सडक भासिएर भोटेकोशी नदीमा मिसिएपछि सवारी आवागमन ठप्प छ भने दर्जनौं कन्टेनर खासामा अड्किएका छन् ।
What you should know
सिन्धुपाल्चोक —
अरनिको राजमार्गअन्तर्गत कोदारी–तातोपानी खण्डमा पर्ने इको पहिरोका कारण तातोपानी नाका चार दिनदेखि पूर्ण रुपमा बन्द भएको छ ।
सडक भास्सिएर भोटेकोशी नदीमा मिसिएपछि सवारी आवागमन ठप्प छ भने दर्जनौं कन्टेनर खासामा अड्किएका छन् । भोटेकोशी गाउँपालिका-२ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार लगातारको वर्षासँगै बुधबार माथिबाट आएको लेदोले सडक पुरिएसँगै सडक भास्सिएर खसेको थियो ।
ठूलो क्षति भएकाले सामान्य मर्मतले सडक खुल्ने सम्भावना छैन । ठूला मेसिन प्रयोग नगरी आवागमन सञ्चालन असम्भव देखिएको उनले बताए । 'सडकमाथि रहेका बस्तीका सयौं घर पनि जोखिममा परेका छन्,' वडाध्यक्ष श्रेष्ठले भने ।
भोटेकोशी-२ तातोपानीबाट चीन जोड्ने कोदारी राजमार्ग (२६ किलोमिटर) सडक जीर्ण बन्दा स्थानीय र व्यवसायी आजित बनेका छन् । ५७ वर्षअघि जोडिएको बाह्रबिसे-तातोपानी (२६ किमि) सडकको अवस्था खराब छ ।
'अर्बौं राजस्व संकलन गर्छ तर पनि यो ठाउँलाई सरकारले बेवास्ता गर्यो । बल्लतल्ल भएको ४९ करोड ५० लाखको ठेक्का सम्झौता पनि काम सुरु गरिसकेको अवस्थमा रद्द गरिएको छ,' श्रेष्ठले भने ।
यसअघि सडक डिभिजन कार्यालय चरिकोटले करिब ४९ करोड ५० लाख रुपैयाँको ठेक्का सम्झौता गरी पहिरो नियन्त्रणका लागि पिल्लर निर्माण सुरु गरिसकेको थियो । तर, परराष्ट्र मन्त्रालयबाट आएको पत्रपछि काम एकाएक रोकियो । पत्रअनुसार उक्त खण्डको निर्माण तथा पहिरो नियन्त्रण चिनियाँ कम्पनीले गर्ने भनिएको छ । तर, चिनियाँ कम्पनी निर्माणस्थलमा नआएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
चरिकोट सडक डिभिजन कार्यालय प्रमुख नारायण भण्डारीले ठेक्का लगाएर काम अगाडि बढाइरहेको परराष्ट्र मन्त्रालयको पत्र आएपछि काम स्थगित गरेका जानकारी दिए । यसअघि यहाँ टीएस एन्ड कन्स्ट्रक्सनले कामको जिम्मा पाएको थियो । उसले लगभग १५ प्रतिशत काम सक्दा पत्र आएपछि काम रोकिएको हो । 'परराष्ट्र मन्त्रालयको पत्र आएपछि काम रोकेका हौं, काम गरिरहेको कम्पनीसाग ठेक्का तोडिएको छ,' भण्डारीले भने ।
स्थानीय तह, जिल्ला प्रशासन र सरोकारवाला निकायले पहिरो नियन्त्रणका लागि पटक–पटक पहल गर्दै आएका थिए । पूर्वसांसद माधव सापकोटा, भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठ लगायतले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बजेट माग गरेका थिए ।
कुहिन थाले फलफूल
नाका बन्द हुँदा व्यापारिक गतिविधि पूर्ण रुपमा ठप्प भएको छ । खासामा अड्किएका कन्टेनरमा रहेका सामग्री कुहिन थालेका छन् ।
व्यापारी शारदाप्रसाद पराजुलीले चीनबाट ल्याएको १२ कन्टेनर स्याउ बिग्रने अवस्थामा पुगेको बताए । 'यत्रो दिन भइसक्यो, नाकाको हालत यो छ, दर्जनभन्दा बढी कन्टेनर इकोपारि थन्किएका छन्,' उनले भने, 'बर्खामा झन् के हुने हो ? सडक नखुले स्याउ सबै कुहिन्छ ।' रेडिमेड सामग्री र विभिन्न आयोजनाका उपकरण पनि अलपत्र परेको उनले बताए ।
