गभर्नर पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणतर्फ लक्षित गर्दै विश्व अर्थतन्त्रमा केही सुस्तता आउन सक्ने बताए ।
काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले मुलुकका आर्थिक सूचकहरू सन्तोजनक रहेको बताएका छन् ।
नेपाल राष्ट्र बैंकको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान आर्थिक सूचकहरू सन्तोषजनक रहेको बताएका हुन् । गभर्नर पौडेलका अनुसार उपभोक्ता मुद्रास्फीति मौद्रिक नीतिको लक्ष्यको सीमाभित्रै रहेको छ । आर्थिक वर्ष २०८२/८३ को आठ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.१ प्रतिशत छ, जुन अघिल्लो वर्ष ४.७ प्रतिशत थियो । शोधनान्तर स्थितिः शोधनान्तर बचत थप सुदृढ हुँदै गएको छ ।
वित्तीय प्रणालीतर्फ निक्षेप र कर्जाबीचको भारित औसत ब्याजदर अन्तर न्यूनतम बिन्दुमा छ, जसले निजी क्षेत्र र सरकारलाई सस्तो ब्याजदरमा वित्तीय साधन परिचालन गर्ने अवसर दिएको छ । आर्थिक वृद्धितर्फ राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन ४.१ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान गरेको जानकारी दिए ।
चुनावपछि स्पष्ट जनादेश आएको बताउँदै अब मुलुकमा स्थायित्व कायम रहने पनि गभर्नर पौडेलको विश्वास छ । ‘मौद्रिक नीतिलाई थप तथ्यपरक र ‘फरवार्ड लुकिङ’ बनाउन बैंकले म्याक्रोइकोनोमिक रिपोर्ट प्रकाशन शुरु गरेको छ । नेपालमा वित्तीय गहिराइ, पहुँच र साक्षरता उल्लेखनीय रूपमा बढेको छ । विद्युतीय भुक्तानी प्रणालीका कारण वित्तीय सेवाको पहुँच विस्तार भएको छ र बैंकले वित्तीय ग्राहक संरक्षणमा पनि पहलकदमी बढाएको छ,’ उनले भने ।
गभर्नर पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणतर्फ लक्षित गर्दै विश्व अर्थतन्त्रमा केही सुस्तता आउन सक्ने बताए । विश्व अर्थतन्त्र सन् २०२६ मा ३.१ प्रतिशत र २०२७ मा ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । पश्चिम एसियाको भू–राजनीतिक तनाव, इन्धनको मूल्य वृद्धि र आपूर्ति श्रृङ्खलामा परेको अवरोधले नेपालको कृषि, पर्यटन र उद्योग क्षेत्रमा नकारात्मक प्रभाव पार्न सक्ने जोखिम रहेको उनको भनाइ छ । यसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वित्तीय स्थायित्वमा असर पार्नसक्नेतर्फ उनले सचेत गराउनु भयो ।
