७.५ मेगावाटको यस आयोजना मर्मतमा नेसनल हाइड्रोपावर व्यवस्थापनले सक्रियता नदेखाउँदा दैनिक सरदर ४ लाख रुपैयाँ आम्दानी गुमाउँदै आएको छ ।
What you should know
काठमाडौं — सिन्धुपाल्चोकस्थित इन्द्रावती तेस्रो जलविद्युत आयोजना एक महिनादेखि ठप्प छ । ७.५ मेगावाट क्षमताको यस आयोजना मर्मतमा नेसनल हाइड्रोपावर व्यवस्थापनले सक्रियता नदेखाउँदा दैनिक सरदर ४ लाख रुपैयाँ आम्दानी गुमाउँदै आएको छ ।
नेपाली मात्रको (निजी क्षेत्र) लगानीमा २३ वर्षअघि विद्युत उत्पादन सुरु गरेको आयोजनाको निर्माण नेसलन हाइड्रोपारले निर्माण गरेको हो । पाँचपोखरी गाउँपालिकामा ड्याम र मेलम्ची नगरपालिकामा पावर हाउस रहेको आयोजनाले सुख्खा मौसममा औसत ३.५ मेगावाट विद्युत उत्पादन गर्दै आएको थियो ।
महंगोमा विद्युत बिक्री गर्ने बेला उत्पादन बन्द हुँदा दैनिक लाखौं रुपैयाँ गुमाउँनु परेको आयोजनाका एक कर्मचारीले बताए । यस अवधिमा करिब १ करोड २० लाख आम्दानी गुमिसकेको ती कर्मचारीको भनाइ छ । आयोजनाले २१ असोज २०५९ देखि व्यवसायिक उत्पादन सुरु गरेको हो ।
मर्मत किन सुरु गरिएन ? भन्ने प्रश्नमा आयोजनाका कर्मचारी अनभिज्ञ छन् । नेशनल हाइड्रोपावरका अध्यक्ष कुमार पाण्डेलाई पटक–पटक फोन गर्दा र म्यासेज पठाउँदा कुनै प्रतिक्रिया जनाएनन् । कम्पनीका सञ्चालक विशेश्वर सुवेदीले मर्मतका लागि प्राविधि इष्टिमेट भइरहेको, इन्स्योरेन्स दाबी गरिएको र रकम अपुग भए आफ्नै आम्दानीले भए पनि मर्मत गरेर सञ्चालन गर्ने जानकारी दिए । मर्मतका लागि कोटेसन तयार गरेर प्रक्रियामा जान समय लागेको उनले बताए । सुवेदीले भने, ‘आयोजना धेरै पुरानो भएकाले मर्मत गर्नुपर्ने समय भएको छ ।’
आयोजनाको पेनस्टक पाइप गत १० चैतमा फुटेको थियो । मर्मतका लागि लगानी गर्न बैंकका कर्मचारी र परामर्शदताहरूले १५ दिनअघि नै आयोजनास्थलको निरीक्षण गरेका थिए । तर, बैंकले सहजै ऋण उपलब्ध गराउने अवस्था नभएका कारण मर्मत रोकिएको स्रोतको भनाइ छ । बैंकले व्यवस्थापकीय पक्षले सम्पादन गर्ने कामका विषयमा प्रश्न उठाएर ऋण प्रवाहमा आनाकानी गरिरहेको स्रोतको दाबी छ । २०८१ असारमा आएको बाढीले क्षति गर्दा आयोजना निर्माणमा त्यतिबेलै करोडौं रुपैयाँ खर्च भएको थियो । अहिले करिब ३३ सय मिटर टनेलको केही भागमा मर्मत गर्नुपर्ने अवस्था आएको जानकारी सञ्चालनक सुवेदीले दिए ।
२०४६ को राजनीतिक परिवर्तनपछि नेपाली मात्रको (निजी क्षेत्रको) लगानीमा बनेको उक्त आयोजनाको व्यवस्थापन सुरुदेखि नै चुस्त र पारदर्शी नभएका कारण सेयर सदस्यहरूले उचित लाभांस नपाएको गुनासो गर्दै आएका छन् । उक्त आयोजना एनबी ग्रुपले लिड गरेको थियो । एनबीले पनि आयोजनालाई पारदर्शी रुपमा सञ्चालन गर्न नसकेपछि नेसनल कम्पनी विस्तारै अन्यको हातमा गएको थियो ।
उत्पादन सुरु गरेको लामो समय भए पनि व्यवस्थापकीय पक्ष कमजोर भएका कारण घाटा व्यहोर्दै आएको कर्मचारीहरूको गुनासो छ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोकमै तल्लो इन्द्रावती निर्माण गरिरहेको छ भने भोजपुरस्थित १४.१५ मेगावाटको इर्खुवाखोला आयोजनामा पनि ठूलो हिस्सा लगानी गरेको छ । इर्खुवाले उत्पादन सुरु गरेको छ । तर, इन्द्रावतीका कर्मचारीले भने समयमा तलबसमेत नपाएको गुनासो गरेका छन् ।
