'नेपालको आर्थिक वृद्धि तुलनात्मक रुपमा न्यून र अस्थिर'

आर्थिक स्थितिपत्रअनुसार औद्योगिक र कृषि क्षेत्रमा योगदान खुम्चिँदै गएको र वैदेशिक रोजगारीमा निर्भरता बढ्दो अवस्थामा रहेको देखिएको छ।

वैशाख १४, २०८३

कान्तिपुर संवाददाता

'Nepal's economic growth is relatively low and unstable'

What you should know

काठमाडौँ — अर्थ मन्त्रालयले नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गरेको छ । मुलुकको विद्यमान आर्थिक, सामाजिक तथा शासकीय अवस्थाको यर्थाथपरक चित्रण गर्दै आगामी कार्यदिशा निर्धारणमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्थितिपत्र तयार गरिएको जनाएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले १३ चैतमा पदवहाली गर्दै 'आर्थिक स्थितिपत्र' तत्काल तयार गर्ने निर्णय गरेका थिए । सोहीअनुरुम वर्तमान आर्थिक स्थितिपत्र तयार गरी सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।

स्थितिपत्रमा मुलुकको आर्थिक वृद्धि तुलनात्मक रुपमा न्यून र अस्थिर रहेको उल्लेख छ । पछिल्लो एक दशकमा वार्षिक औसत आर्थिक वृद्धि ४.२ प्रतिशत छ । यो अवधिमा नेपालको अर्थतन्त्र न्यूनतम २.४ प्रतिशतको संकुचनदेखि  अधिकतम ९ प्रतिशतसम्म विस्तार भएको छ । 'पछिल्ला वर्षहरूमा आर्थिक गतिविधि शिथिल रहँदा आर्थिक वर्ष २०८१/८२ मा ४.६१ प्रतिशतले विस्तार भएको अर्थतन्त्र आर्थिक वर्ष २०८२/८३ मा ३.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण छ,' आर्थिक स्थितिपत्रमा उल्लेख छ ।

सरकारले नै मुलुकको अर्थतन्त्र कृषिबाट औद्योगिकीकरण नहुँदै सेवा क्षेत्रतर्फ विस्तार भएको जनाएको छ । 'अर्थतन्त्रमा उद्योग र कृषि क्षेत्रको योगदान खुम्चिदै जाँदा सेवा क्षेत्रको योगदानविस्तार हुँदै गएको छ,' आर्थिक स्थितिपत्रमा उल्लेख छ ।

उत्पादनमूलक उद्योगको अवस्था कमजोर रहेको समेत बताइएको छ । एक दशकमा कुल गार्हस्थ उत्पादनमा उत्पादनमूलक औद्योगिक क्षेत्रको योगदान औसत ५.४ प्रतिशत मात्रै छ । यो अवधिमा समग्र अर्थतन्त्र औसत ४.२ प्रतिशतले विस्तार हुँदा उत्पादनमूलक उद्योगको विस्तार औसत २.९ प्रतिशत मात्रै छ ।

लगानीको अपर्याप्तता, आयातित कच्चा पदार्थमाथिको उच्च निर्भरता, नवप्रवर्तन तथा उन्नत प्रविधिको न्यून अवलम्बन र उच्च उत्पादन लागतलगायत कारणले प्रतिस्पर्धात्मक क्षमता कमजोर भई मुलुकको औद्योगिकीकरण अवस्था कमजोर रहेको समेत उक्त पत्रमा उल्लेख छ । वर्तमान अवसर र चुनौतीहरूको स्पष्ट पहिचान गर्दै नीतिगत सुधार, सुशासन सुदृढीकरण तथा दिगो आर्थिक रुपान्तरणका लागि आवश्यक मार्गचित्र कोर्न बलियो आधार प्रदान गर्ने समेत जनाएको छ । 

सरकारले वैदेशिक रोजगारीमाथिको निर्भरता बढ्दो रहेको जनाएको छ । मुलुकभित्र मर्यादित रोजगारीका अवसर सिर्जना नहुँदा वैदेशिक रोजगारीमा निर्भरता बढेको छ । पछिल्ला एक दशकमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या वार्षिक औसत २८.६ प्रतिशत वृद्धि भएको बताइएको छ । 

रोजगारीको लागि विदेशिनेको संख्या उच्च हुँदा उनीहरूले पठाउने विप्रेषणले वाह्‍य क्षेत्र सन्तुलन, गरिबी निवारण, आन्तरिक माग तथा सामाजिक क्षेत्रमा अल्पकालिज राहत दिएको छ । यद्यपि, मुलुकमा दक्ष तथा अर्धदक्ष जनशक्तिको अभाव र समष्टिगत मागमा कमिसँगै दीर्घकालमा मानव पुँजीको ह्रास हुने जोखिम समेत बढेको आर्थिक स्थितिपत्रमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully