इन्धन र आयात लागत बढेसँगै ग्राहकको आवागमन घट्दा काठमाडौंका रेस्टुरेन्टहरू संकटको अवस्थामा पुगेका छन् । सञ्चालकहरूले मूल्यवृद्धि गर्नेबारे सोचिरहेको बताएका छन् ।
What you should know
काठमाडौँ — पश्चिम एसियामा जारी युद्धका कारण नेपालमा हवाई भाडा, यातायातदेखि दैनिक उपभोग्य वस्तुको समेत मूल्यवृद्धि भएको छ । सञ्चालन खर्च बढेसँगै काठमाडौंका रेस्टुरेन्टहरू अहिले खानेकुराका उपलब्ध परिकारको संख्या घटाउने वा मूल्य बढाउने भन्ने सोचिरहेका छन् ।
साना लगानीका भोजनालयहरूले यसअघि नै परिकारको मूल्यवृद्धि गर्न थालिसकेका छन् । अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको आक्रमणका कारण विश्वव्यापी रूपमा इन्धनको मूल्य बढेको र मूल्यवृद्धि चुलिएको झन्डै दुई महिना पुग्न लागिसकेको छ ।
काठमाडौंस्थित त्रिसारा रेस्टुरेन्टका सञ्चालक शोभान मालाकारले खाद्यवस्तु र गाडी भाडा वृद्धि हुँदा सञ्चालन खर्च २५ प्रतिशतले बढेको बताए । 'उच्च लागतका कारण रेस्टुरेन्ट चलाउनै धौ-धौ परेको छ । हामी तत्कालै मूल्य बढाउँदैनौं । तर, स्थिति यस्तै रहेमा मूल्य बढाउनुको विकल्प छैन,' उनले भने, 'त्यस्तो अवस्थामा पनि हामीले ५-१० प्रतिशतभन्दा धेरै बढाउँदैनौं । '
रेस्टुरेन्टहरूमा ग्राहकको चहल-पहल ह्वात्तै घटेको मालाकारले बताए । 'अहिलेसम्म ग्यास आपूर्ति सहज नै छ । यसमा कुनै अवरोध आएमा हामीले रेस्टुरेन्टमा ताला लगाउनुपर्ने अवस्था आउँछ,' उनले थपे ।
व्यावसायिक प्रयोगका लागि इन्डक्सन चुल्हो ग्यासको भरपर्दो विकल्प हुन सकेको छैन । उदाहरणका लागि, ग्यास चुल्होमा ५ मिनेटमा पाक्ने फ्राईड राइस इन्डक्सनमा बनाउँदा १५ मिनेट लाग्छ ।
युद्धको अनिश्चितताले गर्दा मूल्य कति तोक्ने भन्ने विषयमा रेस्टुरेन्ट सञ्चालकहरू अन्योलमा छन् । 'हर्मुज जलघाँटी बारम्बार खुल्ने र बन्द हुने गरेको खबर आइरहेको छ । मूल्य निर्धारणमा यसले अन्योल थपेको छ, किनकि एक पटक बढाएको मूल्य पछि घटाउन निकै गाह्रो हुन्छ,' मालाकारले भने ।
फेब्रुअरी २८ देखि इरानमाथि आक्रमण भएपछि जवाफमा इरानले हर्मुजमा अवरोध गर्यो । त्यसको असर नेपालमा पनि देखियो । रेस्टुरेन्ट सञ्चालकहरूका अनुसार परिकारको भाउ बढाउँदा ग्राहकको संख्या घट्ने भएकाले चौतर्फी मूल्यवृद्धिका बाबजुद यो निर्णय लिन कठिन छ ।
विगतका नाकाबन्दीमा केही रेस्टुरेन्टले परिकार घटाएका थिए भने केहीले ग्यासको अभावमा दाउरा प्रयोग गरेर व्यवसाय धानेका थिए । एनडीज क्याफेका सञ्चालक अरनिको राजभण्डारीले अहिलेको अवस्थामा व्यापार घाटा कम गर्नु नै मुख्य प्राथमिकता रहेको बताए ।
'हामी अहिले 'पर्ख र हेर' को स्थितिमा छौँ र व्यवसायलाई टिकाइराख्ने विकल्पहरू खोजिरहेका छौँ,' उनले भने, 'सम्भव भएसम्म हामी बढ्दो सञ्चालन खर्च आफैं व्यहोर्नेछौं । नसके परिकार संख्या घटाउनेछौं । कम भाडा, तलब र अन्य खर्चहरू घटाएर रेस्टुरेन्ट सञ्चालन गर्नेछौँ ।'
पिज्जाजस्ता इन्डक्सनबाट बन्ने परिकार र चिसो पेय पदार्थको बिक्रीमा केन्द्रित भएपनि विद्युत् आपूर्ति नियमित नहुँदा निरन्तरता र गुणस्तर कायम राख्न चुनौती भइरहेको उनले बताए ।
मूल्य बढाउनुअघि ग्राहकको क्रयशक्तिलाई पनि ध्यान दिनुपर्ने हुन्छ । किनकि बढ्दो महँगीले सर्वसाधारणको बजेट यसै पनि बिग्रिसकेको छ । र रेस्टुरेन्टमा मूल्य बढ्दा ग्राहकको संख्या थप घट्न सक्छ ।
नेपाल रेस्टुरेन्ट तथा बार एसोसिएसनमा झन्डै २ हजार रेस्टुरेन्ट आबद्ध छन् । एसोसिएएनका अनुसार यी रेस्टुरेन्टहरूले ४ लाख मानिसलाई रोजगारी दिएका छन् । यसैबीच, केही साना पसलहरूले भने व्यवसाय धान्न धेरै गाह्रो भएपछि मूल्य बढाउन सुरु गरिसकेका छन् ।
तीनकुनेमा भर्खरै खुलेको अल्तुरा कफीका सञ्चालक शशी साहले आफ्नो क्याफेले ५ प्रतिशत मूल्य बढाइसकेको जानकारी दिए । 'हामी भर्खरै खुलेका हौं । मूल्य समायोजन नगरी सञ्चालन गर्न हामीलाई धेरै कठिन भयो । हाम्रो लागत ३० प्रतिशतले बढेकाले यसै साता थप १५ प्रतिशत मूल्य बढाउने योजना बनाएका छौँ ।'
मिथिला थालीका सञ्चालक सेफ सन्तोष शाहले नाफा घट्दै गएको भएपनि तत्काल मूल्य बढाउने कुनै योजना नरहेको बताए । 'खाद्यवस्तुको मूल्य असाध्यै धेरै भयो भने हामी केही परिकार नै मेनुबाट हटाउने छौँ,' उनले भने । शाहले आफ्नो रेस्टुरेन्टमा पाइने परिकारमा प्रयोग हुने झन्डै ९० प्रतिशत खाद्यवस्तु स्थानीय स्तरमै उत्पादन हुने गरेको बताए ।
