उनले आगामी बजेटमा पैसा खन्याएरभन्दा पनि नीतिगत व्यवस्था ल्याएर सुशासनको झल्को दिने बताएका छन् ।
काठमाडौं — अर्थमन्त्री स्वर्णिम वाग्लेले ६६ खर्बको अर्थतन्त्रको अहिलेको आकार आर्थिक वर्ष ०८३/८४ मा ७३/७४ खर्ब रुपैयाँ पुग्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आगामी आर्थिक वर्षको बजेटको पूर्वसन्ध्यामा 'जग बसाल्ने बजेटः बाटो के, कसरी ?' विषयमा बिहीबार आयोजित कार्यक्रममा उनले आगामी बजेटमा पैसा खन्याएरभन्दा पनि नीतिगत व्यवस्था ल्याएर सुशासनको झल्को दिने बताएका छन् ।
उनले आयकर र भन्सार दर उच्च भएको विषयमा पुनरावलोकन गरिने र करको बोझ घटाएर खपत वृद्धि गर्ने लक्ष्यका साथ बजेट ल्याउने तयारी भइरहेको स्पष्ट पारे । व्यक्तिगत आयकर ३९ प्रतिशत पुग्ने गरेको समेत उनले जनाए । ‘कर घट्दा राजस्व घट्छ भन्ने परम्परागत सोचमा सरकार छैन,’ उनले भने, ‘ करको खदर घटाउँदा पनि राजस्व बढेको अवस्था पनि छ ।’ सरकारले खर्च गर्न नसक्दा पछिल्लो समय वैदेशिक अनुदान घट्दै गएको समेत उनको भनाइ छ ।
गल्ती नगरेका उद्योगी व्यापारी आत्तिनु पर्दैन
अर्थमन्त्री वाग्लेले फरक प्रसंगमा गल्ती नगरेका निजी उद्योगी व्यापारीहरू आत्तिनु नपर्ने बताएका छन् । ‘उद्ममी तथा व्यवसायीको आवरणमा अपराधी गतिविधि गरिहरेका छन् भने छुट पाउने छैन्,’ उनले भने, ‘आपराधिक काम नगरेकाहरू आत्तिनु पर्दैन ।’
रुग्ण बनेका आयोजना, शक्ति र पहुँचका आधारमा बजेटमा समावेश भएका योजना तथा कार्यक्रमहरूलाई बजेटबाट हटाइने समेत उनले बताए । ‘आसेपासे पुँजीवाद झल्किने कार्यक्रम कटौती गरी सुशासनको सन्देश दिनुपर्छ,’ उनले भने, ‘माघदेखि नै हेर्न पाएको भए यसपालिको बजेटमा ठूलै ‘सर्जरी’ गर्न सकिन्थ्यो । यद्यपि, अहिले पनि हामीले अध्ययन गरिरहेका छौं ।’
आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले करिब १९ खर्ब रुपैयाँ बराबरको बजेटको सिलिङ दिएकामा त्यहीअनुसार योजनाहरु पेस गरिरहेको उनले बताए । उनले भुकम्पपछि कुल गार्हस्थ उत्पादनको अनुपातमा बजेटको आकार बढी आउने गरेको र त्यसलाई सामान्य रुपमा ल्याउन नसकेको समेत बताए ।
‘धेरै दायित्वहरू बहन गर्दै गयौं । त्यसलाई निरन्तरता दिँदै गयौं र आजका दिनमा डरलाग्दो अवस्थामा हामी छौं,’ उनले भने ।
आगामी आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर र रोजगारीलाई केन्द्रित गर्दै निजी तथा प्रवासीको लगानी आकर्षित गर्न नीति लिइने उनको भनाई छ । मध्यम वर्गको आधारभुत आवश्यकतलाई जोड दिइएको समेत उनले बताए ।
पूर्वअर्थमन्त्री रामेश्व खनालले बजेटको आकार ठूलो ल्याउनु नपर्ने भए पनि अलिकति महत्वाकांक्षी हुनैपर्ने बताए । त्यसका लागि सरकारले सुधारका कामहरु धेरै गर्नुपर्ने बताए । ‘विगतमा अंकमा र नारामा केन्द्रित बजेट हुन्थ्यो, सिमान्त मात्रामा सुधारका र कार्यान्यवनका काम हुन्थ्यो,’ उनले भने, ‘आगामी बजेट यर्थाथपरक बनाउनुपर्छ ।’ पूर्वअर्थमन्त्री खनालले आर्थिक स्थिरता र सुधार : बजेटका प्राथमिकता र मार्गहरू बारे प्रस्तुतीकरण गरेका थिए ।
सेजनका अध्यक्ष भागवत भट्टराईले बजेट निर्माण तथा कार्यान्वन, एक दशक करका नीतिहरू स्थिर राख्नुपर्नेलगायतबारे कार्यक्रमका उदेश्यबारे जानकारी दिए । सेजनले तथ्यमा आधारित कार्यक्रम तथा नीतिहरूबार गम्भीर बहस गरिरहेको समेत उनले बताए ।
