अर्थतन्त्रको जुन स्वस्थता हामीले भन्छौँ, त्यो स्वाभाविक स्वस्थतामा अर्थतन्त्र छैन । समस्याका चाङहरू छन् । व्यावसायिक वातावरण हामीले बनाउन सकेका छैनौँ । -पूर्वअर्थमन्त्री खतिवडा
काठमाडौँ — पूर्वअर्थमन्त्री युवराज खतिवडाले वर्तमान अर्थतन्त्र बाह्य सूचकहरू हेर्दा केही सुधारिएको देखिए पनि वास्तविक रूपमा अझै अस्वस्थ रहेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा खतिवडाले अहिले बाह्य क्षेत्र सन्तुलित देखिएको, मूल्यवृद्धि नियन्त्रणमा रहेको र आर्थिक वृद्धि करिब २–३ प्रतिशतको हाराहारीमा रहेको भए पनि त्यो त्यति सकारात्मक नरहेको बताएका हुन् ।
खतिवडाका अनुसार अहिलेका समस्याहरूको समाधान साना–साना ‘फिजियोथेरापी’ जस्ता मौद्रिक उपायले सम्भव छैन, ठूला संरचनात्मक सुधार अर्थात ‘सर्जरी’ आवश्यक छ । सरकारले लगानीमैत्री वातावरण बनाउन सकेन भने ब्याजदर घटाएर मात्रै कर्जा प्रवाह नबढ्ने उनको भनाइ छ ।
‘अर्थतन्त्रको जुन स्वस्थता हामीले भन्छौँ, त्यो स्वाभाविक स्वस्थतामा अर्थतन्त्र छैन । समस्याका चाङहरू छन् । व्यावसायिक वातावरण हामीले बनाउन सकेका छैनौँ । व्यावसायिक वातावरण बनाएर लगानीकर्तालाई प्रोत्साहित गर्ने र लगानी सुरक्षित हुन्छ भन्ने वातावरण नबनाउन्जेलसम्म राष्ट्र बैंकले दिएका सानातिना फिजियोथेरापीले काम गर्नेवाला छैन । फिजियोथेरापीले धेरै काम गर्ने छैन, सर्जरी गर्नुपर्ने अवस्था छ । अलि ठूलै अपरेसन गर्नुपर्ने अवस्था छ,’ खतिवडाको भनाइ छ ।
विगतमा व्यवसायीमाथि भएको धरपकड र असुरक्षाले लगानी वातावरण बिग्रिएको उल्लेख गर्दै त्यसको सुधार नगरेसम्म आर्थिक गतिविधि नबढ्ने खतिवडाले बताए । खतिवडाका अनुसार कर्जाको गुणस्तर र उत्पादक उपयोगलाई ठूलो चुनौती छ ।
विगतमा कर्जा २५ प्रतिशतले बढ्दा पनि आर्थिक वृद्धि २–४ प्रतिशतमा सीमित भएको उदाहरण दिँदै उनले कर्जाको प्रभावकारिता कमजोर रहेको उनको भनाइ छ । उनका अनुसार वर्किङ क्यापिटल, टीआर लोन, विपन्न वर्ग कर्जा तथा निर्देशित कर्जा कार्यक्रमहरू सबैको पुनरावलोकन आवश्यक छ ।
खतिवडाले निर्देशित कर्जा कार्यक्रमलाई सानो-सानो खण्डमा विभाजन गर्नुको सट्टा उत्पादनशील क्षेत्रहरूमा समग्र ‘प्याकेजिङ’ गरेर कर्जा प्रवाह गर्न सुझाव दिए ।
