पर्वतारोहण आम्दानीमा ऐतिहासिक उपलब्धि

सगरमाथासहित २९ वटा हिमालबाट बिहीबारसम्म १ अर्ब १६ करोड सलामी दस्तुर उठ्यो ।

वैशाख १७, २०८३

सुरज कुँवर

Historic achievement in mountaineering income

What you should know

काठमाडौं — विश्वव्यापी भू-राजनीतिक तनाव र पश्चिम एसियामा जारी युद्धको त्रासबीच पनि नेपालको पर्वतारोहण क्षेत्रले यस वसन्तयाममा उल्लेखनीय सफलता हासिल गरेको छ । विशेषगरी विश्वकै सर्वोच्च शिखर सगरमाथा केन्द्रित आरोहण गतिविधिले कीर्तिमान कायम गर्दै साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा पुनः उचाइमा पुर्‍याएको छ ।

पर्यटन विभागका अनुसार, यस वसन्त सिजनको बिहीबारसम्म ७७ देशका कुल १ हजार ५० आरोहीले अनुमति लिइसकेका छन् । तीमध्ये २५६ महिला र ७९४ पुरुष रहेका छन् । यसपटक सलामी दस्तुर तिरेर १६ जना नेपाली पनि सगरमाथा आरोहणमा गएका छन् । विभागले १७ फागुनदेखि वसन्तकालीन हिमाल आरोहणको अनुमति खुला गरेको थियो ।

सगरमाथा आरोहणका लागि मात्रै यसपटक ४६४ आरोहीले अनुमति लिएका छन् । जसमा १०० महिला र ३६४ पुरुष छन् । ५५ देशका आरोही सहभागी भएको यस अभियानबाट १ अर्ब १ करोड २८ लाख रुपैयाँभन्दा बढी सलामी दस्तुर संकलन भएको छ । विभागका निर्देशक हिमाल गौतमका अनुसार, जुन अहिलेसम्मकै उच्च हो ।

सगरमाथाबाहेक अन्य २८ वटा प्रमुख हिमालमा पनि उल्लेखनीय संख्यामा आरोही पुगेका छन् । विभागले बिहीबार साँझ जारी गरेको तथ्यांकअनुसार सगरमाथाबाहेक अरु २८ वटा हिमालमध्ये ल्होत्सेमा १११, आमा डब्लममा ९२, मकालुमा  ६२, नुप्सेमा ५२, हिमलुङ हिमालमा ४६, कञ्चनजंघामा ३६, धौलागिरीमा ३०, अन्नपूर्णमा २७ र सरिबुङ हिमालमा १८ जनाले अनुमति लिएका छन् । यी सबै हिमालबाट विभागले १ अर्ब १६ करोड सलामी दस्तुर संकलन गरेको छ । यो दस्तुरको अंक पनि ७६ वर्षयताकै उच्च रहेको विभागले जनाएको छ ।

पर्वतारोहीहरूका अनुसार, पदयात्रा क्षेत्रमा केही गिरावट देखिए पनि पर्वतारोहणमा वृद्धि हुनुमा ‘जीवनमा एकपटक सगरमाथा’ भन्ने अभियानको भूमिका छ ।

सगरमाथा आरोहणमा सर्वाधिक अनुमति जारी हुन थालेपछि सरकारले यस वर्ष (२०२६) देखि सगरमाथा आरोहणका लागि विदेशीले वसन्तयाममा १५ हजार अमेरिकी डलर (२२ लाख ७७ हजार रुपैया ) सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था लागु गरेको थियो । जुन अघिल्लो वर्ष सन् २०२५ सम्म विदेशी आरोहीका लागि ११ हजार (१६ लाख ७९ हजार रुपैयाँ) डलर मात्रै थियो । विनिमय दरमा भएको वृद्धिले पनि राजस्व बढ्न मद्दत गरेको छ । 

नेपाली नागरिकले भने सोही सिजनमा १ लाख ५० हजार रुपैयाँ मात्रै तिर्नुपर्छ । अन्य सिजन (शरद, हिउँद र वर्षा) मा विदेशी आरोहीले ३ हजार ७५० देखि ७ हजार ५०० अमेरिकी डलरसम्म तिर्नुपर्ने हुन्छ । नेपालीका लागि ३७ हजार ५०० देखि ७५ हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ ।

विभागका अघिकारीहरूले अझ २ सातासम्म अनुमति जारी हुने भएकाले सहरमाथा आरोहणमा संख्या अझै बढ्न सक्ने बताएका छन् । आरोहण बढ्ने भएकाले सन् २०२६ नेपालको पर्वतारोहण इतिहासमै नयाँ उचाइ कायम गर्ने वर्ष बन्ने अपेक्षा गरिएको निर्देशक गौतमले बताए । सगरमाथामा सबैभन्दा धेरै २०२३ मा ४७८ वटा आरोहण अनुमति जारी भएको थियो । 

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully