संखुवासभास्थित ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको प्याकेज-२ निर्माणको ठेक्का भारतीय कम्पनी पटेल इन्जिनियरिङले पाएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ ।
What you should know
काठमाडौँ — संखुवासभास्थित ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको ठेक्का भारतकै पटेल इन्जिनियरिङले पाएको छ । भारतको सञ्चारमाध्यम इकोनमिक टाइम्सले १५ अर्ब ९३ करोड भारुमा प्याकेज-२ को ठेक्का पटेल इन्जिनियरिङले ठेक्का पाएको भनेको छ ।
भारतको सतलज जलविद्युत् निगम (एसजेभीएन)को पूर्ण स्वामित्व रहेको सहायक कम्पनी एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनी (एसएलपीडीसी) द्वारा प्याकेज-२ को लागि आफूलाई सबैभन्दा कम बोलपत्रदाता (एल१) घोषणा गरिएको जनाइएको छ । उक्त आयोजना ५४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
'हामीले करिब १६०० करोड भारुको यो महत्त्वपूर्ण अर्डरका लागि एल१ घोषणा हुँदै चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको सुरुवात सकारात्मक रूपमा गरेका छौँ,' पटेल इन्जिनियरिङकी प्रबन्ध निर्देशक कविता शिरभैरकरले भनिन्, 'नेपालमा जलविद्युत्को अपार सम्भावना छ र लोअर अरुण आयोजना दिगो विकासका लागि ऊर्जा उपयोग गर्ने दिशामा एउटा महत्त्वपूर्ण कदम हो ।' पटेल इन्जिनियरिङले नेपालमा अर्को एसजेभीएन जलविद्युत् आयोजनामा पनि काम गरिसकेको उनले बताएकी छन् ।
‘तल्लो अरुण साइटबाट करिब ३५ किलोमिटर टाढा रहेको हाम्रो अरुण-३ जलविद्युत् आयोजनाको जारी काम र भारतभर हाम्रो प्रमाणित ट्र्याक रेकर्डका कारण तल्लो अरुणमा विश्वस्तरीय इन्जिनियरिङ र समयमै कार्यान्वयन ल्याउन प्रतिबद्ध छौँ,’ शिरभैरकरले भनिन् ।
प्याकेज-२ मा सिभिल र हाइड्रो-मेकानिकललगायत काम गर्नुपर्नेछ । यसमा हेड रेस टनेलतर्फ जाने अडिट-५ र अडिट-६ को निर्माण, साथै १०.५ मिटर व्यास र ५.४१ किलोमिटर लम्बाइ भएको हेड रेस टनेलको भाग समावेश छ । सर्ज साफ्ट र यसका गेटहरू, प्रेसर साफ्टका साथै बटरफ्लाई भल्भ च्याम्बर र पहुँच अडिट, र पावर हाउस, स्विचयार्ड, सर्फेस पोटहेड यार्ड, र टेल रेस च्यानललगायतको निर्माण गर्नुपर्नेछ ।
तल्लो अरुणको प्याकेज-१ को पनि ठेक्का लागे पनि कुन कम्पनीले पाए भन्ने सूचना बाहिरिएको छैन । संखुवासभास्थित तुम्लिङटारमा रहेको तल्लो अरुण आयोजना विकास कम्पनीका अनुसार आधिकारिक रुपमा बोलपत्र आह्वान गरे पनि कुन प्याकेजको ठेक्का कसले पाए भन्ने विषय सार्वजनिक गरिनसकेको छैन ।
एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीको वेबसाइटमा पनि बोलपत्र आह्वान गरेको सूचना भए पनि कुन कम्पनी छनोट भए भन्ने सार्वजनिक गरिएको छैन ।
तल्लो अरुण जलविद्युत् आयोजनाको उत्पादन क्षमता बढाइएको छ । परियोजनाको जडित क्षमता ४ सय ७४ दशमलव २५ मेगावाटबाट बढाएर ६ सय ६९ मेगावाट क्षमता बनाइएको हो । परियोजनामा अरुण नदीको बायाँ किनारामा रहेको अरुण ३ परियोजनाको टेलरेसबाट निस्कने ३ सय ४४.६८ घनमिटर/सेकेन्ड बहावलाई मुख्य पोखरी (पोन्ड)बाट सिधै इन्टेक गेटमार्फत १०.५ मिटर व्यास भएको १७.४ किमि लामो सुरुङमा पठाइनेछ ।
आयोजनाको लागत ९२ अर्ब ६७ करोड रहने अनुमान छ । लगानी बोर्डको ६६औँ बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना अनुमतिपत्रको मस्यौदा स्वीकृत गर्दै उक्त परियोजनाको अनुमतिपत्र जारी गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । सोही अनुसार २३ मंसिर २०८२ मा परियोजना अनुमतिपत्र दिइएको थियो ।
आयोजना निर्माणका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ माघ १६ मा भारतीय कम्पनी छनोट गरेका थिए । २७ असार २०७८ मा लगानी बोर्ड र एसजेभीएनबीच समझदारी पत्रमा (एमओयू) भएको थियो । १८ जेठ २०८० मा तल्लो अरुणको निर्माण एसपीडीसी र लगानी बोर्डको कार्यालयबीच आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।
तल्लो अरुण जलविद्युत् आयोजनाबाट नेपालले २१ प्रतिशत विद्युत् निःशुल्क पाउनेछ । व्यावसायिक रुपमा उत्पादन सुरु भएको १५ वर्षसम्म प्रति किलोवाट ४ सय रुपैयाँ क्यापासिटि रोयल्टी र ७.५ प्रतिशत इनर्जी रोयल्टी पाउनेछ । त्यसपछि भने क्यापासिटी रोयल्टी प्रति किलोवाट १८ सय रुपैयाँ र १२ प्रतिशत इनर्जी रोयल्टी पाउनेछ ।
