यस्तै अवस्था कायम रहे सेवा नै बन्द गर्नुपर्ने जोखिम रहेको भन्दै संघले सरकारको ध्यानाकर्षण पनि गराएको छ ।
काठमाडौँ — आन्तरिक वायुसेवा कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ (नेपाल) ले वायुसेवा कम्पनीहरू गम्भीर आर्थिक संकटमा परेको उल्लेख गर्दै सरकारसँग तत्काल राहत तथा सहुलियत उपलब्ध गराउन आग्रह गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बिहीबार पत्रमार्फत संघले इन्धन मूल्यवृद्धि, घट्दो यात्रु संख्या र अन्तर्राष्ट्रिय परिस्थितिका कारण हवाई सेवा क्षेत्र अत्यन्त दबाबमा परेको जनाउँदै राहत मागेको हो ।
संघका अध्यक्ष प्रतापजंग पाण्डेका अनुसार कोरोना महामारीपछिको असर अझै पूर्ण रूपमा हट्न नसक्दा र पछिल्लो समय मध्यपूर्व क्षेत्रमा देखिएको अस्थिरताले हवाई इन्धनको मूल्य उल्लेखनीय रूपमा बढाएको छ। यसले वायुसेवा कम्पनीहरूको सञ्चालन खर्च तीव्र रूपमा बढाएको उनीहरुले भनेका छन् । इरानमा आक्रमण हुनुअघि आन्तरिक वायुसेवाको कुल खर्चको ३०–४० प्रतिशत रहेको इन्धन खर्च अहिले बढेर ४५–५० प्रतिशतसम्म पुगेको संघले जनाएको छ।
यसका साथै नेपाल आउने पर्यटक विशेषगरी पदयात्रामा आउनेहरुको संख्यामा कमी आउँदा आम्दानी घटेको र कम्पनीहरू दैनिक सञ्चालनमै समस्या भोगिरहेको उनीहरुले मन्त्रालयमा लेखेको पत्रमा उल्लेख छ । यस्तै अवस्था कायम रहे सेवा नै बन्द गर्नुपर्ने जोखिम रहेको भन्दै संघले सरकारको ध्यानाकर्षण पनि गराएको छ ।
नेपालमा हाल आन्तरिक उडान सञ्चालन गर्ने ९ वटा वायुसेवा कम्पनीहरू रहेका छन् । जसले दुर्गम क्षेत्रदेखि मुख्य सहरसम्म हवाई सेवा प्रदान गर्दै आएका छन्। यी कम्पनीहरूको सेवा निरन्तरता आम जनताका लागि महत्वपूर्ण भएकाले तत्काल सहयोग आवश्यक रहेको संघको भनाइ छ।
संघले नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमान्डौंसहित देशभरका विमानस्थलमा लिने ल्यान्डिङ, पार्किङ, नेभिगेशन, ह्याङ्गर लगायतका शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने माग गरेको छ । त्यस्तै, प्राधिकरणको विमानस्थल सेवा शुल्क नियमावली संशोधन गरी आन्तरिक उडानमा लाग्ने शुल्क घटाउनुपर्ने उल्लेख गरिएको छ ।
यसैगरी, हवाई सेवा उद्योगलाई प्राथमिकता प्राप्त उद्योगका रूपमा व्यवहार गर्दै कर छुट तथा प्रोत्साहन दिनुपर्ने तथा हाल अमेरिकी डलरमा लिइँदै आएका शुल्कहरू नेपाली रुपैयाँमै निर्धारण गर्नुपर्ने माग पनि पत्रमा गरिएको छ ।
मन्त्रालयमा दर्ता गराइएको पत्रमा सरकारले वायुसेवाहरुको माग समयमै सम्बोधन नगरे आन्तरिक वायुसेवा क्षेत्र अझै संकटतर्फ धकेलिने चेतावनी समेत दिएको छ ।
