर्छ,' उनले भने ।

सभापति लामिछानेले मुलुकमा लगानीको वातावरण बन्ने र उच्च स्तरमा लगानी गर्नका लागि पनि आग्रह गरेका थिए । निजी क्षेत्रले लगानी गर्नका लागि र लगानीको वातावरण बनाउनका लागि सरकारले कहाँ र कुन नीतिमा परिवर्तन गर्नुपर्ने हो भनेर सभापति लामिछानेले उद्योगीहरूलाई सोधेका थिए । सरकारले रोजगारीका लागि लिएको लक्ष्य पूरा गर्न पनि निजी क्षेत्रको सहयोग आवश्यक पर्ने उनको भनाइ थियो । 'सरकारले दिने रोजगारी १० जनामा आफ्नो क्षमताले एक-दुई जनालाई दिन सक्छ । बाँकी ८-९ जनालाई निजी क्षेत्रले नै रोजगारी दिने होला । त्यसकारणले हाम्रो त्यो लक्ष्य जति मानिसलाई हामी रोजगारी सिर्जना गर्छौं भन्ने कुराको लक्ष्य लिएका छौ त्यसका लागि पनि यहाँहरूको आवश्यकता नै छ,' उनले भने । 

अहिलेको सरकार रास्वपाले चुनावअघिको बाचापत्र हेरेर चल्ने सभापति लामिछानेको भनाइ थियो । जनताले पार्टीको बाचापत्र हेरेर नै भोट दिएको बताउँदै उनले  निजी क्षेत्रसँग सहकार्यको आवश्यकता रहेको बुझेको र त्यो कुरा बाचापत्रमा उल्लेख गरेको पनि उनले बताए ।

सभापति लामिछानेले उद्योगी व्यवसायीको मनोबल उच्च राख्नका लागि अन्तरक्रियामा आएको बताए । पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर भएको सुनेकाले पनि आश्वस्त पार्नका लागि आफूले परामर्श गर्न लागेको सुनाएका थिए । सरकारले सुशासन कायम गर्नका लागि चालेका कदमलाई सहज रूपमा लिइदिन आग्रह गर्दै लामिछानेले भने, 'हामी मिलेरै काम गर्ने हो । सरकारको कुनै व्यवसायीलाई हतोचाही बनाएर, उसको व्यवसायलाई धराशाही बनाएर जाने कुनै पनि उद्देश्य छैन ।'

निजी क्षेत्रलाई सरकारले साथमा लिएर जाने स्पष्ट पार्दै लामिछानेले थपे, 'कुनै पनि डरबाट तपाईहरू मुक्त हुनुहोला । कुनै पनि किसिमको डर कायम राख्न जरुरी छैन ।' विगतमा मुलुकको अर्थतन्त्र नै ढाल्ने गरी राज्यका संयन्त्र कब्जा गरी भएका कामहरूलाई भने छानबिनको दायरामा ल्याइने उनको भनाइ थियो । उनले त्यस्ता काममा सहयोग गर्न पनि उद्योगीहरूलाई आग्रह गरेका थिए । 

विगतमा राजनीतिक दलका गतिविधिले गर्दा उद्योगीहरूले पनि सीमा मिचेको सभापति लामिछानेको भनाइ थियो । आगामी दिनमा राज्यले नै उद्योगीहरूलाई नीतिबाट संरक्षण गर्ने उनले बताए । 'कहिलेकाही परिस्थितिले, कानुनी अप्ठ्याराले, राजनीतिक परिवेशले र अस्थिर राजनीतिको सिकार बनेर तपाईहरू बाध्य भएर कयौं राजनीतिक दल र नेताको ढोका ढक्ढक्याउन बाध्य हुनु भएको छ, उनीहरूको स्वार्थ पुरा गर्दिँदा खेरि तपाईहरूले कहिलेकाहि मूल्य र मान्यताको सीमा रेखा पार गर्नुभएको छ भन्ने हामी बुझ्दैनौं र,' लामिछानेले भने, 'तपाईंहरू निर्धक्क हुनुहोला, यसमा कुनै पनि चिन्ता गर्नुपर्ने आवश्यकता मैले देखेको छैन ।'

सभापति लामिछानेले अर्थतन्त्रसँग सम्बन्धित संस्थाहरूलाई कब्जा गर्ने परीपाटी अन्त्य गर्नका लागि सरकारले धावा बोलेको पनि बताए । ती कुरामा परिवर्तन चाहिएको र त्यसका लागि काम गरिएको उनले बताए । सरकारले चालेका कदमले निजी क्षेत्रलाई सहयोग पुग्ने लामिछानेको भनाइ थियो । 

राज्यले निजी क्षेत्रलाई कानुन र नीतिद्वारा नै संरक्षण गर्ने भएकाले उद्योगीहरूलाई कुनै पनि राजनीतिक दल र पार्टी कार्यालयको दैलो टेक्न पर्ने अवस्था नआउने सभापति लामिछानेको भनाइ थियो ।    

कान्तिपुर

Link copied successfully