भन्सार नाकामा कडाइ गरिएपछि भैरहवालगायत आसपास क्षेत्रमा दैनिक प्रयोजनका सामानको मूल्य बढाएको उपभोक्ताले गुनासो गरेका छन् ।
What you should know
काठमाडौँ —
भैरहवा भन्सार नाकामा कडाइ गर्न थालिएपछि भारतीय बजारमा नेपाली उपभोक्ताको संख्यामा कमी हुन थालेको छ । भैरहवा नाकासँग जोडिएको भारतको सुनौली बजारमा किनमेलका लागि पुग्ने नेपाली उपभोक्ताको संख्या घट्दै जान थालेको हो ।
नेपालको सीमावर्ती क्षेत्रलगायत टाढाका जिल्लाबाट समेत किनमेलका लागि पुग्ने नेपाली उपभोक्ताको भिडले जतिबेला पनि गुलजार रहने सुनौली बजार केही दिनदेखि सुनसान छ ।
भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले घरायसी प्रयोजनका नाममा धेरै परिमाणमा सामान किनेर बिना भन्सार ल्याउने क्रमलाई निरुत्साहित गर्न भन्सार नाकामा गरिएको कडाइलाई निरन्तरता दिइएको बताए । ‘भन्सार नाकाबाटै दिनमा धेरै पटक सामान ओसार्दै हुने तस्करी घटेको छ,’ उनले भने, 'राजस्व चुहावट नियन्त्रणमा पनि सकारात्मक प्रभाव पर्न थालेको छ ।'
सीमावर्ती भारतीय बजारबाट सामान्य परिमाणमा किनमेल गरेको सामान ल्याउनमा भने कुनै समस्या छैन । सीमा नाकामा खटिएका भन्सार कर्मचारी तथा सुरक्षाकर्मीले घरखर्चका नाममा व्यावसायिक प्रयोजनका लागि ल्याउने सामानमा मात्र कडाइ गर्ने गरेका छन् ।
सुनौलीस्थित हरिओम जनरल स्टोर्सका कर्मचारीले पहिलाको तुलनामा ७५ प्रतिशतभन्दा धेरै नेपाली उपभोक्ता घटेको बताए । सीमा नाकामा गर्न थालिएको कडाइले स्वदेशमा वैध कारोबार प्रोत्साहित हुने वातावरण बनेको भन्दै स्वदेशी व्यवसायी निकै उत्साहित छन् । तर, भारतीय व्यवसायी भने निकै असन्तुष्ट छन् ।
भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रीय अध्यक्ष प्राचिन थैवले सिमानामा गरिएको कडाइले अवैध कारोबार निरुत्साहित हुने भएकाले नेपाल र भारत दुवै देशका लागि फाइदा हुने बताए । नेपालभरिका सिमानामा गरिएको कडाइले भन्सारहरुमा खुद्रा आइटमका सामानको कारोबार बढ्न थालेको र भन्सारका गोदाम भरिन थालेको भनाइ उनको छ ।
‘बरु मूल नाकामा कडाइ हुने तर दायाँबायाँका खुला सिमानाबाट तस्करले मौका छोप्ने गरेको कुरा सुन्नमा आइरहेको छ । त्यहाँ पनि कडाइ हुन जरुरी छ,’ थैवले भने ।
सीमावर्ती भारतीय बजारबाट तस्करीको माध्यमबाट भित्रिने गरेको बिनाभन्सार र बिल बिजकको माल सामान खरिद गरेर तस्करीलाई प्रश्रय दिने काम स्वयम् नेपालमा रहेका व्यवसायीहरुबाटै भएकाले उनीहरुमाथि पनि खनतलासी अभियानको जरुरी भएको उनले बताए ।
भन्सार नाकामा कडाइ गरिएपछि भैरहवा लगायत आसपास क्षेत्रका अधिकांश किराना तथा खुद्रा पसलमा दैनिक प्रयोजनका सामानको मूल्य अत्यधिक बढाइन थालेको गुनासो स्थानीय उपभोक्ताले गरेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले सीमा नाकामा गरिएको कडाइले स्वदेशी व्यवसायमा सकारात्मक प्रभाव पार्न थालेको बताए । ‘यदि कुनै व्यवसायीले बिनाकारण मूल्य बढाउने गर्छ भने बजार नियमित अनुगमन गरी कारबाही हुनुपर्छ । हामीले पनि सरकारलाई सहयोग गर्न तयार छौं,’ आचार्यले भने, ‘सीमा नाकाबाट सर्वसाधारण समस्यामा पर्न हुदैन । बिना भन्सारबाट व्यवसायिक कारोबार गर्न पाइँदैन ।’
नेपाली उपभोक्तालाई केन्द्रित गरी सिद्धार्थनगर नगरपालिकाको मेउडिहवा क्षेत्र किनारमै भारततर्फ हप्तामा दुई दिन लाग्दै आएको फरेनी हाटबजारमा पनि सीमा नाकामा गरिएको कडाइले अति न्यून संख्यामा नेपाली उपभोक्ता पुग्ने गरेका छन् ।
सशस्त्र प्रहरी बल २७ नम्बर गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहराले सिमानामा गरिएको यो कडाइलाई निरन्तरता दिइएको र जाँचमा कुनै अवरोध तथा विवाद नभएको बताए । ‘कतिपय अवस्थामा व्यावहारिक पक्षलाई हेर्ने गरिएको छ,’ बोहराले भने, ‘फरेनी बजारमा साँझ परेपछि मात्र स्थानीयवासी किनमेलका लागि जाने गरेका छन् । पहिला जस्तो टाढा टाढाबाट किनमेल गर्न जानेको संख्या अहिले छैन ।’
