पश्चिम एसिया तनावले आर्थिक संकुचन र वित्तीय स्थायित्वको जोखिम : राष्ट्र बैंक

इन्धनको मूल्यवृद्धि र आपूर्ति शृंखलामा परेको अवरोधले नेपालको कृषि, पर्यटन र उद्योग क्षेत्रमा नकारात्मक प्रभाव पार्न सक्ने जोखिम रहेको गभर्नरको स्पष्टोक्ति

वैशाख १५, २०८३

यज्ञ बञ्जाडे

West Asia tensions pose risk to economic contraction and financial stability: Nepal Rastra Bank

काठमाडौँ — पश्चिम एसियाको भूराजनीतिक तनावका कारण इन्धनको मूल्यवृद्धि भएको र आपूर्ति शृङ्खलामा अवरोध पुगेकाले कृषि, पर्यटन, उद्योग जस्ता क्षेत्रमा गतिविधि संकुचित भई अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बताएका छन् । यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा वित्तीय स्थायित्वमा असर पर्ने सम्भावना रहेको उनको भनाइ छ । 

अन्तर्राष्ट्रिय मुद्राकोषको प्रक्षेपणतर्फ लक्ष्य गर्दै गभर्नर पौडेलले विश्व अर्थतन्त्रमा केही सुस्तता आउन सक्ने अनुमानसमेत गरे । विश्व अर्थतन्त्र सन् २०२६ मा ३.१ प्रतिशत र २०२७ मा ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । पश्चिम एसियाको भूराजनीतिक तनाव, इन्धनको मूल्यवृद्धि र आपूर्ति शृंखलामा परेको अवरोधले नेपालको कृषि, पर्यटन र उद्योग क्षेत्रमा नकारात्मक प्रभाव पार्न सक्ने जोखिम रहेको उनको भनाइ छ । 

हालको अप्रत्याशित मूल्य प्रभावको बाबजुद चालु आर्थिक वर्षमा औसत मुद्रास्फीति लक्ष्यभन्दा न्यून रहने अनुमान रहेको राष्ट्र बैंकको ७१ औं वार्षिकोत्सवको अवसरमा सोमबार केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा गभर्नर पौडेलले जनाए । मुलुकका आर्थिक सूचक सन्तोषजनक रहेको उनले बताए । उपभोक्ता मुद्रास्फीति मौद्रिक नीतिको लक्ष्यको सीमाभित्रै रहेको उनको भनाइ छ । आर्थिक वर्ष २०८२/८३ को आठ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.१ प्रतिशत छ, जुन अघिल्लो वर्ष ४.७ प्रतिशत थियो । शोधनान्तर स्थितिः शोधनान्तर बचत थप सुदृढ हुँदै गएको छ । 

पूर्वअर्थमन्त्री युवराज खतिवडाले भने वर्तमान अर्थतन्त्र बाह्य सूचक हेर्दा केही सुधारिएको देखिए पनि वास्तविक रूपमा अझै अस्वस्थ रहेको बताए । अहिले बाह्य क्षेत्र सन्तुलित देखिएको, मूल्यवृद्धि नियन्त्रणमा रहेको र आर्थिक वृद्धि करिब २–३ प्रतिशत हाराहारीमा रहेको भए पनि त्यो त्यति सकारात्मक नरहेको उनको भनाइ छ । ‘अहिलेका समस्याको समाधान ससाना ‘फिजियोथेरापी’ जस्ता मौद्रिक उपायले सम्भव छैन, ठूला संरचनात्मक सुधार अर्थात् ‘सर्जरी’ आवश्यक छ,’ उनले भने । सरकारले लगानीमैत्री वातावरण बनाउन सकेन भने ब्याजदर घटाएर मात्रै कर्जा प्रवाह नबढ्ने उनले जनाए ।  

‘अर्थतन्त्रको जुन स्वस्थता हामीले भन्छौं, त्यो स्वाभाविक स्वस्थतामा अर्थतन्त्र छैन । समस्याका चाङ छन् । व्यावसायिक वातावरण हामीले बनाउन सकेका छैनौं । व्यावसायिक वातावरण बनाएर लगानीकर्तालाई प्रोत्साहित गर्ने र लगानी सुरक्षित हुन्छ भन्ने वातावरण नबनाउन्जेलसम्म राष्ट्र बैंकले दिएका सानातिना फिजियोथेरापीले काम गर्नेवाला छैन । फिजियोथेरापीले धेरै काम गर्ने छैन, सर्जरी गर्नॅपर्ने अवस्था छ । अलि ठूलै अपरेसन गर्नॅपर्ने अवस्था छ,’ खतिवडाले भने । 

विगतमा व्यवसायीमाथि भएको धरपकड र असुरक्षाले लगानी वातावरण बिग्रिएको उल्लेख गर्दै त्यसको सुधार नगरेसम्म आर्थिक गतिविधि नबढ्ने खतिवडाले बताए । खतिवडाका अनुसार कर्जाको गुणस्तर र उत्पादक उपयोगलाई ठूलो चुनौती छ । 

विगतमा कर्जा २५ प्रतिशतले बढ्दा पनि आर्थिक वृद्धि २–४ प्रतिशतमा सीमित भएको उदाहरण दिँदै उनले कर्जाको प्रभावकारिता कमजोर रहेको उल्लेख गरे । वर्किङ क्यापिटल, टीआर लोन, विपन्न वर्ग कर्जा तथा निर्देशित कर्जा कार्यक्रमलगायत सबैको पुनरावलोकन आवश्यक रहेको उनको भनाइ छ । निर्देशित कर्जा कार्यक्रमलाई सानो–सानो खण्डमा विभाजन गर्नॅको सट्टा उत्पादनशील क्षेत्रहरूमा समग्र ‘प्याकेजिङ’ गरेर कर्जा प्रवाह गर्न खतिवडाले सुझाए । 

वित्तीय प्रणालीतर्फ निक्षेप र कर्जाबीचको भारित औसत ब्याजदर अन्तर न्यूनतम बिन्दुमा छ, जसले निजी क्षेत्र र सरकारलाई सस्तो ब्याजदरमा वित्तीय साधन परिचालन गर्ने अवसर दिएको छ । आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन ४.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको प्रारम्भिक अनुमान छ ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully