संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत यो रणनीतिले नेपाललाई परम्परागत पदयात्रा र साहसिक पर्यटनमा मात्र सीमित नराखी विश्वस्तरीय आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
What you should know
काठमाडौं — सरकारले पर्यटन क्षेत्रलाई नयाँ दिशामा रूपान्तरण गर्ने उद्देश्यसहित ‘राष्ट्रिय आरोग्य पर्यटन रणनीति (२०२६–२०३५) तथा कार्ययोजना (२०२६–२०३०)’ हालै सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत यो रणनीतिले नेपाललाई परम्परागत पदयात्रा र साहसिक पर्यटनमा मात्र सीमित नराखी विश्वस्तरीय आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । आरोग्य पर्यटन के हो ? नेपालमा यसको सम्भावना कस्तो छ ? पाँच प्रश्नोत्तरमा बुझौं :
के हो आरोग्य पर्यटन ?
नेपालमा लामो समयदेखि पर्यटन क्षेत्र मुख्यतः पर्वतारोहण, पदयात्रा र साँस्कृतिक भ्रमणमा केन्द्रित रहँदै आएको छ । यसले देशको पर्यटनलाई निश्चित मौसममा मात्रै सीमित गरिरहेको सरकारको निष्कर्ष छ । त्यसैले पर्यटनलाई विविधीकरण गर्दै वर्षभर चल्ने, उच्च मूल्य सिर्जना गर्ने र दिगो अर्थतन्त्र निर्माण गर्ने उद्देश्यसहित आरोग्य पर्यटनलाई प्राथमिकतामा राखिएको हो । विश्वभर तनाव, मानसिक स्वास्थ्य समस्या र अस्वस्थ जीवनशैली बढ्दै गएको अवस्थामा मानिसहरू शान्त, प्राकृतिक र आध्यात्मिक गन्तव्य खोजिरहेका छन् । नेपालमा रहेको हिमालय, शान्त वातावरण, प्राचीन ध्यान परम्परा र आयुर्वेदिक ज्ञानले यसलाई उपयुक्त गन्तव्य बनाउने सरकारको योजना छ ।
रणनीतिक लक्ष्य र दीर्घ दृष्टि के छन् ?
रणनीतिले सन् २०३० र २०३५ सम्मका लागि स्पष्ट लक्ष्यहरू तय गरेको छ । सन् २०३० सम्म कुल पर्यटक आगमनमध्ये कम्तीमा ११ प्रतिशत आरोग्य पर्यटक बनाउने लक्ष्य छ । त्यसैगरी सन् २०३५ सम्म पर्यटक सन्तुष्टिस्तर १० मा ८.५ पुर्याउने योजना रहेको छ । यसका साथै पाँच प्रमुख पर्यटन क्षेत्रमा एकीकृत आरोग्य केन्द्र स्थापना गर्ने, कम्तीमा २ हजार दक्ष जनशक्ति उत्पादन गर्ने र रोजगारीमा ३० प्रतिशत हिस्सा महिला, युवा र स्थानीय समुदायलाई दिने लक्ष्य राखिएको छ । सरकारले यसलाई केवल पर्यटन परियोजना नभई आर्थिक रूपान्तरणको माध्यमका रूपमा लिएको छ ।
नेपाललाई आरोग्य क्लस्टरमा कसरी विभाजन गरिएको छ ?
रणनीतिले देशलाई विभिन्न भौगोलिक र साँस्कृतिक आधारमा आरोग्य क्लस्टरमा विभाजन गरेको छ । काठमाडौं उपत्यकालाई आध्यात्मिक र साँस्कृतिक आरोग्य केन्द्रका रूपमा विकास गर्ने योजना छ । यहाँ योग, ध्यान, स्पा र साँस्कृतिक अनुभवलाई एकीकृत गरिनेछ । पोखरा र अन्नपूर्ण क्षेत्रलाई ‘योग राजधानी’ र प्रकृतिमा आधारित उपचार केन्द्रका रूपमा विकास गरिनेछ । हिमाल, ताल र शान्त वातावरणलाई उपचार र ध्यानको माध्यम बनाइनेछ । लुम्बिनीलाई बुद्ध जन्मस्थलको रूपमा मात्र नभई आध्यात्मिक आरोग्य धामका रूपमा विकास गर्ने योजना छ, जहाँ मठमा आधारित ध्यान र रिट्रीट कार्यक्रम सञ्चालन गरिनेछन् । त्यस्तै हिमाली क्षेत्रमा ध्यान, साधना र वेलनेस ट्रेकिङ कार्यक्रम सञ्चालन गर्ने, चितवन र तराई क्षेत्रमा प्राकृतिक चिकित्सा र जडीबुटी उपचार केन्द्र विस्तार गरिनेछ ।
आरोग्य सेवा र प्याकेजहरू के के छन् ?
रणनीतिले परम्परागत पर्यटनभन्दा फरक नयाँ प्रकारका सेवा र प्याकेजहरू विकास गर्ने प्रस्ताव गरेको छ । यसमा पदयात्रासँगै योग र ध्यान समावेश गरिएको ‘वेलनेस ट्रेकिङ’, जडीबुटी र पञ्चकर्ममा आधारित ‘हिमालयन आयुर्वेद डिटक्स,’ तथा मौसम अनुसार तयार गरिने विशेष कार्यक्रमहरू समावेश छन् । मनसुनमा डिटक्स कार्यक्रम, जाडोमा इम्युनिटी बुस्टिङ र वसन्त ऋतुमा शरीर र मनलाई पुनर्जीवित गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । साथै, थर्मल स्पा, वन विहार र उच्च हिमाली ध्यान केन्द्रलाई पनि विस्तार गरिनेछ । यसले पर्यटकलाई केवल भ्रमण नभई स्वास्थ्य र मानसिक सन्तुलनको अनुभव दिने अपेक्षा गरिएको छ ।
लगानी, पूर्वाधार र ब्रान्डिङ कसरी गरिनेछ ?
आरोग्य पर्यटन विकासका लागि ठूलो मात्रामा लगानी आवश्यक पर्ने सरकारको अनुमान छ । यसका लागि सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेललाई मुख्य आधार बनाइनेछ । निजी क्षेत्रलाई रिसोर्ट, स्पा, आरोग्य पार्क र वेलनेस केन्द्रमा लगानी गर्न प्रोत्साहन दिइनेछ । लगानीकर्तालाई कर छुट, सहुलियत ऋण र प्रशासनिक सहजीकरण प्रदान गरिनेछ । साथै विदेशी लगानी आकर्षित गर्न अन्तर्राष्ट्रिय आरोग्य चेन र ब्रान्डहरूलाई नेपालमा प्रवेश गराउने योजना छ । सन् २०२७ देखि ‘आरोग्य नेपाल’ नामक अन्तर्राष्ट्रिय प्रवर्द्धन अभियान सुरु गरिनेछ ।
आरोग्य पर्यटनमा नेपालको ऐतिहासिक र साँस्कृतिक आधार के हो ?
नेपालको आरोग्य पर्यटनको जरा प्राचीन परम्परामा आधारित छ । हिमालय क्षेत्रलाई ऋषिमुनिहरूले ध्यान, तपस्या र साधनाको भूमि मान्दै आएका छन् । आयुर्वेद र जडीबुटी उपचार पनि सदियौँदेखि यहाँ प्रयोग हुँदै आएको छ । सन् १९६०-७० को दशकदेखि पश्चिमी पर्यटकहरू शान्ति र अध्यात्म खोज्दै नेपाल आउन थालेपछि यसले आधुनिक पर्यटनको रूप लिन थालेको हो । पछिल्लो दुई दशकमा स्पा र योग केन्द्रहरूको विकासले यसलाई व्यावसायिक रूप दिएको छ । पर्यटन मन्त्रालयका सहसचिव इन्दु घिमिरेका अनुसार, नेपालसँग पर्याप्त प्राकृतिक र सांस्कृतिक स्रोत भए पनि यसअघि व्यवस्थित नीति र पूर्वाधारको अभाव थियो । नयाँ रणनीतिले यी कमजोरीहरूलाई सम्बोधन गर्दै नेपाललाई ‘दक्षिण एसियाकै प्रमुख हिलिङ हब’ बनाउने लक्ष्य लिएको सहसचिव घिमिरेले बताइन् ।
