विभागले संस्थापक सेयरधनीसँग चुक्ता पुँजीबापत कम्पनीमा भुक्तानी गरेको बाहेक अतिरिक्त शुल्क (प्रिमियम) बापत बुझाइएको रकमको विस्तृत विवरण मागेको हो
काठमाडौँ — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सात वटा माइक्रो इन्स्योरेन्स (लघु बिमा) र हिमालयन रि–इन्स्योरेन्सका संस्थापक सेयरधनीसँग अंकित मूल्यबाहेक अतिरिक्त मूल्य (प्रिमियम) मा सेयर खरिद गरेको विवरण मागेको छ ।
विभागले बिहीबार सूचना जारी गर्दै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी र हिमालयन रि–इन्स्योरेन्स स्थापना हुँदा संस्थापक सेयर खरिद गर्ने सेयरधनीसँग यस्तो विवरण मागेको हो ।
विभागले संस्थापक सेयरधनीसँग चुक्ता पुँजीबापत कम्पनीमा भुक्तानी गरेको बाहेक अतिरिक्त शुल्क (प्रिमियम) बापत विभिन्न व्यक्ति तथा संस्थाको बैंक खातामा बुझाएको रकमका हकमा केकति रकम, ककसका नाममा रहेको, केकति नम्बरको, के कुन बैंक तथा वित्तीय संस्थाको खातामा, के कुन जम्मा गरेको हो भन्ने विवरण फरक नपर्ने गरी बुझाउन भनेको हो । यसका लागि विभागले १५ दिनको म्याद दिएको छ ।
‘बिमा प्राधिकरणबाट अनुमति प्राप्त गर्ने समयमा उल्लिखित कम्पनीमा संस्थापक सेयर खरिद गर्ने संस्थापक सेयरधनीले चुक्ता पुँजीबापत कम्पनीमा भुक्तानी गरेको बाहेक अतिरिक्त शुल्क (प्रिमियम) बापत विभिन्न व्यक्ति तथा संस्थाको बैंक खातामा बुझाएको रकमका हकमा केकति रकम, ककसका नाउँमा रहेको, केकति नम्बरको, के कुन बैंक तथा वित्तीय संस्थाको खातामा, के कुन जम्मा गरेको हो भन्ने समेतका विवरण फरक नपर्ने गरी विभागको कार्यालयमा यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र बुझाइदिनुभई अनुसन्धान कार्यमा सहयोग गरी दिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।
उल्लिखित कम्पनीको स्थापना, सेयर वितरण प्रक्रियालगायत सम्बन्धमा विभागबाट अनुसन्धान भइरहेको पनि पत्रमा खुलेको छ ।
बिमा प्राधिकरणको अनुमति पाएपछि जेठ २०७८ मा १० अर्ब पुँजीसहित हिमालयन रि–इन्स्योरेन्स कम्पनी स्थापना भएको हो । जसमा सबैभन्दा बढी सेयर लगानी शंकर समूह र भट्टको छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पनि हिमालयन रि–इन्स्योरेन्सका १ सय ११ संस्थापक लगानीकर्तामध्येका एक हुन् । सिरोहियाले १० करोड रुपैयाँ तिरेर हिमालयन रि–इन्सोरेन्सको १० लाख कित्ता (कम्पनीको कुल सेयरको १ प्रतिशत) सेयर अंकित मूल्य एक सयका दरले खरिद गरेका थिए । नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकले पनि हिमालयन रि–इन्स्योरेन्सको संस्थापक सेयर किनेका छन् ।
हिमालयन रि–इन्स्योरेन्सबाहेक ११ मंसिर २०७९ मा प्राधिकरणले जीवन बिमा ३ र निर्जीवन बिमा ४ गरी सात वटा लघुबिमा कम्पनीलाई अनुमति दिएको थियो ।
यसअनुसार जीवन बिमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स छन् । निर्जीवन बीमातर्फ ट्रस्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स छन् ।
प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालको कार्यकालमा सात लघुबिमा र हिमालयन रि–इन्स्योरेन्स कम्पनीको लाइसेन्स वितरण भएको थियो ।
यसरी लाइसेन्स वितरण प्रक्रिया र त्यति बेलका संस्थापक सेयरधनीलाई भट्ट र उनको समूहले प्रिमियमा सेयर बिक्रीवितरण गरेको भन्दै विभिन्न अनुसन्धानकारी निकायका उजुरी परेको थियो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्ट र शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालको विवादास्पद सेयर कारोबारको सम्बन्धमा अध्ययन गरिरहेको छ ।
सात वटा लघु बिमा कम्पनी र हिमालयन रि–इन्स्योरेन्स कम्पनीका मुख्य सेयरधनी भट्ट र अग्रवाल नै हुन् । विवादास्पद सेयर कारोबार सम्बन्धका छानबिनका क्रममा प्रहरीले भट्ट र अग्रवाललाई हिरासतमा राखेको छ ।
