तरलता व्यवस्थापनका लागि आज राष्ट्र बैंकले बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

बजारमा रहेको तरलता तत्काल घट्ने सम्भावना नदेखिएपछि यसअघि छोटो अवधिका लागि पैसा झिकिरहेको राष्ट्र बैंकले पछिल्ला दिनहरूमा केही लामो अवधिका लागि पैसा झिकिरहेको छ ।

वैशाख १६, २०८३

कान्तिपुर संवाददाता

Nepal Rastra Bank is withdrawing 40 billion from the market today to manage liquidity.

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज उल्लिखित रकम झिक्न थालेको हो । सोही क्रममा आज ४९ दिनका लागि ४० अर्ब रुपैयाँ झिक्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

बजारमा रहेको तरलता तत्काल घट्ने सम्भावना नदेखिएपछि यसअघि छोटो अवधिका लागि पैसा झिकिरहेको राष्ट्र बैंकले पछिल्ला दिनहरूमा केही लामो अवधिका लागि पैसा झिकिरहेको छ । यद्यपि, आज भने करिब डेढ महिनाका लागि मात्र उल्लिखित पैसा निकाल्न लागेको हो ।

पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुईपटक नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज पनि बजारबाट पैसा झिक्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उकरणमा लगानीका लागि घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहु–बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully