एसिया प्रशान्त क्षेत्रका सरकार र निजी क्षेत्रलाई प्रदान गरिएका ऋण, अनुदान, इक्विटी लगानी, ग्यारेन्टी र प्राविधिक सहयोगलगायत रकम बढेर सन् २०२५ मा २० प्रतिशतले बढेर २९.३ अर्ब डलर पुगेको पनि प्रतिवेदनले प्रस्ट्याएको छ ।
काठमाडौँ — सन् २०२५ मा एसिया प्रशान्त क्षेत्रमा एसियाली विकास बैंक (एडीबी)ले आफ्नै स्रोतबाट २९ अर्ब ३० करोड अमेरिकी डलर लगानी लगानी प्रतिवद्धता गरेको छ ।
सन् २०२४ को तुलनामा यो प्रतिबद्धता २० प्रतिशतले बढी रहेको एडीबीको वार्षिक प्रतिवेदन २०२५ मा उल्लेख छ ।
उल्लिखित रकम एसिया र प्रशान्त क्षेत्रलाई परिवर्तनसँग जुध्न र चुनौतीलाई अवसरमा रूपान्तरण गर्न खर्च गरिने एडीबीले जनाएको छ । प्रतिवेदनमा सन् २०२५ को समीक्षा पनि गरिएको छ । जसमा सो वर्षलाई जटिलता र अनिश्चियताले भरिपूर्ण रहेको उल्लेख छ ।
‘२०२५ मा एडीबीले एसिया प्रशानत क्षेत्रमा राम्रो सहयोग प्रदान गर्यो, जुन २०२४ को तुलनामा २० प्रतिशतले बढी हो । यो लगानीले यस क्षेत्रमा ३३ लाखभन्दा बढी रोजगारी सिर्जना हुन्छ र त्यसबाट १८ करोडभन्दा बढी मानिस लाभान्वित हुन्छन,’ एडीबीका अध्यक्ष मासातो कान्दाले भने, ‘एसिया र प्रशान्त क्षेत्रको मागअनुसार एडीबीले आफ्नो क्षमता प्रर्दशन गरेको यसले पुष्टि गर्छ ।’
एसिया प्रशान्त क्षेत्रका सरकार र निजी क्षेत्रलाई प्रदान गरिएका ऋण, अनुदान, इक्विटी लगानी, ग्यारेन्टी र प्राविधिक सहयोगलगायत रकम बढेर सन् २०२५ मा २० प्रतिशतले बढेर २९.३ अर्ब डलर पुगेको पनि प्रतिवेदनले प्रस्ट्याएको छ । यस रकममा साझेदारहरूबाट थप १४ अर्ब ७० करोड अमेरिकी डलर योगदान रहेको बताइएको छ ।
एडीबीले २०२५ मा मध्य–पश्चिम एसियामा ८ अर्ब ३ करोड डलर, पूर्वी एसियामा १ अर्ब ४० करोड डलर, प्रशान्त क्षेत्रमा ६८ करोड डलर, दक्षिण एसियामा ९ अर्ब ७० करोड डलर र दक्षिणपूर्वी एसियामा ९ अर्ब डलर प्रतिबद्धता जनाएको छ । साथै, ३० करोड २० लाख डलर क्षेत्रीय परियोजनाहरूका लागि छुट्याइएको प्रतिवेदनमा उल्लेख छ ।
