आर्थिक वर्ष २०८२/०८३ को चैत महिनासम्ममा रारामा १३ हजार ६८१ जना आन्तरिक पर्यटक भित्रिएका छन् ।
What you should know
जुम्ला — कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा चालु आर्थिक वर्षको ९ महिनामा १३ हजार ८८३ पर्यटक भित्रिएका छन् । कच्ची सडक र हवाई जहाजको महंगो टिकटका बाबजुद पनि रारा तालले पर्यटकलाई आर्कषण गरेको छ ।
आर्थिक वर्ष २०८२/०८३ को चैत महिनासम्ममा रारामा १३ हजार ६८१ जना आन्तरिक पर्यटक भित्रिएका छन् । सार्क राष्ट्रका पर्यटक ६९ र अन्य देशका पर्यटक १३३ जना रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुले जनाएको छ ।
कार्यालयका अनुसार पछिल्लो समय भने पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव यहाँका पर्यटन क्षेत्रमा समेत देखिन थालेको छ । कार्यालयका अनुसार अहिले हवाइ जहाजमा आउने पर्यटक भने घटिरहेका छन् । गाडीमा समूहमा मिलेर आउने धेरै छन् ।
दैनिक सरदर ३५ जना पर्यटक राराताल घुम्न आइरहेको कार्यालयका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिए । पहिले अधिकांश पर्यटक जहाजमै ताल्चा विमानस्थलमा झरेर राराताल पुग्ने गर्थे । तर, अहिले जहाजको भाडा निकै महंगो भएकाले समूह मिलेर गाडी रिजर्भ गरेर घुम्न आउने गरेका छन् ।
पहिले सुर्खेतदेखि ताल्चासम्म ७ हजार ४ सय रूपैयाँ भाडादर थियो । अहिले ९ हजार ६ सय रूपैयाँ पुगेको छ । श्रेष्ठले भने, ‘पर्यटकहरू महंगीको मारमा छन ।’
राष्ट्रिय निकुञ्ज भएकोले प्रर्याप्त होटल अभावले पर्यटकलाई खाना बस्न समस्या छ । ‘एउटा मात्र होटल छ । होटल बास व्यवस्थित छैन,’ उनले भने, ‘तैपनि राराको सुन्दरतासँग रमाउन पर्यटकहरू जोखिम मोलेर आइरहेका छन् ।’
रारा तालसम्मको पहुच सडक हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने गरेको छ । साँघुरो सडकमा भिरैभिरको यात्रा गर्दा डर लाग्ने गरेको पर्यटकहरू दुखेसो पोख्छन् । 
यहाँसम्म पुग्ने कर्णाली राजमार्ग दुई लेनको पनि छैन । ताल क्षेत्रमा राम्रो खाने बस्ने सुविधा समेत छैन । जुम्ला कनकासुन्दरी गाउँपालिका–५ का दीपेन्द्र उपाध्यायले भने, ‘जबसम्म गास, बास र राम्रो सडकको व्यवस्था हुन सक्दैन् तबसम्म सहजै पर्यटक भित्र्याउन सकिने देखिँदैन ।’
अहिले राराताल जान जुम्लादेखि दुईवटा सडक छन् । गाडीबाट आउनेहरू सिंजा उपत्यका अवलोकन गर्दै रारा ताल पुग्छन् । चौथा, न्याउरीघाट र खाली पाटनहुँदै सदरमुकाम खलंगा झर्ने गर्छन् । खलंगाको चन्दननाथ मन्दिरमा दर्शन गरेर फर्किने गरेका छन् । जहाजबाट जुम्ला विमानस्थलमा ओर्लिएकाहरू खाली, न्याउरीघाट, चौथा हुँदै राराताल पुगेर सिंजा उपत्यका घुमेर फर्किने गरेका छन् ।
