प्रस्तावित आयोजनाका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनअन्तर्गत प्रभावित क्षेत्रका सरोकारवालासँग सुझाव संकलन सुरु गरिएको छ ।
What you should know
गुल्मी — गुल्मीमा २ सय ७३.२ मेगावाटको जलाशययुक्त विद्युत् आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) अध्ययन थालिएको छ ।
विद्युत् विकास विभागले सत्यवती र रुरुक्षेत्र गाउँपालिकाको बीचमा पर्ने बडीगाड नदीमा लोवर बडीगाड जलाशययुक्त आयोजना निर्माणका लागि अध्ययनको प्रक्रिया थालेको हो ।
परामर्शदाताका रूपमा छनोट भएको ईआरएमसी, हाइड्रो कन्सल्ट इन्जिनियरिङ्ग लिमिटेड र सिल्ट कन्सल्ट्यान्टस प्रालिको संयुक्त समितिले प्रारम्भिक अध्ययन पूरा गरी ईआईए अध्ययन सुरु गरेको हो । परामर्शदाता कम्पनीले प्रारम्भिक अध्ययनका क्रममा प्रभावित क्षेत्र, डुवान क्षेत्र, बाँध र विद्युत् गृह निर्माण गर्ने क्षेत्र निर्धारण गरी वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम भइरहेको विभागको आयोजना अध्ययन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर गोपीप्रसाद शाहले बताए ।
जसअन्तर्गत सत्यवती गाउँपालिका वडा नं. ४ र रुरुक्षेत्र गाउँपालिका ६ को सिमानामा पर्ने बडीगाड नदीमा १ सय ९५ मिटर अग्लो बाँध बनाइ ३.१ किलोमिटर लामो सुरुङ्गमार्फत रुरुक्षेत्र गाउँपालिका–२ रुद्रवेणी बजारनजिकै विद्युत् गृह निर्माण गरी विद्युत् उत्पादन गरिने प्रस्ताव गरिएको छ ।
प्रस्तावित आयोजनाको संरचना रुरुक्षेत्र गाउँपालिका र सत्यवती गाउँपालिकामा निर्माण हुनेछन् भने सत्यवतीका ४, ५, ६ र ७ एवं रुरुक्षेत्रका ५ र ६, छत्रकोट गाउँपालिकाका १ र २, चन्द्रकोट गाउँपालिकाका ७ र ८, गुल्मी दरबारका १ र २, रेसुङ्गा नगरपालिकाका १४ र मुसिकोटका ४, ५ र ६ नम्बर वडा प्रभावित हुनेछन् ।
प्रस्तावित आयोजनाका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनअन्तर्गत प्रभावित क्षेत्रका सरोकारवालासँग सुझाव संकलन सुरु गरिएको छ । विभागले सार्वजनिक सुनुवाइमार्फत सुझाव संकलनका लागि प्रभावित क्षेत्रअन्तर्गत पर्ने गुल्मीका विभिन्न गाउँपालिकामा वैशाख १९ देखि सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत आयोजना गरेको छ । सुझावहरू संकलन गरेपछि ईआईए र सम्भाव्यता अध्ययन रिपोर्ट आउने उनले बताए ।
‘त्यहाँको डाटाहरू सबै संकलन भैसकेको छ, अब पब्लिक हेयरिङ्गका क्रममा आएका सुझावहरू संकलन हुन्छ, गाउँपालिकाहरूबाट पनि सिफारिससहित लिइन्छ र टेक्निकल रिपोर्ट अपडेट हुन्छ,’ विभागका सीडीई शाहलेले भने, ‘ईआईए र फिजिविलिटी रिपोर्टमा डिजाइनदेखि लिएर कस्ट इस्टिमेट, फाइनान्सियल र इकोनोमिक डाटाहरू निकालेर फाइनल हुनेछ ।’ त्यसपछि बल्ल आयोजनाको बाँकी प्रक्रिया सुरु हुने उनले बताए ।
