सडक डिभिजन कार्यालयकी सूचना अधिकारी शुभेक्षा सारुले असार मसान्तसम्म म्याद थप गर्न लागिएको बताइन् । उनका अनुसार अहिलेसम्म सडकको ५५ प्रतिशत भौतिक प्रगति र झण्डै ४४ प्रतिशत वित्तीय प्रगति देखिएको छ ।
What you should know
बुटवल — सडक विस्तार थालेको नौ वर्षसम्म बुटवलको व्यस्त राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको साढे ३ किलोमिटर खण्ड अधुरै छ । बुटवल–बेलहिया व्यापारिक मार्गको बाँकी खण्ड निर्माण सकिएको धेरै समय भइसक्यो । राजमार्ग चौराहादेखि चिडिया खोला खण्ड अलपत्र परेपछि फेरि म्याद थप्ने प्रक्रिया सुरु गरिएको छ । अहिलेसम्म सडक विस्तारको काम ५५ प्रतिशतमात्र सकिएको छ ।
२०७३ साल चैत १७ गते कञ्चनजंघा बिरुवा जेभीसँग यो खण्ड निर्माणका लागि सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार २०७६ असार मसान्तभित्र सडक विस्तार गरिसक्नु पर्थ्यो । त्यसबेला ५३ करोड ९७ लाख ९९ हजार ४ सय रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आठ वर्षसम्म पटक–पटक म्याद थप्दा समेत विस्तार पूरा नभएपछि सडक डिभिजन कार्यालय बुटवलले २०८१ वैशाखमा सम्झौता तोडेर भैरहवाको बाबुल दर्शन मालिका जेभीलाई नयाँ ठेक्का दिएको थियो ।
बाबुल मालिका जेभीले पनि २०८१ असोज १८ गते १ वर्षभित्रमा काम सम्पन्न गर्ने ठेक्का सम्झौता थियो । झण्डै साढे ३ किलोमिटर सडक ६ लेनमा विस्तार गर्न भ्याटसहित ३३ करोडमा ठेक्का सम्झौता भएको थियो । तर, निर्माण कम्पनीले २०८२ असोज १८ गतेसम्म काम पूरा नगरेपछि म्याद थप गरी चैत १२ गतेसम्म पुर्याइएको थियो । म्याद थप गरिएको अवधिमा पनि विस्तारको काम नसकिएपछि पुन: तीन महिनाका लागि म्याद थप गर्न लागिएको हो ।
म्याद थप गर्न लागिएको बाबुल दर्शन जेभी रूपन्देही–५ का प्रतिनिधिसभा सदस्य तौफिक अहमद खानका बाबु साफिक अहमद खानको निर्माण कम्पनी हो । २०८२ भदौ ३१ मा बाबुको मृत्यु भएपछि अहिले कम्पनी तौफिकका भाइ नफिसका नाममा सारिएको छ । ठेक्का सम्झौताअनुसार चौराहादेखि चिडिया खोलासम्म सडकमा फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रीनबेल्ट र स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने उल्लेख छ ।
सडक डिभिजन कार्यालयकी सूचना अधिकारी शुभेक्षा सारुले असार मसान्तसम्म म्याद थप गर्न लागिएको बताइन् । उनका अनुसार अहिलेसम्म सडकको ५५ प्रतिशत भौतिक प्रगति र झण्डै ४४ प्रतिशत वित्तीय प्रगति देखिएको छ । ‘सडक निर्माणको म्याद चैत १२ गतेसम्म मात्र थियो, तोकिएको समयमा पूरा हुन सकेन,’ उनले भनिन्, ‘अब असार मसान्तसम्म म्याद थप गर्ने गरी प्रक्रिया अघि बढेको छ ।’
सडक निर्माण जिम्मा पाएको बावुलदर्शन मालिका जेभीका संचालक खानले सुरुमा निर्माण समग्रीको अभाव र अहिले मूल्यवृद्धिका कारण काम तीव्र गतिमा हुन नसकेको बताए । निर्माण व्यवसायीले गत चैत महिनादेखि निर्माण सामग्रीको माग गर्दै आएका थिए । खानले २०८१ मंसिरमा, चैतमा र २०८२ माघमा गरी तीनपटक बुटवल उपमहानगरपालिकालाई पत्र पठाएर निर्माण सामग्रीको सहजीकरणका लागि अनुरोध गरेको बताए । ‘त्यो नपाएपछि जेठ र असोजमा आग्रह गर्दा समेत सामान पाएनौं,’ उनले भने, ‘त्यसैले ढिलाइ भएको हो ।’ पहिला काम गर्न खोज्दा ढुङ्गा, गिट्टी, बालुवा केही पनि नपाएको उनले गुनासो गरे । अहिले सामानको मूल्यवृद्धि भएको बताए ।
नदीजन्य सामग्री तत्काल पाएको अवस्थामा असार मसान्तमै काम सक्ने गरी तयारी अवस्थामा रहेको उनले बताए । सडक कालोपत्र र ढलान लगायतका काम सकिएर मसिनो काम मात्र बाँकी रहेकाले अब थप म्यादभित्रै सक्ने उनले बताए । ४५ प्रतिशत काम बाँकी रहेको सडकको बसपार्कदेखि ट्राफिक चोक हुँदै गोलपार्कसम्म दुवैतर्फको सर्विस लेन विस्तारको काम सबै बाँकी रहेको छ । त्यस्तै बीचको ग्रिनरी क्षेत्र र फुटपाथको काम झण्डै ७० प्रतिशत नै बाँकी छ । मुख्य लेन र सर्विस लेन छुट्याउनका लागि राखिने फलामे बार निर्माणको काम ८० प्रतिशतभन्दा बढी नै रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
