श्री एयरलाइन्स आन्तरिक उडानबाट नियमित अन्तर्राष्ट्रिय उडान अनुमति प्राप्त गर्ने दोस्रो निजी वायुसेवा बनेको छ । यसअघि बुद्ध एयरले सन् २०१० मा अनुमति पाएको थियो ।
काठमाडौँ — घरेलु उडानमा रहेको श्री एयरलाइन्सले नियमित अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत शुक्रबार कम्पनीलाई उक्त अनुमति प्रदान गरेको हो।
एयरलाइन्सका निर्देशक तथा प्रवक्ता अनिल मानन्धरका अनुसार यसअघि श्रीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा 'नन-सेड्युल चार्टर' उडानको मात्र अनुमति थियो। 'अब हामीले नियमित अन्तर्राष्ट्रिय उडानको इजाजत पाएका छौं,' उनले भने । कम्पनीले भारत र बंगलादेशमा उडानका लागि आवश्यक ‘डेजिग्नेसन’ प्रक्रिया सुरु गर्दै नेपाल सरकारलाई सोमबार औपचारिक पत्राचार गरिसकेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अबको प्रक्रियामा मन्त्रालयले द्विपक्षीय हवाई सेवा सम्झौताअनुसार भारत र बंगलादेशका लागि श्री एयरलाइन्सलाई सिफारिस गर्नेछ । उक्त सिफारिस परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित देशका दूतावासमार्फत अगाडि बढाइनेछ ।
श्री एयरलाइन्स आन्तरिक उडानबाट नियमित अन्तर्राष्ट्रिय उडान अनुमति प्राप्त गर्ने दोस्रो निजी वायुसेवा बनेको छ। यसअघि बुद्ध एयरले सन् २०१० मा अन्तर्राष्ट्रिय उडान अनुमति (एयर अपरेटर सर्टिफिकेट) प्राप्त गरी भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको थियो । हाल बुद्धले भुटान उडान स्थगित गर्दै भारतको बनारस र कोलकातामा एटीआर–७२ विमानमार्फत उडान सञ्चालन गरिरहेको छ । जहाँ कम्पनीसँग १५ वटा एटीआर विमान छन् ।
आन्तरिक उडानमा दोस्रो ठूलो अपरेटर यती एयरलाइन्स हो । जससँग ७ वटा एटीआर–७२ विमान छन् र दैनिक करिब ६० आन्तरिक उडान सञ्चालन गर्छ। यतीले २०७८ कात्तिकमा नन-सेड्युल र चार्टर उडान अनुमति प्राप्त गरेको थियो। उसले अन्तर्राष्ट्रिय उडानबारे योजना सार्वजनिक गरीसकेको छैन ।
दैनिक कम्तीमा ४० हाराहारी आन्तरिक उडान गर्ने तेस्रो स्थानमा रहेको श्रीले कोभिड महामारीका बेला 'ननसेड्युअल र चार्टर उडान' अनुमति लिएको थियो । उक्त अनुमतिलाई नियमित सेड्युअल उडानमा रुपान्तरण गर्न श्रीले २०८२ चैत २४ मा भारतको कोलकत्तामा डेमो (परीक्षण) उडान गरेको थियो । उक्त परीक्षण उडानमा प्राधिकरणका ८ जना प्राविधिकसहित १५ जनाको टोली परीक्षण उडानमा सहभागी भएका थिए । प्राविधिक टोलीले परीक्षण उडान सफल भएको प्रतिवेदन दिएपछि शुक्रबार प्राधिकरणले श्रीको एयर अपरेटर सर्टिफिकेटमा ‘इन्टरनेसनल’ सेक्टरको उडान पनि थप गरेको हो ।
श्रीसंग १७ वटा विमान छन् । जसमा ७ वटा क्यानेडियन ड्यास–८००, दुईटा सीआरजे–२००, ६ वटा रसियन एमआई हेलिकोप्टर र दुईवटा बीथ्रीई हेलिकोप्टर छन् ।
सन् १९९९ मा स्थापना भएको श्रीले २०१७ अप्रेलमा सीआरजे–२०० विमान ल्याएर आन्तरिक बजारमा सेवा बिस्तार गरेको थियो । स्थापनाकालमा एयर अनन्याबाट सुरु भएको श्री एयरलायन्स दक्षिण पूर्वी एसियामा रुसी एमआई–१७ हेलिकोप्टरको सबैभन्दा ठूलो सञ्चालकमध्येको हो । संयुक्त राष्ट्रसंघ तथा विश्व खाद्य कार्यक्रमको पहिलो नेपाली हवाई साझेदार वायुसेवा पनि हो ।
श्रीले नियमित अन्तर्राष्ट्रिय उडान गर्न अब बंगलादेश र भारतको नागरिक उड्डयन कार्यालयको अन्तिम अनुमति आवश्यक हुनेछ । उक्त अनुमतिपछि श्रीले भारत र बंगलादेशमा एजेन्ट कम्पनी नियुक्त गरी टिकट बिक्री गरेर उडान थाल्नुपर्छ । श्रीले पहिलो चरणमा ड्यास र सीआरजे जेट विमानबाट उडान गर्ने । त्यसपछि तीनवटा न्यरोबडी विमान एक वर्षभित्र ल्याउने योजना बनाएको छ ।
नेपालमा सञ्चालनमा रहेको बमबार्डियर जेट फ्लिट विश्वभर लोकप्रिय र उन्नत क्षेत्रीय विमानहरूमध्ये पर्छन्। ट्विन टर्बोफ्यान इन्जिनद्वारा सञ्चालित ड्यास- ८०० काे प्रतिघण्टा ६ सय ७० गति छ । सीआरजे जेट प्रतिघण्टा ७ सय ९० देखि ८६० किलोमिटर गतिमा उड्न सक्षम छन् । एटीआर–७२ विमानमा ट्विन इन्जिन टब्रोप्रोप इन्जिन हुन्छन् । एटीआर विमानले अधिकतम ४ सय ९७ किलोमिटर प्रतिघण्टाको गतिमा उडान गर्न सक्छन् ।
क्षेत्रीय सहरमा सानो विमानबाट उडान गर्नेमा नेपालको बुद्ध एयर र भुटानको रोयल भुटान एयरलायन्स पर्छन् । बुद्धले ७२ सिटको एटीआरबाट भारतको बनारस र कोलकत्ता उडान गर्छ भने रोयल भुटान एयरलायन्सले ४० सिटको एटीआर–४२ विमानबाट पारो–काठमाडौं–दिल्ली उडान गर्छ ।
