साल्टले वीरगन्ज नाकाबाट भित्र्यायो १० हजार टन डिएपी

बर्षे धान रोप्ने सिजनको सुरुमै आवश्यकता पर्ने भएकाले यो लटको डीएपी मल अत्यन्त उपयोगी हुने साल्ट ट्रेडिङ वीरगन्ज कार्यालयका सूचना अधिकृत सन्जय गुप्ताले बताए ।

वैशाख १४, २०८३

शंकर आचार्य

SALT imports 10,000 tons of DAP through Birgunj border

पर्सा — साल्ट ट्रेडिङ कर्पोेरेशन लिमिटेडले प्रादेशिक कार्यालय वीरगन्जमा १० हजार टन डिएपी मल भित्र्याएको छ ।

कार्यालयका सूचना अधिकृत सन्जय गुप्ताका अनुसार सातायता यो परिमाणमा डिएपी मल कर्पोरेशनको वीरगन्जस्थित गोदाममा भित्र्याइएको हो ।

साल्टले ग्लोबल टेण्डरबाट उक्त मल भित्र्याएको हो । भारतको आइपिएल (इन्डियन पोटास लिमिटेड)ले तेस्रो मुलुकबाट उक्त मल खरिद गरेर ल्याएको हो । वीरगन्ज नाकाबाट भित्रिएको यो मल सिर्सिया सुक्खा बन्दरगाह र सीमापारि भारतीय रेल्वे स्टेशन रक्सौल हुँदै आएको थियो । 

भित्रिएको मलको कोटा निर्धारणका लागि कार्यालयले मधेश प्रदेश सरकारको कृषि मन्त्रालयलाई पत्राचार गरिसकेको गुप्ताले जानकारी दिए । मन्त्रायलयले नै प्रदेशभरीका जिल्ला अनुसार सबै पालिकाहरुको मलको कोटा निर्धारण गर्ने उनले बताए । हाल डिएपीको माग नरहे पनि बर्षे धान बाली लागउने सिजनको सुरुमै आवश्यकता पर्ने भएकाले यो लटको मल अत्यन्त उपयोगी हुने गुप्ताले बताए ।  

हाल सीमापारिबाट १ सय रुपैयाँ भन्दा बढीको मालबस्तु ल्याउँदा भन्सार शुल्क तिर्नुपर्ने नियम कडाइसाथ लागु गरिएपछि सीमावर्ती भेगका किसानले भारतबाट रासायनिक मल ल्याउन नपाएकाले पनि हाल भित्रिएको डिएपी अत्यन्त उपयोगी हुने छ ।

अन्न उत्पादनको भण्डार मानिने मधेश प्रदेशमा किसानले केही वर्षयता रासायनिक मल, सिँचाइ र बिउबिजनको अभाव झेलिरहेका छन् । यसले प्रदेशमै धानको उत्पादन कम हुँदै गएको किसानहरु बताउँछन् । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully