सन् २०२५ मा चीनको सबैभन्दा ठूलो अटोमेकर रहेको बीवाईडी सन् २०२६ को सुरुवाती महिनामा चौथो स्थानमा।
काठमाडौँ — इलेक्ट्रिक भेहिकल (ईभी) निर्माता बीवाईडीको बिक्री ८ महिनादेखि निरन्तर घटिरहेको कम्पनीकै वित्तीय प्रतिवेदनले देखाएको छ । चिनियाँ बजारमा जिली, लिपमोटर, साओमी जस्ता प्रतिस्पर्धी थपिएसँगै बीवाईडीले घरेलु बजारमा दबाब खेपिरहेको हो ।
कम्पनीको पछिल्लो वित्तीय विवरण केलाउँदै रोयटर्सले चीनमा माग घटेका कारण अप्रिलमा यसको बिक्री १५.५ प्रतिशतले खुम्चिएको जनाएको छ । सन् २०२६ को पहिलो त्रैमासमा कम्पनीको कुल आम्दानी झन्डै १२ प्रतिशतले घटेर १५०.२ अर्ब युआनमा सीमित बनेको थियो ।
स्थानीय प्रतिस्पर्धी कम्पनीले सस्तो मूल्यका गाडी ल्याएपछि बीवाईडीको माग घटेको अनुमान गरिएको छ । चिनियाँ बजारमा सुस्तता छाए पनि अन्तर्राष्ट्रिय बजारमा भने कम्पनीले राम्रो प्रगति गरिरहेको द फाइनान्सियल टाम्सको ‘बीवाईडी प्रोफिट्स ड्रप...’ शीर्षकको समाचारमा उल्लेख छ ।
अप्रिलमा बीवाईडीको वैदेशिक निर्यात ३५ प्रतिशतले बढेको थियो । एक महिनामै कम्पनीले १ लाख ३० हजार युनिट सवारीसाधन विदेश निर्यात गरेको वित्तीय विवरणहरूमा उल्लेख छ । कम्पनीले सन् २०२६ सम्ममा विदेशमा १५ लाखभन्दा बढी सवारीसाधन बिक्री गर्ने लक्ष्य लिएको छ ।
सीएनबीसी र अन्य सञ्चारमाध्यमका अनुसार चीन सरकारले विद्युतीय सवारी खरिदमा दिँदै आएको कर छुट कटौती गरेकाले पनि बीवाईडीको घरेलु मागमा कमी आएको स्थानीय सञ्चारमाध्यमले औंल्याएका छन् । अहिले बीवाईडीले प्रिमियम मोडल र छिटो चार्ज हुने ब्याट्री प्रविधिमा लगानी बढाएको छ ।
कम्पनीले घरेलु बजारमा बेहोरेको क्षतिलाई विश्वव्यापी विस्तार र नयाँ प्रविधिमार्फत सन्तुलनमा राख्ने प्रयास गरेको विश्लेषण भइरहेका छन् । तर सन् २०२५ मा चीनको सबैभन्दा ठूलो अटोमेकर रहेको बीवाईडी सन् २०२६ को सुरुवाती महिनामा चौथो स्थानमा झरेको हो ।
स्मार्टफोन बनाउने साओमीले दुई वर्षअघि ‘स्पिड अल्ट्रा सेभेन’ नामक आफ्नो पहिलो ईभी सार्वजनिक गरेपछि बजारमा ठूलो हलचल पैदा भएको थियो । यसले विशेषगरी युवा ग्राहकलाई बीवाईडीको विकल्प प्रदान गरेको छ । साओमीले सन् २०२५ मा कुल ४ लाख ११ बजार ८२ वटा स्मार्ट ईभी बिक्री गरेको वेबसाइटमा उल्लेख गरेको छ ।
सन् २०२६ को पहिलो दुई महिनामा साओमीले ५९ हजारभन्दा बढी युनिट बिक्री गरेको र यो गत वर्षको सोही अवधिको तुलनामा ४८ प्रतिशले बढी भएको जनाएको छ । ‘मार्च २०२६ मा सार्वजनिक नयाँ जेनेरेसनको ईभीका लागि बुकिङ खुला गर्दा ३४ मिनेटमै १५ हजारभन्दा बढी र पहिलो ३ दिनमा ३० हजारभन्दा बढी अर्डर प्राप्त भएका थिए,’ कम्पनीको दाबी छ ।
लिपमोटर, जिली, चेरीजस्ता अन्य ब्रान्डले पनि प्रविधि र फिचरमा बीवाईडीलाई उछिनेको कतिपयको धारणा छ । विशेषगरी ‘स्मार्ट ड्राइभिङ’ र ‘सफ्टवेयर’ को सन्दर्भमा बीवाईडी अहिले पछाडि परेको सीएनबीसी–टीभी १८ को विश्लेषण छ । हुवावेले निर्माण गरेका सफ्टवेयर र हार्डवेयर समावेश गरिएका नयाँ ईभी अहिले चीनमा लोकप्रिय छन् । तथापि आफ्नै ब्याट्री, सेमिकन्डक्टर र मोटर निर्माण क्षमता भएकाले बीवाईडी आफ्ना प्रतिस्पर्धीभन्दा बलियो मानिन्छ ।
हङकङका लगानी विशेषज्ञ चार्ल्स फाङलाई उद्धृत गर्दै सीएनबीसी–टीभी १८ ले बीवाईडीका उत्पादन पुराना भएको जनाएको छ । फाङका अनुसार कुनै पनि कम्पनीले सधैंभरि आफ्नो प्रविधि र उत्पादन चक्रलाई उस्तै बलियो राख्न सक्दैन र बीवाईडीका हकमा पनि त्यही भइरहेको हो ।
नयाँ प्रविधि र मोडलतर्फ ग्राहक आकर्षित भइरहँदा बीवाईडीले नयाँ ‘ब्लेड ब्याट्री २.०’ र ‘गड्स आई’ जस्ता प्रविधि निर्माणमा जोड दिइरहेको बताइन्छ । सन् २०२५ को अन्त्यमा चीन सरकारले न्यु इनर्जी भेहिकल खरिदमा ५ प्रतिशत कर छुट खारेज गरेकाले पनि मागमा कमी आएको अनुमान गरिन्छ ।
घरेलु बजार बीवाईडीले अहिले आफ्नो रणनीति परिवर्तन गर्दै अन्तर्राष्ट्रिय बजार (विशेषगरी युरोप) मा ध्यान केन्द्रित गरिरहेको छ । ‘कम्पनीले ब्लेड ब्याट्री, सुपर डीएम प्रविधि जस्ता नवप्रवर्तनमार्फत समग्र उद्योगमै नयाँ मानक स्थापना गर्न सकेको छ,’ कम्पनीले वेबसाइटमा लेखेको छ, ‘अटो, रेल ट्रान्जिट, नवीकरणीय ऊर्जा र इलेक्ट्रोनिक्समा विविधीकरण गरेका छौं ।’
प्रतिस्पर्धामा टिकिरहन बीवाईडीले हाल ‘अल्ट्रा–फास्ट’ चार्जिङ ब्याट्री र आफ्नै अत्याधुनिक ड्राइभिङ असिस्टेन्ट सिस्टममा पनि लगानी बढाएको छ । विभिन्न देशहरूमा आफ्नो उत्पादन केन्द्र स्थापना गर्ने र उन्नत प्रविधिमा ध्यान केन्द्रित गर्ने रणनीति लिएको देखिन्छ । – एजेन्सीको सहयोगमा
