चक्रपथ दोस्रो खण्ड विस्तारका लागि कार्यान्वयन सम्झौतामा हस्ताक्षर

चालु आर्थिक वर्षभित्रै ठेक्का सम्झौता गरेर निर्माण थाल्ने आयोजनाको तयारी 

वैशाख १७, २०८३

विमल खतिवडा

Implementation agreement signed for expansion of second section of Ring Road

काठमाडौँ — चक्रपथ दोस्रो खण्ड विस्तारका लागि आयोजना कार्यान्वयन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यससँगै सडक विभागलाई ठेक्का प्रक्रिया अघि बढाउन बाटो खुलेको हो । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

कोटेश्वरदेखि कलंकीसम्म १०.३९ किमि सडक २०६९ मा निर्माण सुरु भएपछि काम सक्न ६ वर्ष लागेको थियो । कोटेश्वर–कलंकी पहिलो खण्डको ठेक्का २०६९ मा सुरु भई २०७५ मा निर्माण सकिएको थियो । त्यसलगत्तै ८.२ किलोमिटरको दोस्रो खण्ड (कलंकी–वसुन्धरा) विस्तार सुरु हुनुपर्नेमा नेपाल सरकार र त्यसपछि चीनको ढिलाइले गर्दा कामले गति लिन सकेको थिएन । 

सम्झौतापत्रमा हस्ताक्षरपछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको र नेपालको पूर्वाधार विकासमा चीन सरकारबाट थप लगानीको अपेक्षा रहेको उनले सुनाए । त्यस्तै चिनियाँ राजदूत माओमिङले उपयुक्त लगानीको वातावरण बनेमा धेरै चिनियाँ टोली नेपालमा लगानी गर्न इच्छुक रहेको बताए । कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएकाले निर्माणको काम अघि बढाउन सहज भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामहरि पोखरेलको भनाइ छ । 

दोस्रो खण्ड विस्तारका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । पहिलो खण्ड विस्तार सम्पन्न भएको ८ वर्षपछि बल्ल दोस्रो खण्ड विस्तारको काम अघि बढ्न लागेको हो । कलंकी–वसुन्धरा खण्डको ८.२ किलोमिटरमा सडक विस्तार गर्न लागिएको हो । कलंकीबाट वसुन्धरा चोक नजिकसम्म मात्र सडक विस्तारको काम हुनेछ । चीनसँग सन् २०१८ मा यो सडक खण्ड विस्तारका लागि जीटूजी सम्झौता भएको थियो । चीन सरकारले पूर्वतयारीका काम नटुंग्याई नआउने अडान लिँदै आएको थियो । 

यहीबीचमा कोरोना महामारीका कारण थप काम अघि बढ्न सकेको थिएन । नेपाल सरकारलाई पूर्वतयारीको काम सक्न पनि बीचमा निकै सकस परेको थियो । त्यसपछि फेरि प्रक्रिया लम्बिँदै जाँदा निर्माणको काम अहिलेसम्म सुरु हुन नसकेको हो । बीचमा चीन सरकारले निर्माण सामग्रीमा कर छुटको निर्णय गर्नुपर्ने माग अघि सारेपछि केही ढिलाइ हुन गएको थियो । 

१२ फागुनमा मन्त्रिपरिषद् बैठकबाट सरकारले निर्माण सामग्री र भन्सार छुटको निर्णय गरेसँगै चक्रपथ दोस्रो खण्ड विस्तारका लागि थप प्रक्रिया अघि बढाउन बाटो खुलेको थियो । वैदेशिक सहायता नीतिअनुसार अनुदानको रकम कर प्रयोजनमा नलगाइने भएकाले त्यहीअनुसार उक्त खण्डको निर्णय मन्त्रिपरिषद्बाट गराएको सडक विभागको भनाइ छ । 

आयोजना कार्यान्वयनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएकाले अब चिनियाँ प्राविधिकले दूतावासमार्फत सडक विभागमा डिजाइन पेस गर्ने सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनप्रसाद अर्यालले बताए । यसका लागि पहिला मन्त्रालयले विभागलाई कार्यान्वयन सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी गराउनेछ । 

‘सडक विभागमा फाइनल डिजाइन पेस भएपछि केही थपघट गर्न परे तत्काल सुझाव दिएर त्यसलाई अन्तिम रूप दिन्छौं,’ अर्यालले भने, ‘त्यसपछि डिजाइन र बिड डकुमेन्ट यताबाट स्वीकृत गराएर पठाएपछि चीनबाट निर्माण कम्पनी र परामर्शदाता छान्ने काम सुरु हुन्छ ।’ चक्रपथ दोस्रो खण्डको सर्भे गर्न ६ वैशाख २०८२ मा चिनियाँ प्राविधिक टोली नेपाल आएको थियो । 

साढे दुई महिना लगाएर टोलीले डिजाइनका लागि सर्भे गरेको थियो । ‘अब निर्माणमा जान धेरै काम बाँकी छैन,’ अर्यालले भने, ‘चालु आर्थिक वर्षभित्र ठेक्का सम्झौता भएर निर्माण व्यवसायी कार्यस्थलमा परिचालन हुनेछन् ।’ चिनियाँ प्राविधिकले तयार पारेको डिजाइनअनुसार ढुंगेधारामा एउटा पक्की पुल बन्नेछ । तीन वटा आकाशे पुल अपांगमैत्री बन्नेछन् । सीतापाइला, बालाजु र माछापोखरीको बीच र सामाखुसी–वसुन्धरा प्रहरी चौकीको बीचमा आकाशे पुल बनाइनेछ । कलंकीदेखि वसुन्धरा चोकसम्म सडक बत्ती सडक विस्तारकै क्रममा चीनले बनाउने गरी डिजाइनमा राखिएको छ । डिजाइन विभागमा आएपछि यसलाई फाइनल गर्ने बेलामा केही कुरामा तलमाथि हुन सक्ने अर्यालले प्रस्ट्याए । 

गत ६ भदौमा नेपाल र चीन सरकारका प्रतिनिधिबीच सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । अहिले चीन सरकारको अनुदानमा स्याफ्रुबेंसी–रसुवागढी सडक स्तरोन्नतिको काम पनि सुरु भइसकेको छ । सडक स्तरोन्नतिका लागि उतै ठेक्का गरेर चिनियाँ कम्पनी सिचाङ थियान्लु नेपाल आएको हो, जसको ठेक्का रकम साढे ६ अर्ब रुपैयाँ छ । निर्माण अवधि ३९ महिना तोकिएको छ । स्याफ्रुबेंसी–रसुवागढीसम्मको दूरी १५ दशमलव ५ किलोमिटर छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully