अर्थमन्त्रीले अघि सारे आर्थिक रूपान्तरणका मुख्य चार संवाहक क्षेत्र

विद्युत्, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई आर्थिक रूपान्तरणका मुख्य संवाहक क्षेत्रका रूपमा चयन गरिएको छ ।

वैशाख १४, २०८३

यज्ञ बञ्जाडे

काठमाडौँ — आगामी आर्थिक वर्षदेखि औसत ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्दै ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर नाघ्ने र अर्थतन्त्रको आकार सय अर्ब अमेरिकी डलर नजिक पुर्‍याई नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने लक्ष्य सरकारको छ ।

यो विषय राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचापत्रमा पनि उल्लेख गरेको छ । सोही वाचालाई अघि सार्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले उल्लिखित लक्ष्य प्राप्तिका लागि आर्थिक रूपान्तरणका मुख्य ४ संवाहक क्षेत्र चयन गरेका छन् ।

यी हुन् अर्थमन्त्रिले चयन गरेका अर्थतन्त्रका ४ मुख्य संवाहक क्षेत्र

१. विद्युत् उत्पादनमा कुल जडित क्षमता आगामी ५ वर्षभित्र १५ हजार मेगावाटसम्म पुर्‍याउने । राष्ट्रिय गौरवका महत्त्वपूर्ण आयोजनाहरूको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने, रणनीतिक महत्त्वका नयाँ आयोजनाहरू विकास गर्नेलगायतका पूर्वाधार विकासबाट निजी लगानीसमेत आकर्षित भई आर्थिक वृद्धिमा तीव्रता आउने ।

२. कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्दै उद्योग र पर्यटनसँग दरिलो अन्तर आबद्धतामार्फत उत्पादनमूलक रोजगारी अभिवृद्धि हुने ।

३. पर्यटन क्षेत्रमा गुणस्तरीय पूर्वाधार विकास र पर्यटकीय सेवा तथा आवागमनमा सहजतामार्फत रोजगारी र आय अभिवृद्धि हुने ।

४. कृत्रिम बौद्धिकता उपयोगसहितको सूचना तथा प्रविधिको उपयोग र डिजिटल अर्थतन्त्र निर्माणबाट उत्पादन, उत्पादकत्व, रोजगारी र निर्यात अभिवृद्धि हुने ।

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully