यस वर्ष गुलरिया नगरपालिकाभित्र ४ सय हेक्टरमा हिउँदे र वसन्ते मकै खेती गरिएको गुलरिया नगरपालिका कृषि शाखा प्रमुख महादेव साहले बताए ।
What you should know
बर्दिया — छिटो कमाइ हुन थालेपछि जिल्लामा मकै खेती गर्ने बढेका छन् । यहाँका किसानले दुई बाली मकै खेती गरिरहेका छन् । पहिले अधिकांशले बर्खामा मात्र मकै खेती गर्थे । पछिल्लो समय हिउँदे र वसन्ते मकै खेतीमा आकर्षण बढेको हो ।
गत कात्तिकमा लगाइएको हिउँदे मकै अहिले स्याहार्ने बेला भइसकेको छ । तोरी र आलु उब्जनी लिएका किसानले वसन्ते मकै रोपिसकेका छन् । अहिले जिल्लामा जताततै मकै खेती देखिन्छ । मकै तयार भइसकेका किसान बिक्री गर्न व्यस्त देखिन्छन् भने मकै पाक्न बाँकी किसान त्यसको स्याहारसुसारमा व्यस्त छन् ।
गहुँभन्दा मकैमा फाइदा देखेपछि गत वर्षदेखि आफूले मकै खेती सुरु गरेको गुलरिया–८, थपवाका सीताराम थारुले बताए । ‘गहुँभन्दा मकै धेरै उत्पादन हुने र बिक्री गर्दा फाइदा पनि छ,’ उनले भने, ‘एक बिघामा ६० देखि ७० क्विन्टलसम्म मकै फल्छ ।’ उनले १२ कठ्ठामा मकै खेती गरेका छन् । दुई साताभित्र मकै तयार भइसक्ने उनले बताए । १२ कठ्ठामा ३० देखि ३५ क्विन्टलसम्म मकै उत्पादन हुने उनको दाबी छ ।
बढैयाताल–६ की सुनिता थारुले ४ कठ्ठामा लगाएको मकै बिक्री गरिरहेको बताइन् । प्रति घोगा १० रुपैयाँमा बेचिरहेको उनले सुनाइन् । चार/पाँच वर्षदेखि निरन्तर मकै खेती गरिरहेको मधुवन–७ की चित्राकुमारी केसीले बताइन् । ‘गहुँभन्दा मकै बढी उत्पादन हुन्छ,’ उनले भनिन्, ‘उत्पादन बढी हुने भएकाले मकै खेतीमा आकर्षण बढेको हो ।’ यसपालि १५ कठ्ठामा मकै खेती गरेको उनले बताइन् । ‘३५ क्विन्टल बढी उत्पादन हुने अनुमान छ,’ उनले भनिन्, ‘गहुँ खेतीभन्दा मकै खेतीमा बढी दुःख हुन्छ । लगाउने बेला बीउ र मलको सधैं समस्या पर्छ ।’ गत वर्ष प्रतिक्विन्टल मकै ३ हजार रुपैयाँमा बिक्री गरेको उनले सुनाइन् ।
यस वर्ष गुलरिया नगरपालिकाभित्र ४ सय हेक्टरमा हिउँदे र वसन्ते मकै खेती गरिएको गुलरिया नगरपालिका कृषि शाखा प्रमुख महादेव साहले बताए । कृषि शाखाले ७५ प्रतिशत अनुदानमा हाइब्रिड जातको मकैको बीउ वितरण गरिरहेको छ । ‘यस वर्ष २ सय ३७ जनालाई बीउ वितरण गरेका हौं,’ उनले भने, ‘उस्तै किरा लागेमा निःशुल्क विषादी र किसानलाई प्राविधिक सल्लाह–सुझाव पनि दिइरहेका छौं ।’
कृषि तथा पशुपंक्षी विकास कार्यालयका नायव प्राविधिक सहायक मनिराम थारुले आर्थिक वर्ष २०८०/८१ मा जिल्लाभर १ सय १० हेक्टरमा हिउँदे मकै खेती गरिएको बताए । उनका अनुसार २०८१/८२ मा ४ सय ६८ हेक्टरमा हिउँदे मकै खेती गर्दा २ हजार १ सय ८३ मेट्रिक टन उत्पादन भएको थियो भने ४ हजार ३ सय १० हेक्टरमा वसन्ते मकै लगाउँदा २१ हजार २ सय ५६ मेट्रिक टन उत्पादन भएको थियो ।
