९ महिनामा पौने ४२ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म १० अर्ब ८४ करोड रुपैयाँ मात्रै लगानी भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक

वैशाख ८, २०८३

सीमा तामाङ

Investment commitment of Rs. 42 billion in 9 months

काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ६ सय १५ उद्योगमा ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता (एफडीआई) आएको छ । जब कि गत आर्थिक वर्षको सोही अवधिमा ४७ अर्ब ९७ करोड ६४ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अविधमा एफडीआई १२.८५ प्रतिशतले घटेको हो । 

उद्योग विभागका अनुसार कुल ६ सय १५ उद्योगमा २२ हजार ३ सय १६ जनालाई रोजगारी दिने प्रतिबद्धतासमेत छ । विभागको स्वचालित प्रणालीबाट ४ सय २६ उद्योगमा ४ अर्ब ९ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । अप्रुभल रुटबाट १ सय ८९ उद्योगमा ३७ अर्ब ६९ करोड रुपैयाँ लगानी स्वीकृत भएको विभागको तथ्यांक छ ।

सरकारले ४ फागुनमा राजपत्रमा सूचना प्रकाशन गरी स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत स्वीकृत हुने एफडीआईको सीमा हटाइसकेको छ । यसअघि स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्मको मात्रै एफडीआई स्वीकृत हुने गरेको थियो । तर पनि लगानीकर्ता आकर्षित हुन सकेको देखिँदैन । 

स्वचालित मार्गबाट सूचना तथा प्रविधि क्षेत्रमा बढी लगानी स्वीकृत हुने हुँदा रकम थोरै र उद्योगको संख्या बढी देखिने विभागका सूचना अधिकारी सुरेश दाहालले बताए । ‘साउनदेखि चैतसम्म स्वचालित मार्गबाट ४ सय २६ उद्योगमा ४ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको छ । तर अप्रभुल रुटबाट १ सय ८९ उद्योगमा ३७ अर्ब ६९ करोड रुपैयाँको स्वीकृत भएको देखिन्छ,’ उनले भने, ‘बिस्तारै बढ्दै जान्छ ।’

अप्रभुल रुटबाट सूचना प्रविधिमा २ करोड रुपैयाँभन्दा कम लगानी स्वीकृत हुँदैन । त्यसले गर्दा पनि स्वचालित मार्गबाट सूचना प्रविधि उद्योगसम्बन्धी लगानी धेरै स्वीकृत हुन्छ ।’ विभागका अनुसार साउनदेखि चैतसम्म साना ५ सय ९९, मझौला ८ र ठूला ८ उद्योगमा लगानी प्रतिबद्धता आएको छ । उत्पादनमूलक ३८ उद्योगमा २ अर्ब ५४ करोड, ऊर्जामूलक २ उद्योगमा २३ करोड ४२ लाख, कृषिमूलक १६ उद्योगमा २२ 

अर्ब ८ करोड, पर्यटनमूलक १ सय ६४ उद्योगमा ११ अर्ब ४६ करोड, खनिजमूलक २ उद्योगमा ११ करोड ५० लाख, सेवामूलक ४७ उद्योगमा ३ अर्ब ८९ करोड र सूचना तथा प्रविधिमूलक ३ सय ४६ उद्योगमा १ अर्ब ४५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

चालु आर्थिक वर्षको साउनमा सबैभन्दा बढी २४ अर्ब १० करोड ४९ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । सबैभन्दा कम पुसमा ५९ करोड ९५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । समग्रमा साउनदेखि चैतसम्म ४१ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । तर साउनदेखि फागुनसम्म १० अर्ब ८४ करोड रुपैयाँ मात्रै लगानी भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

विदेशी लगानी प्रतिबद्धता बढे पनि भित्रिने रकम न्यून रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले नै देखाउँछ । प्रतिबद्धता आएको सबै विदेशी लगानी सोही अवधिमा आउँछ वा आउनुपर्छ भन्ने नीतिगत व्यवस्था नरहेको सरोकारवाला बताउँछन् । चालु आर्थिक वर्षको आठ महिनामा १० अर्ब ८४ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (इक्विटी) भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब ४७ करोड रुपैयाँ भित्रिएको बैंकको तथ्यांक छ । 

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म सबैभन्दा बढी मंसिरमा ४ अर्ब ९८ करोड १ लाख रुपैयाँ लगानी भित्रिएको छ । सबैभन्दा कम असोजमा ४६ करोड ७४ लाख रुपैयाँ लगानी भित्रिएको बैंकको तथ्यांक छ । सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा (किस्तामा) लगानी भित्र्याउन अनुमति दिने गरेको समेत सरोकारवालाको भनाइ छ । प्रतिबद्धता तथा स्वीकृत रकम एकैपटक नभित्रिनेसमेत सरकारी अधिकारी नै बताउँछन् ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully